महिलाले मात्रै धानेको एउटा इजलास

डिल्ली आचार्य-राजधानी

काठमाडौं, १७ साउन

मध्याह्न सर्वोच्च अदालतको १० नम्बर इजलास । कानुन व्यवसायी र मुद्दाका पक्ष-विपक्ष कौतूहलका साथ न्यायाधीशको प्रतीक्षामा । सधैं देखिनेभन्दा पृथक् र नितान्त नौलो दृश्य । सोमबार इतिहासमा यसअघि कहिल्यै नजुरेको संयोगको प्रतीक्षा हुँदै थियो ।

satyanनवनियुक्त न्यायाधीश मीरा खड्का र सपना प्रधान मल्ल जव एकसाथ बेन्च (इजलासमा न्यायाधीश बस्ने ठाउँ) मा आए, उपस्थित सबैले उठेर अभिवादन गरे । त्यो क्षण सर्वोच्च अदालतको इतिहासमै दुई महिला न्यायाधीश एउटै बेन्चमा मुद्दा सुन्न तयार थिए । सोमबार नै राष्ट्रपति विद्यादेवी भण्डारीबाट नियुक्ति लिएर उनकै उपस्थितिमा प्रथम महिला प्रधानन्यायाधीश सुशीला कार्कीबाट शपथग्रहण गरेपछि उनीहरूसहित ११ नवनियुक्त न्यायाधीशले सर्वोच्च पुगेर इजलास सम्हालेका हुन् । सोमबार न्यायाधीश थपिएसँगै १० वर्षपछि सर्वोच्च अदालतमा एकसाथ १० वटा इजलासमार्फत सुनुवाइ मात्र भएका छैनन्, दुई महिनाका बीचमा महिलाका नाममा तीन इतिहास पनि कायम भएका छन् ।

गत २७ असारमा सुशीला कार्कीले प्रधानन्यायाधीशका रूपमा पदभार ग्रहण गरिन् भने इतिहासमै पहिलोपटक सर्वोच्च अदालतमा महिला न्यायाधीश मात्रै संलग्न संयुक्त इजलासमा मुद्दाको सुनुवाइ भयो । सोमबारको नियुक्तिसँगै सर्वोच्च अदालतमा पहिलोपटक तीन महिला न्यायाधीशले एकसाथ काम गर्ने अवसरसमेत पाए । न्यायाधीशद्वय खड्का र मल्ललाई प्रधानन्यायाधीशले सर्वोच्चको १० नम्बर इजलासमा आठवटा मुद्दा सुनुवाइको सूची दिएकी थिइन् । तर, उनीहरूले दुई मुद्दामा मात्र आदेश (निस्सा दिने) जारी गर्न भ्याए । शपथग्रहणका कारण ढिलो गरी (१ बजे) मात्र सर्वोच्चको इजलासमा सुनुवाइ सुरु भएका कारण थप मुद्दा भने हेर्न नभ्याइने सूचीमा परेको सर्वोच्च अदालतका प्रवक्ता नहकुल सुवेदीले बताए । सर्वोच्च अदालत नौजना न्यायाधीशमा सीमित भएपछि पाँचभन्दा बढी इजलास सञ्चालन हुन नसकेको अदालतमा ११ न्यायाधीश थपिएकै दिन १० वटा इजलास सञ्चालन भएका छन् । १२ वैशाख २०७२ को विनाशकारी भूकम्पका कारण अदालतको भवनमा क्षति पुगेपछि इजलास अपुग भएका कारण पनि सर्वोच्चले थप इजलास सञ्चालन गर्न सकेको थिएन । तर, न्यायाधीश थपिने भएपछि रोट्रोफिटिङ विधिबाट बलियो बन्दै गरेको पुरानो भवनमा सोमबारबाटै पाँचवटा इजलास स्थापना गरिएका छन् ।

नयाँ र पुरानो भवनमा बाँडेर इजलास संख्या पु¥याइए पनि न्यायाधीश बस्ने ठाउँ (च्याम्बर) को भने चरम अभाव देखिएको छ । कोठा अभावमा इजलास बाहेकको समयमा पाँच जनासम्म न्यायाधीशलाई एउटै कोठामा राखिएको छ । भूकम्पका कारण पर्याप्त भौतिक पूर्वाधार नहँुदा न्यायाधीश बस्ने कार्यालय कोठाको भने अभाव देखिएको सहायक प्रवक्ता विश्वराज पौडेलले बताए । प्रधानन्यायाधीशले शपथग्रहण गरेकै दिन ११ जना नै न्यायाधीशलाई मुद्दा तोकेकी छन् । सर्वोच्च अदालतमा नियुक्त भएकै दिन पुराना न्यायाधीशसमेत संलग्न इजलासमा गरी नयाँ न्यायाधीशहरूले २ सय ४२ वटा मुद्दाको सुनुवाइ गरेका छन् ।

कतिपय नयाँ न्यायाधीशले पुरानासँग तोकिएको संयुक्त इजलासमा बसेर मुद्दा फैसलासमेत गर्न भ्याएका छन् । नवनियुक्त न्यायाधीशहरूलाई मात्र राखेर तीनवटा इजलास गठन भएका थिए । ती इजलासामार्फत उनीहरूले थुप्रै मुद्दामा आदेश जारी गरेका छन् । सर्वोच्च अदालतका अनुसार आठ नम्बर इजलासमा केदारप्रसाद चालिसे र शारदाप्रसाद घिमिरेका दुईवटा बेग्लाबेग्लै संयुक्त इजलास तोकिएका थिए भने १० नम्बर इजलासमा मीरा खड्का र सपना प्रधान मल्लको इजलास तोकिएको थियो । यी तीनवटै इजलास नयाँ न्यायाधीशले मात्र धाने । चार इजलासमा नवनियुक्त न्यायाधीश मात्रै छन् ।

सर्वोच्च अदालतमा न्यायाधीशको संख्या बढेसँगै मुद्दा सुनुवाइ सूचीमा चढ्ने क्रम पनि बढेको छ । न्यायाधीश थपिएकै दिन २ सय ८० मुद्दा सुनुवाइ सूचीमा परे भने २९ वटा मुद्दाको फैसला र ५० वटा मुद्दामा न्यायाधीशले विभिन्न आदेश गरे । सुनुवाइ सूचीमा परेकामध्ये १ सय २८ मुद्दा भने समय अभावका कारण न्यायाधीशले हेर्न भ्याएनन् । त्यसैगरी, ३७ वटा मुद्दा स्थगित भए भने २२ वटा न्यायाधीशहरूले हेर्न नमिल्ने तथा तीनवटा मुद्दा निरन्तर सुनुवाइ (हेर्दाहेर्दै) मा परेका छन् ।

सर्वोच्चमा सोमबार

११ नयाँ न्यायाधीशको पदभार ग्रहण

१ बजेपछि मुद्दा सुनुवाइ

एकै दिन १० इजलास

नयाँ न्यायाधीशलाई २ सय ४२ मुद्दा

नयाँ न्यायाधीशले मात्र धाने ३ इजलास

२ सय ८० मुद्दामा २९ फैसला, ५० आदेश

१ सय २८ मुद्दालाई समय पुगेन

३७ स्थगित, २२ हेर्न नमिल्ने, ३ निरन्तर सुनुवाइमा