भारतका राष्ट्रपतिको चीन भ्रमण

भारतले चिनियाँ लगानीका लागि उपयुक्त वातावरण बनाउने

एजेन्सी
ग्वाङजाओ, १२ जेठ

चीनको चारदिने भ्रमणमा रहेका भारतीय राष्ट्रपति प्रणव मुखर्जीले चीनलेभारतमा गर्ने लगानीको स्वागत गर्ने भन्दै त्यसका लागि उपयुक्त वातावरण बनाउने प्रतिबद्धता जनाएका छन् । उनले भारत र चीनबीचको द्विपक्षीय व्यापार वृद्धिका लागि चीनका लगानीकर्ताहरूलाई भारत सरकारद्वारा घोषित मेक इन इन्डिया कार्यक्रममा सहभागी हुन पनि आग्रह गरेका छन् ।

Guangzhou : President Pranab Mukherjee is received by   Vice Governor of Guangdong Mr. He Zhongyou as China's Foreign Affairs Vice Minister Liu Zhenmin looks on, upon his arrival at Guangzhou in China on Tuesday. PTI Photo   (PTI5_24_2016_000140B)
चीनको भ्रमणको दोस्रो दिन ग्वाङजाओमा आयोजित भारत चीन व्यापार मञ्चको बैठकलाई सम्बोधन गर्दै राष्ट्रपति मुखर्जीले भारतमा लगानीका लागि सहज अवस्था निर्माण गर्न तयार रहेको भन्दै दुवै देशको आर्थिक वृद्धिबाट द्विपक्षीय लाभका अवसर पनि गुमाउन नहुने बताए । चीनसँगको व्यापार घाटा बेहोरीरहेको भारतका राष्ट्रपति मुखर्जीले दुई देशबीचको व्यापार सन्तुलनका लागि पनि चीनका लागि भारत ठूलो बजार भएजस्तै भारतका लागि पनि चीन ठूलो बजारका रूपमा देख्न चाहेको बताए । बैठकमा दुवै देशका उद्योगी तथा व्यापारीहरूको सहभागिता रहेको छ ।

 

‘दुई देशका सहयोगात्मक क्षेत्रजन्य उद्योगहरू जस्तै, औषधि, सूचना प्रविधि, कृषिजन्य क्षेत्रमा सहयोगका साथ दुवै देशले एकसाथ कार्य गर्नुपर्दछ,’ मुखर्जीले भने । उनले दुवै पक्षको लगानी एकएर्कामा समान रूपले हुने अवस्थाका साथ कार्य गर्न पनि जोड दिए । सन् २००० मा दुई देशबीचको व्यापार करिब ३ अर्ब डलर रहेकोमा गत वर्ष ७१ अर्ब डलर पुगेको थियो । दोस्रो शताब्दीमा चीनको ग्वाङडोङ र भारतको कान्चिपुरमा सिधा जोड्ने सामुन्द्रिक मार्गलाई वर्तमान अवस्थामा पनि सहकार्यका लागि विकास गर्नुपर्नेमा मुखर्जीले जोड दिए । करिब एक दशकपछि भारतले ७.६ प्रतिशतको उच्च आर्थिक वृद्धि हासिल गरेको भन्दै उनले यो केबल अन्य देशहरूसँग सम्भव नहुने बताए ।

चीनको एक मुख्य निर्यात केन्द्रका रूपमा रहेको ग्वाङडोङ प्रान्तले मात्र चीनको अर्थतन्त्रमा करिब १ ट्रिलियन डलर योगदान पु¥याएको थियो । सो प्रान्तको भारतको महाराष्ट्र र गुजरातसँग भगिनी सम्बन्ध रहेको छ ।