नेविसंघ महाधिवेशन र अपेक्षा

Prakash-Kumar-Upadhyaya
प्रकाशकुमार उपाध्याय

नेपाल विद्यार्थी संघ ११औं महाधिवशेनमा छ । विधानतः प्रत्येक दुई वर्षमा हुनुपर्ने महाधिवेशन विभिन्न बाहानाबाजीमा आठ वर्षपछि धकेलिएको छ । लामो समयान्तरपछि यस महाधिवशेनले नेविसंघका नेता कार्यकर्ता मात्र नभएर देशका सम्पूर्ण युवा विद्यार्थीमा नयाँ उत्साह सञ्चार गरिदिएको छ । अन्तिम समयमा आएर कुनै चामत्कारिक घटना वा बाहानाबाजी नभएमा साउन २३ देखि २५ गतेसम्म नेविसंघको महाधिवेशन काठमाडौंमा हुँदै छ । महाधिवेशनबाट यस संगठनले नवीन ऊर्जासहितको नयाँ नेतृत्व पाउने अपेक्षा गरिएको छ ।

महाधिवेशनबाट ऊर्जावान् नेतृत्वको अपेक्षा गरिरहँदा मुलुकको वर्तमान राजनीतिक, आर्थिक र सामाजिक आवश्यकता सम्बोधनमा युवा विद्यार्थीको भूमिकाका बारेमा पनि बहस स्वाभाविक छ । यसमा पनि यस देशको सबैभन्दा पुरानो लोकतान्त्रिक राजनीतिक दल नेपाली कांग्रेसको भ्रातृ संगठन मात्र नभएर मौजुदा राजनीतिक शक्ति सन्तुलनमा सबैभन्दा ठूलो शक्तिका जुझारु युवा विद्यार्थीको रणनीतिले खास अर्थ राख्छ ।

विद्यार्थी परिवर्तनका संवाहक हुन् । विद्यार्थीमा विद्यमान स्वाभाविक ऊर्जालाईलाई निरन्तर नवीकरण गर्दै जानुपर्छ । यसका लागि नयाँ नेतृत्व जरुरी हुन्छ । नेतृत्वले समकालीन आवश्यकताको पहिचान र सम्बोधनका सवालमा रणनीतिक चातुर्य अपनाउन सक्नुपर्छ । तबमात्र नेतृत्वको औचित्य प्रमाणित हुन्छ । यो कुनै पनि सांगठनिक नेतृत्वको आधारभूत चरित्र पनि हो । विद्यार्थी संगठनलाई कुनै नेता र गुटको स्वार्थमा चलाउन खोजियो भने त्यो प्रत्युत्पादक हुन जान्छ । यसका लागि प्रमाण जुटाइराख्नुपर्दैन, निकट अनुभव नै पर्याप्त हुन सक्छन् । अब कम्तीमा त्यो विडम्बनाको पुनरावृत्ति हुनु हुँदैन । यदि, फेरि पनि त्यही दृष्य दोहोरियो भने त्यसबेला यो विद्यार्थी संगठनको भौतिक उपस्थिति त रहला, तर असली गुण र चरित्र भने समाप्त भइसकेको हुन्छ ।

नेविसंघ पञ्चायती व्यवस्थाको चरम निरंकुशताको कालमा तत्कालीन युवा नेता रामचन्द्र पौडेल, शेरबहादुर देउवा, विपीन कोइराला, देवेन्द्रलाल नेपाली, अर्जुननरसिंह केसीलगायतको अग्रसरतामा जन्मिएको संगठन हो । २०२७ साल वैशाख ६ गते नेता कृष्णप्रसाद भट्टराईले उद्घाटन गरेको कार्यक्रमबाट यसको विधिवत घोषणा गरिएको थियो । यो प्रजातान्त्रिक आन्दोलनको अग्रणी संगठन पनि हो । यसले संस्थापक अध्यक्ष विपीन कोइरालादेखि रञ्जित कर्णसम्म आइपुग्दा झन्डै साढे ४ दशकको राजनीतिक आरोहअवरो पार गरिसकेको छ । यो समय अन्तरमा कैयन तीतामिठा राजनीतिक परिघटना नझेलेको होइन, यसले ।

नेविसंघलाई माउ पार्टी कांग्रेसको भ्रातृ संगठन मात्र नभएर पार्टीको मेरुदण्ड नै मानिएको छ । यसलाई कांग्रेस उत्पादनको कारखाना पनि भन्ने गरिएको थियो । आज कांग्रेसको शीर्ष नेतृत्वमा रहेका सबैजसो नेता नेविसंघको स्कुलिङबाटै आएका छन् । यस्तो गौरवशाली प्रजातान्त्रिक इतिहास बोकेको संगठनलाई नेताले पछिल्लो समयमा गुट उपगुटको गोटी बनाइआएको तीतो अनुभव सबैमा ताजै छ । नेतृत्वको यस आचरणको मारमा संगठनमा ८ वर्षदेखि नेतृत्व विकास हुन पाएन । नेतृत्वका लागि टीका थाप्ने प्रवृत्ति हावी हुँदै गयो । र, नेविसंघ लामो समयसम्म तदर्थवादको चक्रब्यूँहमा फस्न बाध्य भयो ।

