निर्माता संघबाट उपाध्यक्ष सुब्बासहित तीनको राजीनामा

काठमाडौं, १२ जेठ

नेपाली चलचित्र निर्माताको छाता संस्था नेपाल चलचित्र निर्माता संघका वरिष्ठ उपाध्यक्ष उदय सुब्बाले आफ्नो पदबाट बुधबारराजीनामा दिएका छन् । उनीसँगै संघका कार्यसमिति सदस्य डिक खड्का र गोविन्द शाहीले पनि संयुक्त राजीनामा दिएका छन् । सो राजीनामा दिनुको कारणबारे संयुक्त राजीनामा पत्रमा लेखिएको छ, ‘दिन प्रतिदिन निर्माताहरू आफ्नो व्यवसाय डुबेर विचलित हुँदा पनि निर्माता संघ मुकदर्शक भएर बसेको छ । तत्कालीन र दीर्घकालीन सोचका साथ गर्नुपर्ने कार्य गर्न नसक्नु, आर्थिक हिनामिनाको आरोप लाग्नु, असन्तुष्टि निर्माताले संघलाई फुटको संघारमा पुर्याउँदा पनि नेतृत्वकर्ता मौन बसेको, संस्था गत तीन वर्षदेखि नवीकरण नहुनु आदिजस्ता गम्भीर विषयमा निर्माता संघ मुछिँदा पनि निर्माता संघ निरीह बनी हेर्नबाहेक अरू केही गर्न सकेन ।’सोही कारण आफूहरूले राजीनामा दिनु परेको उनीहरूले उल्लेख गरेका छन् ।राजीनामा पत्रमा लेखिएको छ, ‘हामीले मध्यस्थकर्ता भई असन्तुष्ट निर्मातालाई मिलाएर अघि बढौं भन्दा एकलौटी ढंगले नेतृत्व अगाडि बढेकाले र संस्था आफैं गत वैशाखदेखि हालको कार्यसमितिको पनि समयावधि समाप्त भइसकेको

हुनाले अवैधानिक रूपले यो संस्थामा बसिरहनु हाम्रो नैतिकताले नदिएको हुनाले आजैकोमितिबाट लागू हुनेगरी आफ्नो पदबाटराजीनामा दिएका छौं ।’

चलचित्र विकास बोर्डका अध्यक्षसमेत रहेका राजकुमार राई विगत ६ वर्षदेखि नेपाल चलचित्र निर्माता संघका अध्यक्ष रहेका छन् । उनको कार्यसमितिको कार्यकाल गत २१ वैशाखबाट सकिएको हो । आर्थिक हिनामिनाको प्रकरणमा निर्माता संघविरुद्ध गत चैतमा काठमाडौं जिल्ला प्रशासन कार्यालयमा उजुरी परेपछि संघको तीन वर्षदेखि अहिलेसम्मको नवीकरण हुन नसकेको हो ।

संघबाट राजीनामा दिनुको कारणबारे वरिष्ट उपाध्यक्ष उदय सुब्बाले भने, ‘संघको यो तीन वर्षको कार्यकाल अत्यन्त लज्जास्पद र कार्यविहीन रूपमा बितेकोमा म आत्माआलोचना गर्दछु । संघमा लाखौं रुपैयाँ हिनामिना भएको भन्दै अन्य निर्माता साथीले नयाँ संघ खोल्न लागेको अवस्थामा संघभित्र रहेर फुटबाट यसलाई जोगाउँदै अघि बढ्नेबारे अध्यक्षलगायत पदाधिकारीले मेरो कुराको सुनुवाइ नगरेपछि राजीनामा दिएको हुँ ।’

संघविरुद्ध जिल्ला प्रशासन कार्यालय काठमाडौंमा आर्थिक हिनामिनाको उजुरी परेर सो प्रकरण अझै साम्य नभएकोमा आफूलाई दुःख लागेको पनि उनले बताए । संघमा रहेर नेपाली चलचित्र निर्माताको हकहितमा काम गर्न नसक्नु संघको तीन वर्षीय कार्यकाल सकिँदा पनि अध्यक्षलगायत साथीले नयाँ कार्यसमिति चयनको मिति तोक्न नसक्नुजस्ता थुप्रै कारणले गर्दा आफूले राजीनामा दिनुपरेको पनि सुब्बाले प्रस्ट्याए ।

सो राजीनामाबारे नेपाल चलचित्र कलाकार संघका अध्यक्ष राजकुमार राईले राजधानीसँग भने, ‘गत २१ वैशाखमा संघको अहिलेको कार्यसमितिको कार्यकाल सकिएको हो । विभिन्न कारणले संघको नवीकरण अहिले हुन नसकेकाले निर्वाचनको तिथि तोक्न नसकिएको हो,’ उनले अगाडि थपे, ‘हामी चुनाव गर्ने संघारमा रहेको बेला उहाँहरूले राजीनामा दिनु हुँदैनथ्यो ।उहाँहरूलाई भोलि नै भेटेर राजीनामा दिएको बारे बुझी सबैलाई मिलाएर अघि बढाएर चाँडोभन्दा चाँडो संघको नवीकरण गरी म निर्वाचन सम्पन्न गराउनेछु ।’ सो

राजीनामालाई आफूले स्वाभाविक रूपमा लिएको बताउँदै संघका समस्या आसपमा बसेर र वार्ताबाट समाधान गर्दै अघि बढ्ने पनि अध्यक्ष राईले बताए ।

Leave A Reply

Your email address will not be published.