मिलेरै विपक्षीको सामना गर्ने सहमति

581208bacd21a80efa48741d4d3e38d6काठमाडौं÷रास– सत्तारूढ प्रमुख दुई दल एमाले र नेकपा माओवादी केन्द्रले बजेटको विषयमा विपक्षीले गरेको अवरोधलाई एकताबद्ध भई सामना गर्ने सहमति गरेका छन् । बजेट प्रस्तुत भएलगत्तै प्रमुख प्रतिपक्षी कांग्रेस संसद् अवरोधमा उत्रिएपछि दुवै एकताबद्ध भई सामना गर्ने निर्णयमा पुगेका हुन् ।

एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली र केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको वार्तामा सो निर्णय भएको हो । दुवै नेताले नयाँ बजेटले जनतामा नयाँ उत्साह ल्याएको हुँदा बजेटको कार्यान्वयनमा एकताबद्ध लाग्ने सहमति भएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालका अनुसार शीर्ष नेताबीच मुलुकको पछिल्लो राजनीतिक अवस्थाबारे सघन रूपमा छलफलसमेत भएको छ ।

सरकारले १५ जेठमा सार्वजनिक गरेको बजेट हावादारीमा आएको भन्दै प्रमुख प्रतिपक्षी कांग्रेसले व्यवस्थापिका–संसद्मा कडा रूपमा विरोध गर्ने जनाएको छ । सदनमा बजेटमाथिको छलफल सोमबारबाटै सुरु भए पनि कांग्रेसले संसद् अवरुद्ध गरेको छ । ‘प्रतिपक्षीले सदनमा बजेटका विषयमा राख्ने विरोधलाई सत्ता साझेदार दुई दल मिलेर संयुक्त रूपमा सामना गर्ने विषयमा उहाँहरूबीच कुराकानी भयो,’ दाहालले भने । दुवै दलले बजेटमा समावेश विषय समग्रमा राम्रो भएको निष्कर्ष निकालिसकेका छन् ।