मौसमजन्य विपद्बारे नेपाल टेलिकमले जानकारी दिने

काठमाडौं-रास

नेपाल टेलिकम र जल तथा मौसम विज्ञान विभागबीच जल एवं मौसमजन्य विपद्सम्बन्धी पूर्वसूचना मोबाइलमार्फत एसएमएस प्रवाह गर्ने सम्झौता भएको छ । सम्झौतापत्रमा नेपाल टेलिकमको तर्फबाट प्रबन्ध निर्देशक बुद्धिप्रसाद आचार्य र जल तथा मौसम विज्ञान विभागको तर्फबाट महानिर्देशक डा. ऋषिराम शर्माले हस्ताक्षर गरे ।

Telecomसम्झौताअनुसार महाकाली, पश्चिम राप्ती, कन्काई, बबई, कर्णाली, नारायणी, बागमती, कोसी नदी क्षेत्र र हिमाली क्षेत्रका ग्राहकको मोबाइलमा विपद्सम्बन्धी पूर्वसूचना सम्प्रेषणको व्यवस्था मिलाइनेछ ।

यसका लागि नेपाल टेलिकमले सो क्षेत्रका मोबाइल सेवाका ग्राहकको डाटा मौसम विज्ञान विभागलाई उपलब्ध गराउनेछ । विभागले ११५५ कोडको प्रयोग गरी विपद् आउनुपूर्व प्रभावित क्षेत्रका बासिन्दाले प्राप्त गर्न सक्ने गरी समूहगत रूपमा एसएमएसमार्फत आवश्यक जानकारी पठाउनेछ । यससम्बन्धी सबै सेवा नेपाल टेलिकमले निःशुल्क रूपमा उपलब्ध गराउनेछ ।

सोसम्बन्धी सम्झौता गर्न आयोजित कार्यक्रममा नेपाल टेलिकमका प्रबन्ध निर्देशक बुद्धिप्रसाद आचार्यले विपद्को पूर्वजानकारी सम्प्रेषण गरी क्षति न्यूनीकरण गर्ने कार्यका लागि विगतमा पनि अन्य संस्थासँग सहकार्य गरेको जानकारी गराउँदै विपद्को पूर्वजानकारीले क्षति न्यूनीकरण गर्न सकिने तथा मानिसको जीवन जोगाउन सकिने भएकाले कम्पनीले मौसम विज्ञान विभागसँग पनि सहकार्य गरेको बताए । मुलुकभर कम्पनीका ग्राहक छरिएर रहेकाले भविष्यमा अन्य क्षेत्रमा समेत सहकार्य गर्न सकिने उनले बताए ।

मौसम विज्ञान विभागका महानिर्देशक डा. ऋषिराम शर्माले कम्पनीसँग भएको सम्झौतालाई विभागले दक्षतापूर्वक कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरे । प्राकृतिक विपद्को न्यूनीकरण गर्नु दुवै संस्थाको संयुक्त दायित्व भएकाले पनि भविष्यमा अन्य क्षेत्रमा समेत सहकार्य गर्न सकिने उनले बताए । वर्तमान बर्खाको मौसममा खासगरी बाढीपहिरोका कारण धेरै नेपाली प्रभावित भइरहेको समयमा कम्पनी र विभागबीचको यो सहकार्यले जनधनको क्षति न्यूनीकरण गर्न प्रभावकारी भूमिका खेल्ने अपेक्षा गरिएको छ । स्मरणीय छ, नेपाल टेलिकमले गत वर्षको विनाशकारी भूकम्पपश्चात पनि नेपाल रेडक्रस सोसाइटीसँग सहकार्य गरी प्राकृतिक विपद्सम्बन्धी पूर्वसूचना सम्प्रेषण गर्ने व्यवस्था मिलाएको थियो ।