दाहाल प्रधानमन्त्री निश्चित

एक्ला उम्मेदवार, देउवा प्रस्तावक, समर्थकमा मधेसी मोर्चासहित १६ दल

ईश्वरी सुवेदी-राजधानी

काठमाडौं, १८ साउन

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेपालको ३९औं प्रधानमन्त्री बन्ने निश्चित भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीको सरकार ढाल्न निर्माण भएको कांग्रेस–माओवादी गठबन्धनको पक्षमा स्पष्ट बहुमत देखिएपछि दाहाल प्रधानमन्त्री बन्ने हुने निश्चित भएको हो ।

cd7a9f6dc4574fbbbd7d1e5a7ae22791प्रधानमन्त्री चयनका लागि आज (बुधबार) व्यवस्थापिका–संसद्मा मतदान हुँदै छ । दाहालले उम्मेदवारी दर्ता गर्दा नै बहुमत सदस्यको समर्थन जुटाएका छन् । प्रधानमन्त्री निर्वाचनमा दाहाल एक्लो उम्मेदवार बनेका हुन् । अहिलेसम्म सरकारको नेतृत्व गरिरहेको एमालेले उम्मेदवारी नदिने निर्णय गरेपछि दाहाल प्रधानमन्त्री निर्वाचनका एक्लो उम्मेदवार बनेका हुन् । बुधबार व्यवस्थापिका–संसद्मा हुने मतदानमा कुनै ऐतिहासिक परिवर्तन नभए दाहालको पक्षमा स्पष्ट बहुमत पुग्नेछ । बहुमत सदस्यको समर्थन दाहालतिरै देखिएपछि मंगलबार बसेको एमाले स्थायी कमिटी बैठकले प्रधानमन्त्रीमा उम्मेदवारी नै नदिने निर्णय गरेको थियो ।

नेपालको संविधानको धारा २ सय ९८ को उपधारा २ बमोजिम राष्ट्रपतिले सहमतीय सरकार गठन गर्न दिएको सातदिने समयावधिमा सहमति हुन नसकेपछि र धारा २ सय ९८ को उपधारा ३ बमोजिम बहुमतीय प्रक्रियाबाट प्रधानमन्त्री चयन गर्न लागिएको हो । उमेदवारीका लागि मंगलबार बिहान ११ बजेदेखि ४ बजेसम्मको समय निर्धारण गरिएको थियो । सो समयभित्र एकजनाको मात्रै उम्मेदवारी परेपछि त्यसैका आधारमा साढे ४ बजे अन्तिम नामावली प्रकाशन गरिएको हो । दाहाल दिउँसो १ बजे नै नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मलेन केन्द्रको ल्होत्से हलमा पुगी उमेदवारी दर्ता गराएका थिए । उनको प्रस्तावकमा कांग्रेस सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवा छन् । समर्थकमा भने संघीय गठबन्धनसहितका साना दलहरू रहेका थिए । प्रस्ताव र समर्थकका आधारमा दाहाललाई ३ सय ६० मत पुग्ने अनुमान गरिएको छ । राप्रपा नेपालले सहयोग गरे भने उनले झन्डै दुई तिहाइको हाराहारीमा मत पाउनेछन् । संसद्मा कांग्रेस २ सय ७, माओवादी केन्द्र ८०, संघीय गठबन्धन ४२, फोरम लोकतान्त्रिक १४, राष्ट्रिय प्रजातन्त्र पार्टी १२, तीन साना दल तीन, स्वतन्त्र सांसद एकजना दाहालको पक्षमा देखिएका छन् ।

विपक्षमा भने एमाले १ सय ८२, राप्रपा नेपाल २५, नेकपा माले पाँच, नेमकिपा चार, राष्ट्रिय जनमोर्चा तीन, नेपाल परिवार दल दुई, बहुजन शक्ति पार्टी एक, मधेस समता पार्टी एक रहेका छन् । दाहाल प्रधानमन्त्रीका एक्लो उम्मेदवार भए पनि संसद्मा भने बहुमत देखाउनुपर्नेछ । कुल ५ सय ९५ सांसदको बहुमत प्राप्त गर्नुपर्ने हुँदा दाहालले कम्तीमा २ सय ९८ मत ल्याउनुपर्छ । यसअघिका प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी केन्द्रसहित केही साना दलको समर्थन पाएका थिए ।

२४ असोज २०७२ मा भएको प्रधानमन्त्री निर्वाचनमा एमाले अध्यक्ष ओलीले ३ सय ३८ मत ल्याएका थिए । संसद्को बुधबार बिहान ११ बजे बस्ने बैठकपछि नै प्रधानमन्त्रीको निर्वाचन प्रारम्भ गरिनेछ । एउटा मात्र उमेदवारीको सूचना परेकाले त्यसमाथि व्यवस्थापिका–संसद्को बैठकमा प्रस्तावक र समर्थकले बोलिसकेपछि सिधै मतदान प्रक्रिया सुरु हुनेछ । सभामुखले उम्मेदवारको पक्षमा रहने अर्थात् ‘हुन्छ’ भन्ने र उम्मेदवारको विपक्षमा रहने अर्थात् ‘हुन्न’ भन्ने सदस्यलाई भिन्नाभिन्नै ढोकाबाट उपकक्ष (लबी)मा प्रवेश गराएर मत संकलन गराउनेछिन् ।

एकभन्दा बढी उम्मेदवारको सूचना प्राप्त भएको अवस्थामा सभामुखले प्रत्येक उम्मेदवारको पक्षमा रहने सदस्यलाई भिन्नाभिन्नै ढोकाबाट उपकक्ष (लबी) मा प्रवेश गराएर मत संकलन गर्ने थिइन । त्यसरी संकलित मतगणनाको परिणाम सभामुखले तत्काल सुनाउनेछन् । कांग्रेस र माओवादी र राप्रपाको मात्रै समर्थन भए पनि बहुमत पुग्नेछ । संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल स्थापना भएपछि पहिलो जननिर्वाचित प्रधानमन्त्री बनेका दाहाल बुधबार दोस्रोपटक प्रधानमन्त्री बन्न लागेका हुन् । यसअघि एमालेको समर्थनमा प्रधानमन्त्री भएका दाहाल यसपटक भने कांग्रेसको समर्थनमा प्रधानमन्त्री बन्न लागेका हुन् । सबैभन्दा ठूलो दल बनेर सरकारको नेतृत्व गरेका दाहालले त्यसबेला तत्कालीन प्रधानसेनापति रुक्मांगद कटवाल हटाउने निर्णय गर्दा राष्ट्रपति डा. रामवरण यादवले उल्ट्याइदिएपछि राजीनामा दिएका थिए ।