सडक बनाउन दुई दशकदेखि श्रमदान

सरिता दाहाल/राजधानी
चुरे (मकवानपुर), १४ असार

आफ्नो घर छेवैबाट गाडी सरर गुडोस् भन्ने रहर कसलाई चाहिँ हुँदैन र ? घरनजिकैबाट गाडी चढ्न पाइने र उत्पादन भएका खाद्यान्नहरू पनि सजिलै गाडीमा लोड गर्ने रहर नबोक्ने कोचाहिँ हुँदैन र ?

यस्तै रहर बोकेका भैंसे गाविसका स्थानीयले सडक खन्दाखन्दै झन्डै दुई दशक बिताएका छन् । गाउँको नजिकै रहेको पहरोले गाउँलेलाई बर्सेनि दुःख दिइरहेको छ । पत्रै पत्रको चट्टानको सो पहरोले सालिन्दा दुःख दिइरहन्छ । स्थानीय भाषामा सिंहराम गोङ्वा अर्थात् देवी डाँडाले राक्षसी रूप देखाउँछ र स्थानीयलाई त्रास बनाइराख्छ ।

स्थानीयले सो पहरोलाई देवीडाँडा भीर भने पनि २०५४ सालदेखि त्यसले राक्षसको रूप लिइरहेको छ । १९ वर्षअघिबाट स्थानीय निकायसँग हारगुहार गर्दै गाउँसम्म सडक पु¥याउन लागिपरेका भैंसे–५ पोखरीका स्थानीयलाई त्यही देवीडाँडाले अहिलेसम्म रोकिरहेको छ । सो पहरो फोड्न अहिले गाउँलेहरू आफैं दिनरात खटिरहेका छन् । गुम्बाडाँडा–पोखरी कृषि सडकमा पर्ने पहरोमा सवारी गुड्न सक्ने बनाउन पहरो फोड्न व्यस्त रामबहादुर स्याङ्तानले भने, ‘गाउँसम्म सवारी पु¥याउने भनेको लामो समय भयो, सकिएको छैन, गुम्बादेखि पहाडको फेदीसम्म सडक निर्माण भएको भए पनि पहाडबाट गाउँसम्मको करिब एक किलोमिटर सडक बनाउन पहरोको १ सय ५० मिटर क्षेत्र फोड्नुपर्छ ।’

वर्षाको समयमा पनि सवारी गुड्ने गरी करिब चार किलोमिटर सडक निर्माण गरिएको छ । गाउँका आठजना मिलेर चार किलोमिटर क्षेत्रको सडक क्षेत्रमा वर्षाको समयमा पानी कट्ने ड्रन बनाएसँगै उनीहरू लगातार पहाड फोड्ने काममा सक्रिय छन् । ‘गत वर्ष बनाएको सडक अहिलेको वर्षाले आएको पहिरोले फेरि पु¥यो,’ शेरबहादुर थोकरले भने । पहरो फोड्न लामो गलको प्रयोग गरिएको छ भने फोड्ने क्रममा झरेका ढुंगा फाल्न साबेलसहितका उपकरणको प्रयोग गरिरहेका छन् उनीहरू ।

‘गाउँमा कोही अकस्मात् बिरामी प¥यो भने पनि सवारी लैजान नसक्ने अवस्था छ,’ थोकरले भने, ‘हामीलाई यो बाटो बनाउन पाए धेरै सुबिस्ता हुन्थ्यो ।’तामाङ समुदायको मात्र बसोबास रहेको भैंसै–५ पोखरी टोलमा सडक पु¥याउनकै लागि उनीहरूले २०५४ सालबाट दसैं पनि मान्न छोडेका छन् । ‘दसैं नमानौं, बरु बाटो गाउँसम्म सडक ल्याऔं’ भनेर हामी लागिपरेपछि गाउँ नजिकैसम्म बाटो त आयो, तर अहिलेसम्म पूरा नभएको स्थानीय रामबहादुर मोक्तानले बताए । दसैं र तिहारलाई बिर्संदै गाउँसम्म आउने सडकको निर्माणमा गाउँमा भएको २५ घरधुरीका २५ जना नै लागिपरेको उनले बताए । सडक गाउँसम्म ल्याउन पहिला नै प्रतिघर ५÷५ हजार रुपैयाँ लगानी गरेको बताउँदै मोक्तानले भने, ‘तर, अहिलेसम्म सफल नहुँदा ठूलो पीडा हुन्छ ।’

सडक गाउँसम्म गएमा गाउँको उत्पादन सहज ढंगबाट बजारसम्म जानेसँगै आपत्कालीन अवस्थामा सहज यातायातको सेवा पाउन सकिने आशामा मात्रै उनीहरू रातदिन खटिरहेका छन् । सडक गाउँसम्म लैजान गाउँका सिंहराम, रामबहादुर, केशव लुङ्वा, शेरबहादुर थोकर, खेमराज घिसिङ, हीरामान पाख्रिन, मोतीराम मोक्तान र गणेश घिसिङलाई पहाड छिचोल्ने भाग परेको छ । यस वर्ष जिल्ला विकास समिति मकवानपुरले सो सडक बनाउन स्थानीयलाई राहतस्वरूप ५ लाख रुपैयाँ बजेट दिएको छ ।

प्रकाशित मिति: २०१६-०६-२९ ०७:४४ | ४१ पटक हेरिएको

Leave A Reply

Your email address will not be published.