एनसेलको सहयोगमा डायलोसिस सेन्टरको निर्माण

काठमाडौं-रास

एनसेलको सहयोगमा त्रिभुवन विश्वविद्यालय टिचिङ हस्पिटलमा डे–केयर डायलोसिस सेन्टरको निर्माण सम्पन्न भएको छ । यसले टिचिङ हस्पिटललाई मिर्गाैलासम्बन्धी रोगको उपचारका लागि  क्षमता अभिवृद्धिमा सहयोग पुर्याउनेछ ।

मिर्गौलासम्बन्धी स्वास्थ्य समस्या दिनानुदिन बढिरहेको अवस्थामा सर्वसाधारणलाई मिर्गौलासम्बन्धी रोगको उपचार देशभित्रै सहज बनाउन योगदान पुर्याउने उद्देश्य लिई एनसेलले सन् २०१४ मा देशको अग्रणी स्वास्थ्य संस्था त्रिभुवन विश्वविद्यालय टिचिङ हस्पिटललाई डे–केयर डायलोसिस सेन्टरको निर्माणका लागि आर्थिक सहयोग प्रदान गरेको थियो ।

नवनिर्मित डायलोसिस सेन्टरमा १६ वटा डायलोसिस मेसिन राख्न सकिने क्षमता छ र सेन्टर सञ्चालनका लागि आवश्यक पर्ने आरओ वाटर ट्रिटमेन्ट प्रणाली पनि जडान गरिएको छ ।

‘यो सेन्टरको सञ्चालनले मिर्गौलासम्बन्धी स्वास्थ्य सेवामा मानिसको पहुँच वृद्धि गर्नमा योगदान गर्नेछ । मिर्गौलाको उपचार सहज बनाउने राष्ट्रिय नीतिअनुरूप यस सेन्टरले हस्पिटलको सेवा प्रदान गर्ने क्षमता बढाउनेछ,’ त्रिभुवन विश्वविद्यालय टिचिङ हस्पिटलका उपनिर्देशक प्राडा प्रेमकृष्ण खड्गले बताए । ‘यसकोे सञ्चालनबाट थप बिरामीलाई उपचार प्रदान गर्दै लाभ प्रदान गर्नका लागि हामीले नयाँ डायलोसिस मेसिनहरू जडान गर्नुपर्नेछ ।’

हाल टिचिङ हस्पिटलले आफ्नो डे–केयर डायलोसिस युनिटमा सञ्चालनमा रहेको तीनवटा डायलोसिस मेसिनबाट दैनिक २५ देखि ३० जनालाई डायलोसिस सेवा प्रदान गर्दै आएको छ । डा. खड्गका अनुसार सेवाको क्षमता अभिवृद्धि गर्ने योजनाअन्तर्गत हस्पिटलले चाँडै नै थप चारवटा डायलोसिस मेसिन जडान गर्ने क्रममा रहेको छ ।

एनसेलले आफ्नो व्यावसायिक सामाजिक उत्तरदायित्वअन्तर्गत सर्जिकल ओपीडी भवनको तेस्रो तलामा यो सेन्टर निर्माणका लागि सहयोग प्रदान गरेको हो । यसका लागि १ करोड ५० लाखको आर्थिक सहयोग प्रदान गरिएको थियो । १६ वटा डायलोसिस मेसिन जडान गर्न सकिने पूर्वाधार र  डायलोसिस मेसिन सञ्चालानार्थ अतिआवश्यक आरओ वाटर ट्रिटमेन्ट सिस्टमबाहेक सेन्टरमा २० जनाको क्षमता भएको बिरामीमैत्री लिफ्ट पनि जडान गरिएको छ ।

मिर्गौलासम्बन्धी रोग एक प्रमुख समस्याका रूपमा देखापरेको छ । आंकडाअनुसार देशको कुल जनसंख्याको झन्डै ९ देखि १० प्रतिशत मानिस मिर्गौलासम्बन्धी रोगबाट ग्रसित छन् र तीमध्ये ९० प्रतिशतको दुवै मिर्गौलाले काम नगर्ने रोगबाट पीडित छन् । परिणामस्वरूप मिर्गौला डायलोसिस सेवाको माग एकदमै बढिरहेको छ । सरकारले पनि बिरामीलाई डायलोसिस सेवा निःशुल्क उपलब्ध गराउने नीति अवलम्बन गर्दै आएको छ ।

‘मिर्गौलासम्बन्धी स्वास्थ्य उपचार प्रदान गर्नका निमित्त आवश्यक आधारभूत भौतिक पूर्वाधार निर्माणमा सहयोग गर्न पाउँदा हामी एकदमै हर्षित छौं,’ एनसेलका प्रबन्ध निर्देशक साइमन पर्किन्सले भने । एनसेलले आफ्नो व्यायसायिक सामाजिक उत्तरदायित्व  कार्यक्रम ‘वी केयर’अन्तर्गत टिचिङ हस्पिटललाई यो सहयोग प्रदान गरेको थियो । सो कार्यक्रमअन्र्तगत, कम्पनीले मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरलाई पनि विश्वस्तरीय कार्डियोथोरासिक इन्टेन्सिभ केयर युनिट (आईसीयू) स्थापना गर्न सहयोग गरेको छ ।

 

Leave A Reply

Your email address will not be published.