नेताका लकर कडा निगरानीमा

 

बैंक सञ्चालक सहकारीको सल्लाहकार पनि बस्न नपाउने

शिव सत्याल-राजधानी

काठमाडौं, १७ साउन

बैंक तथा वित्तीय संस्थाले राजनीतिक रूपमा प्रभावशाली व्यक्तिलाई लकर सुविधा प्रयोग गर्न दिँदा विशेष सावधानी अपनाउनुपर्ने भएको छ । केही महिनाअघि मात्रै पूर्वराज्यमन्त्रीसमेत रहेका तत्कालीन एकीकृत नेकपा माओवादीका नेता ल्हारक्याल लामाको बैंक लकरमा पेस्तोलको गोली भेटिएपछि राजनीतिकर्मीले प्रयोग गर्ने लकरको विशेष अनुगमनको व्यवस्था गर्न लागिएको हो ।

Nepal-Rastra-Bankनेपाल राष्ट्र बैंकले सबै बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिँदै यस्तो व्यवस्था अनिवार्य गर्न भनेको हो । सोमबार जारी गरिएको निर्देशनमा सबै बैंक तथा वित्तीय संस्थाले आफ्नो लकर सेवा प्रयोगकर्तालाई चार वर्गमा विभाजन गरी सोहीबमोजिम अनुगमनको व्यवस्था गर्न भनिएको छ । चार वर्गमध्येको एक वर्र्गमा पोलिटिकल्ली एक्सपोज्ड पर्सन (राजनीतिक रूपमा प्रभावशाली व्यक्ति) लाई राखिएको छ । ‘लकर प्रयोगकर्तालाई उच्च जोखिम, मध्यम जोखिम, न्यून जोखिम, राजनीतिक रूपमा प्रभावशाली व्यक्तिमा वर्गीकरण गरी सोहीबमोजिम अनुगमनको व्यवस्था गर्नुपर्ने,’ सेफ डिपोजिट भल्ट तथा लकर सेवा सञ्चालन सम्बन्धमा राष्ट्र बैंकले दिएको निर्देशनमा भनिएको छ । यसअघि यस्तो व्यवस्था थिएन ।

निर्देशनअनुसार अब बैंक लकरमा राखिने वस्तुबारे पनि सम्बन्धित बैंकले नै विशेष निगरानी गर्नुपर्ने भएको छ । पूर्वअर्थराज्यमन्त्री ल्हारक्यालले अकूत सम्पत्ति आर्जन गरेको आशंकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले लामाले प्रयोग गरेको नेपाल इन्भेस्टमेन्ट बैंकको लकर खोलेर हेर्दा पेस्तोलको गोली भेटिएको थियो । सो समयमा ग्राहकले आफ्नो लकरमा के राख्यो भन्ने कुरा ग्राहककै जिम्मेवारी हुने भन्ने तर्क बैंक तथा वित्तीय संस्थाका अधिकारीबाट आएको थियो । सरकारी अधिकारीहरूले भने कानुनले बर्जित गरेका वस्तुहरू लकरमा राख्न नदिनु सम्बन्धित बैंककै जिम्मेवारी भएको तर्क गरेका थिए ।

कानुनले बर्जित गरेका वस्तुहरू लकरमा राख्न नदिनु सम्बन्धित बैंक तथा वित्तीय संस्थाकै जिम्मेवारी भएको राष्ट्र बैंकले प्रस्ट पारेको छ । ‘लकरमा कानुनले निषेध गरेका वस्तुहरू जस्तै विस्फोटक पदार्थ, हातहतियार, आतंकवादी क्रियाकलापमा प्रयोग हुने सामग्रीहरू, लागू पदार्थलगायतका वस्तुहरू राख्न नदिन पर्याप्त व्यवस्था गर्नुपर्ने,’ राष्ट्र बैंकको निर्देशनमा भनिएको छ । यसअघि यस्तो व्यवस्था थिएन । त्यस्तै, लकर प्रयोगकर्ताको मृत्यु भएको अवस्थामा ग्राहकले इच्छाएको व्यक्तिलाई उक्त लकरको सम्पत्ति हस्तान्तरणको व्यवस्था मिलाउन पनि निर्देशन दिइएको छ । यसअघि त्यस्तो लकरको सम्पत्ति के गर्ने भन्ने प्रस्ट व्यवस्था थिएन ।

यस्तै, बैंक तथा वित्तीय संस्थाका सञ्चालकहरूमाथि राष्ट्र बैंकले थप कडाइ गरेको छ ।

सोमबार जारी गरिएको निर्देशनमा बैंक तथा वित्तीय संस्थाका सञ्चालकले सहकारी संस्थाको सल्लाहकार वा अन्य कुनै पनि पदमा रहन नपाइने व्यवस्था गरिएको हो । यसअघि एउटा संस्थामा सञ्चालक रहेको व्यक्ति एकैपटक अर्काे बैंक तथा वित्तीय संस्था तथा बचत तथा ऋण सहकारी संस्थाको सञ्चालक बस्न नपाइने मात्रै व्यवस्था थियो । बैंक तथा वित्तीय संस्थाको सञ्चालकले बचत तथा ऋण सहकारी संस्थाको सल्लाहकार वा अन्य कुनै पदमा रहेर सहकारी सञ्चालन गर्ने गरेको भेटिएपछि यस्तो व्यवस्था गरिएको राष्ट्र बैंकको भनाइ छ ।