सरकार परिवर्तन घातक कोइराला

राजधानी समाचारदाता
भक्तपुर, १२ जेठ

Sujata-Koiralaकांग्रेसकी नेतृ सुजाता कोइरालाले तत्काल सरकार परिवर्तन घातक हुने चेतावनी दिएकी छन् । रफत सञ्चार क्लबले बुधबार आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै नेतृ कोइरालाले केपी ओली नेतृत्वको सरकारले आर्थिक, सामाजिक विकासको योजना नेपाल र नेपालीको हितमा ल्याएकाले सरकार परिवर्तन घातक भएको दाबी गरेकी हुन् ।

सहमतिका लागि कांग्रेसले समेत सहमति जनाउने भन्दै उनले तत्काल सरकार परिवर्तन गरिए विकासका बाटा बन्द हुने उनको भनाइ थियो । कोइरालाले स्थानीय निकायको निर्वाचन गर्ने सरकारले ताकेता गरे पनि केही दलले नचाहेको भन्दै सरकारले चाहेमा स्थानीय निकायको निर्वाचन तोकिएकै समयमा गर्न सकिने जिकिर गरिन् । स्थानीय निकायको निर्वाचन हुन नसक्दा जताततै भ्रष्टाचार मौलाएकाले समेत स्थानीय निकायको निर्वाचन सबैको आवश्यकता रहेकोउनले बताइन् ।

प्राधिकरणको काम सुस्त गतिमा भएको गुनासो गर्दैै बर्खाको समयमा भूकम्पपीडितका लागि केही गर्न नसक्दा त्यसले सबैतर्फ नकारात्मक असर पार्ने भएकाले सरकारले पुनर्निर्माणको कामलाई तीव्रता दिन नेपाली सेनालगायत अन्य युवा दस्तालाई स्वयंसेवकका रूपमा परिचालन गर्न सक्नुपर्नेमा जोड दिइन् । मधेस आन्दोलनका जायज माग सम्बोधन गर्नुपर्ने भन्दै कोइरालाले अबको एजेन्डा भनेको देशको आर्थिक र सामाजिक विकास भएकाले सबै मिलेर विकास निर्माणमा जुट्नुपर्ने उनले बताइन् ।

हिन्दू राज्यका विषयमा नेपाली कांग्रेसभित्र विभिन्न भनाइ बाहिर आए तापनि त्यो गलत भएको भन्दै अब साना विषयलाई संविधानमा समेटेर संशोधन गर्न सकिए पनि मुख्य विषयहरू जो नेपाली जनताले लेखेका छन् ती परिवर्तन नहुनेसमेत कोइरालाले दाबी गरिन् ।

नेपाली कांग्रसेले आफ्ना भातृ संगठनको निर्वाचन गर्न नसकेको तर्फ सबै केन्द्रित भएर लाग्नुपर्ने भन्दै कोइरालाले यदि बेलैमा कांग्रेसले सोचेर निर्वाचनतर्फ अग्रसर नभए त्यसले कार्यकर्तामा निरासा छाउने बताइन् ।