छात्राका लागि ल्याइएका साइकल अलपत्र

सुजितकुमार झा / राजधानी
जनकपुरधाम, १२ जेठ

imagesसामुदायिक विद्यालयका दलित तथा जेहेनदार छात्राका लागि वितरण गर्न ल्याइएको साइकल अलपत्र अवस्थामा रहेको छ । जिल्ला विकास समिति, धनुषाको परिसरमा महिनौंदेखि साइकल त्यत्तिकै थन्किएका छन् ।

‘भारत सरकारको सहयोगमा ५ सय १० वटा साइकल ल्याइएको थियो । भारतीय दूतावासका प्रतिनिधि नआएकाले साइकलहरू वितरण गर्न नसकिएको हो,’ जिल्ला विकास समिति, धनुषाका निमित्त स्थानीय विकास अधिकारी राजकिशोर साहले बताए । अधिकारी शाहका अनुसार रामनवमीको अवसरमा भारतीय राजदूत जनकपुर आउँदा साइकल वितरण गर्ने कार्यक्रम रहे पनि अन्तिम समयमा सो कार्यक्रम रोकिएको थियो ।

साइकल वितरण कार्य रोक्नुको कारण भारतीय दूतावासले नबताए पनि स्रोतले स्थानीय प्रशासनिक निकायले राजदूतको भ्रमणमा चासो नदिएपछि उनी औपचारिक कार्यक्रममा सहभागी हुन चाहेनन् । ‘तर, साइकल वितरण कार्यक्रम आयोजना गर्न प्रयास गरेको भए पनि दूतावासका अधिकारीले पछि गर्ने भनेकाले रोकिएको हो,’ शाहले भने । यहाँ राखिएका साइकल धनुषा र सर्लाहीका छात्रालाई वितरण गर्ने कार्यक्रम रहेको छ । साइकल पाउने छात्राको नामावली

जिल्ला शिक्षा कार्यालय धनुषाले भारतीय दूतावासलाई पठाइसकेको छ । खुला आकाशमुनि त्यत्तिकै राख्दा साइकलमा खिया लाग्न थालेको छ ।