देउवासँग टकराव र समझदारी

टेनिस रोका-राजधानी

काठमाडौं, १९ साउन

२०५२ सालमा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई ४० बुँदे मागपत्र बुझाएर सशस्त्र द्वन्द्वमा होमिएका हालका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल तिनै देउवाको समर्थनमा देशको ३९औं प्रधानमन्त्री निर्वाचित भएका छन् । विपरीत ध्रुवको गठबन्धनभन्दा पनि कुनै बेला दाहाललगायत माओवादी नेताका टाउकोको मूल्यसमेत तोकेका देउवाकै समर्थनमा उनी प्रधानमन्त्री भएपछि विभिन्न टीकाटिप्पणीसमेत भएका छन् । तर, राजनीतिमा असम्भव कुरो सम्भव र सम्भव कुरो असम्भव भनेझैं बुधबार देउवाको समर्थनमै उनी दोहोरिएर प्रधानमन्त्री हुने पहिलो कम्युनिस्ट नेतासमेत बन्न सफल भएका छन् ।

44करिब ६२ वर्षअघि कास्कीको ढिकुरपोखरी–२ लेबाडेमा जन्मिएका दाहाल आठ वर्षको छँदै चितवनको शिवनगर बसाइँ सरेका थिए । २६ मंसिर २०११ मा जन्मिएका दाहालको विवाह २०२६ साल वैशाखमा  १५ वर्षकै कलिलो उमेरमा सीतासँग भएको थियो । दाहाल दम्पतीका तीन छोरी र एक छोरा रहेका छन् ।

२०२९ सालमा पाटन क्याम्पस ललितपुरबाट आईएस्सी, २०३३ सालमा कृषि क्याम्पस रामपुर चितवनबाट बीएसीएजी र त्रिभुवन विश्वविद्यालयमा एमपीएमा भर्ना गरेका दाहालको पृष्ठभूमि भने शिक्षण पेसाबाट अगाडि बढेको हो । उनी २०३० सालमा नारायणी विद्यामन्दिर माध्यमिक विद्यालय शिवनगरमा शिक्षकका रूपमा रहेका थिए । पछि नवलपरासी र गोरखामा पनि शिक्षकको जागिरेका रूपमा उनले शिक्षण पेसा अँगाले ।

उनको राजनीतिक सदस्यता भने २०२८ सालमा पुष्पलाल समूहबाट पार्टी सदस्यता प्राप्त गरेपछि सुरु भएको थियो । २०३४ सालमा उनी चौथो महाधिवेशनमा प्रवेश गरेका थिए भने २०३५ सालमा पूर्णकालीन कार्यकर्ता बनेका थिए । २०४१ सालमा नेकपा (मशाल) को केन्द्रीय समितिको सदस्य बनेका दाहाल २०४६ सालमा नेकपा (मशाल) को महामन्त्रीमा निर्वाचित भएका थिए । २०५१ सालमा नेकपा (माओवादी) को महामन्त्रीमा निर्वाचित भएका दाहाल २०५७ सालमा दोस्रो राष्ट्रिय सम्मेलनबाट नेकपा (माओवादी) को अध्यक्षमा निर्वाचित बन्न पुगेका थिए ।

माओवादी लडाकूको सुप्रिम कमान्डरसमेत रहेका दाहाल २ असार २०६३ मा बालुवाटारमा पत्रकार सम्मेलनबाट सार्वजनिक भएका थिए । त्यसलत्तगै विस्तृत शान्तिसम्झौतापछि शान्ति प्रक्रियामा फर्किएका दाहाल २०६४ सालको संविधानसभाको पहिलो निर्वाचनबाट काठमाडौं–१० र रोल्पा–२ बाट संविधानसभा सदस्य निर्वाचित बनेका थिए । उनी ३१ साउन २०६५ मा गणतन्त्र नेपालको प्रथम प्रधानमन्त्रीमा निर्वाचित भएका थिए ।तर, प्रधानसेनापति रुक्मांगद कटवाललाई हटाउने सन्दर्भमा उनले पदबाट राजीनामा नै दिनुपरेको थियो । त्यसको करिब सात वर्षपछि बुधबार संसद्मा भएको निर्वाचनबाट उनी देशको ३९औं प्रधानमन्त्री बन्न सफल भएका हुन् ।