राष्ट्रिय नाटक महोत्सवमा ११ नाटक चयन

आगामी २६ जेठदेखि ३० जेठसम्म दोलखाको चरिकोटमा‘राष्ट्रिय नाटक महोत्सव–०७३’ हुने भएको छ । सो महोत्सवको तयारीका लागि ११ ओटा नाटक छानिएको आयोजक संस्था नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले जनाएको छ ।

नाटक महोत्सवका लागि यस पटक राजधानी र मोफसलका गरेर ११ वटा नाटक छनोटमा परेका छन् । ती नाटक विभिन्न प्रकृयाबाट चयन गरिएको प्रतिष्ठानले जनाएको छ । छनोटमा परेका नाटकमा तरंग सांस्कृतिक परिषद् हेटौंडाको ‘केरमेट सपना’ नेपाल संस्कृत विश्वविद्यालय, राष्ट्रिय सांस्कृतिक अध्ययन केन्द्र काठमाडौंको ‘तमषो ज्योतिषि’, सेलो थिएटर काभ्रेको तामाङ भाषाको नाटक पेङ दोर्जे, मिथिला नाट्यकला परिषद् जनकपुरको नाटक ‘उधार जुत्ता’, लोकसञ्चार नाट्य समूह काठमाडौंको नाटक ‘सखी’ रहेका छन् ।29_big

यस्तै, एमआर्ट थिएटर काठमाडौंको ‘आहार्य’, आरोहण गुरुकुल विराटनगरको ‘महादेवको बाजी’, निम्फा दोलखाको ‘बिहेको चटारो’, विराट मैथिल नाट्य समूह विराटनगरको ‘जिउँदो आकाश’, नाटेश्वर कला समूह दोलखाको नाटक ‘आमा र रंग’ र चुलाचुली रंगमञ्च समूह इलामको नाटक ‘देवाङसी राजा’ यो महोत्सवका लागि चयन भएका छन् । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य तथा रंगमञ्च विभाग प्रमुख पुस्करबहादुर गुरुङको संयोजकत्वमा सो महोत्सव हुन लागेको हो । महोत्सवको तयारी तीव्र गतिमा भइरहेको संयोजक गुरुङले बताए । यो महोत्सवका लागि देशभरबाट प्राप्त विभिन्न नाटकबाट यसअघि मञ्चन नभएका नयाँ यी ११ नाटक छानिएको पनि गुरुङले जानकारी गराए ।

महोत्सव आयोजक समितिको सहसंयोजकमा रमेशरन्जन झा रहेका छन् । यस समितिका सदस्यमा प्राज्ञ खेम नेपाली, प्रकाश घिमिरे, आशाकाजी श्रेष्ठ, मदनदाश श्रेष्ठ, रमेश बुढाथोकी, अभिनेता एवं नाट्यकर्मी कृष्ण मल्ल र अभिनेता एवं निर्देशक अनुप बराल रहेको संयोजक गुरुङले जानकारी गराए ।

नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति शम्भुजित बास्कोटाले यसपटक नाटक महोत्सव दोलखामा गर्नुको कारणबारे भने, ‘गत वर्षको विनासकारी भूकम्पका कारण दोलखाले ठूलो क्षति बेहो¥यो । दोलखामा गत वर्ष भूकम्पपीडितलाई सांगीतिक एवं नाट्य थेरापीमार्फत भूकम्पको भय घटाउँदै पुनःस्थापित गर्ने क्रममा त्यहाँ राष्ट्रिय नाटक महोत्सव गर्ने योजना तय भएको थियो ।’ सोही योजनाअनुरूप यसपटक त्यहाँ महोत्सव आयोजना गर्न लागिएको पनि उपकुलपति बासकोटाले प्रस्ट्याए ।

Leave A Reply

Your email address will not be published.