डीएफआईडीद्वारा साढे चार अर्ब अनुदान सहयोग

काठमाडौं-रास

संयुक्त अधिराज्य बेलायतको अन्तर्राष्ट्रिय विकास विभाग (डीएफआईडी)ले रोजगारीका लागि सीप विकास कार्यक्रम कार्यान्वयन गर्न ४ अर्ब ४८ करोड अनुदान सहायता उपलब्ध गराउने भएको छ ।

downloadअनुदान सहायतासम्बन्धी सम्झौतापत्रमा बिहीबार अर्थमन्त्रालयमा आयोजित एक कार्यक्रममा उक्त मन्त्रालयका सहसचिव वैकुण्ठ अर्याल र यहाँस्थित डीएफआईडीका प्रमुख गेल मार्जेटीले हस्ताक्षर गरे । कार्यक्रमअन्तर्गत प्राविधिक एवं प्रत्यक्ष वित्तीय सहायता उपलब्ध गराई सीप विकासमा खर्च गरिने बताइएको छ ।

सो रकम विशेष गरी महिला तथा पीडित वर्गको सीप विकासमा खर्च गरिने कार्यक्रम प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)ले कार्यान्वयन गर्नेछ ।

सरकारले लागू गरेको वैदेशिक सहायता नीतिअनुरूप प्राप्त हुने उक्त अनुदान खासगरी भूकम्पपछिको पुनर्निर्माण एवं उत्कृष्ट निर्माणमा केन्द्रित रहनेछ । उक्त कार्यक्रमका निम्ति ७ हजारभन्दा बढी डकर्मीलाई तालिम दिइनेछ ।

कार्यक्रममा सहसचिव अर्यालले २ सय वर्षदेखिको नेपाल–संयुक्त अधिराज्य सम्बन्ध पारस्परिक विकासमा सहयोगी रहेको चर्चा गर्दै भविष्यमा पनि नेपालको सामाजिक आर्थिक विकासमा निरन्तर सहायता प्राप्त हुने विश्वास व्यक्त गरे ।

डीएफआईडीका प्रमुख गेलले बर्सेनि ४ लाख श्रमिक श्रमबजारमा आउने गरेका तथ्यांक प्रस्तुत गर्दै उनीहरूलाई स्वदेशमै सीप सिकाउने कार्यक्रमको लक्ष्य रहेको बताए । विदेश जान चाहने कामदारका लागि पनि सीप विकास कार्यक्रम फलदायी हुने विश्वास उनले व्यक्त गरे ।