निशा ओलम्पिकमा छनोट

काठमाडौं÷रास– तेक्वान्दो खेलाडी निशा रावल ब्राजिलको रियो दि जेनेरियो सहरमा हुने ३१ औं ग्रीष्मकालीन ओलम्पिकका लागि वाइल्ड कार्डमार्फत छनोट भएकी छिन् । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले मंगलबार सार्वजनिक गरेको नामावलीमा तेक्वान्दोकी निशाले वाइल्ड कार्डमार्फत ओलम्पिकमा स्थान बनाइन् । उनी नेपालबाट रियो ओलम्पिकमा छनोट हुने पहिलो खेलाडी हुन् ।fb0cfac43cc8e30bf5d0906aff1ded17 (1)

तेक्वान्दो खेलका लागि रहेका चारवटा कोटामध्ये एउटा नेपालकी खेलाडीले पाउन सफल भएको नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले जानकारी दिए । ओलम्पिकमा ६७ केजीमाथि तौल समूहमा प्रतिस्पर्धा गर्ने निशा सन् २०१५ जनवरीदेखि आईओसीले प्रदान गर्ने छात्रवृत्ति ओलम्पिक सोलिडारिटी प्रोग्रामअन्तर्गत प्रशिक्षणमा रहँदै आएकी थिइन् ।

२० वर्षीया निशाले यसअघि सन् २०१४ को इन्चोन एसियाडमा सहभागी भएकी थिइन् । त्यस्तै, उनले हङकङ एसियन सिटी गेम र काठमाडौंमै भएको माउन्ट एभरेस्ट अन्तर्राष्ट्रिय तेक्वान्दोमा स्वर्ण जितेकी थिइन् । नेपालले एथ्लेटिक्स र स्विमिङबाहेक ६ वटा खेलमा वाइल्ड कार्डका लागि आवेदन दिएको थियो । जसमा सुटिङ, ब्याटमिन्टन, आर्चरी, जुडो, बक्सिङ, तेक्वान्दोलगायत खेल समावेश रहेका छन् । अन्य खेलबाट पनि छनोट हुने अपेक्षा गरिएको छ ।