हिजो र आजको नेविसंघको तुलना हुँदा आफ्नो मौलिकता गुमाउँदै गएको भान हुनु स्वाभाविक हो । नेविसंघको स्कुलिङ कमजोर भएको त होइन ? भन्ने प्रश्न पनि उठ्न थालेको छ । यस्ता यावत् आशंकाको चिरफार गर्दै नेविसंघले राजनीतिक, सामाजिक, आर्थिक र सांस्कृतिक उत्थानको बाटोमा नेतृत्वदायी भूमिकामा खरो उत्रिनुको विकल्प छैन । यही महाधिवेशनले यसको प्रण गरोस् ।

विद्यार्थी एकता, राष्ट्रियता, लोकतन्त्र र समाजवादजस्ता मूल आदर्शमा अडिएको नेविसंघ तमाम राष्ट्रिय आवश्यकताको परिपूरणमा अग्रणी सावित हुनुपर्छ । अहिलेको अवस्थामा माउ पार्टी नेपाली कांग्रेसको राजनीतिक, सामाजिक र आर्थिक रोडम्यापलाई टेवा पु¥याउनु नेविसंघको कर्तव्य हुन आउँछ । कांग्रेस आफ्नो पथबाट विचलित भएमा सही बाटोमा ल्याउनु पनि यसको मूल दायित्व हुनुपर्छ । कांग्रेसको नेतृत्वमा मुलुकले अग्रगामी राजनीतिक परिवर्तन हासिल गर्दै संविधान पायो । अब मुलुकमा राजनीतिक स्थायित्व, दिगो शान्ति, सुशासन र आर्थिक विकासको मार्गमा अघि बढ्ने काममा नेविसंघ सधैं एक पाइला अघि हिँड्नुपर्छ । विद्यार्थी संगठन भएकाले नेपाली युवा विद्यार्थीको अवस्थाप्रति कस्तो भूमिकामा प्रस्तुत हुनेछ ? यसप्रति आमविद्यार्थीको नजर पनि अडिएको छ । देशको शिक्षा पद्धतिले शिक्षित बेरोजगार उत्पादन गरिरहेको छ । पढेलेखेका युवा स्वदेशमा काम नपाएर बिदेसिनु परेको छ । ऊर्जावान् जशक्तिको पीडादायी पलायनप्रति नेविसंघ मौन बस्नु हुँदैन । यो विडम्बनाको समाधानका लागि स्पष्ट मार्गचित्रसहितको ‘सबै युवा विद्यार्थी जुटौं राष्ट्र निर्माणमा’ भन्ने नाराका साथ अभियानको थालनी नेविसंघबाटै हुनुपर्छ । यसलाई नेविसंघले मूल प्राथमिकताका साथ आफ्नो एजेन्डामा राख्नुपर्छ । र, वातावरण निर्माणका लागि राज्यका विभिन्न तह र निकायमा दबाव सृजना पनि गर्नुपर्छ ।

विगतमा नेविसंघ एउटा प्रजातान्त्रिक आन्दोलनको सजग सिपाहीका रूपमा थियो । आज त्यो आवश्यकताको अन्त्य भइसकेकाले प्राथमिकता पनि फेरिनुपर्छ । यस कारण अब राजनीतिकै लागि राजनीति र इतिहासका बयानले राजनीति अघि बढ्न सक्दैन । समयानुकूल आवश्यकताको पहिचान र भूमिकाको रूपान्तरण जरुरी छ । अब नेविसंघ समाजवादी आर्थिक क्रान्तिको पहरेदारका रूपमा स्थापित हुनुपर्छ । नेता बीपी कोइरालाको चिन्तनलाई साकार पार्ने दिशामा ‘प्रत्येक नेपाली जो दूरदराज गाउँमा बस्छन्, झुपडीमा बस्छन्, तिनका मुहारमा खुसियाली ल्याउने’ सपना साकार पार्न लागिपर्नु पर्छ । समाजवादउन्मूख नीति र कार्यक्रमको सच्चा पहरेदारका रूपमा उभ्याएर आर्थिक परिवर्तनमा स्वयंसेवकका रूपमा नेविसंघको सक्रियता आजको सापेक्ष र आवश्यकता पनि हो ।

अहिले देश राजनीतिक संक्रमणसँगै प्राकृतिक प्रहारको रूपमा भोग्नुपरेको भूकम्पको पीडाबाट तंग्रिने प्रयत्नमा छ । यस अवस्थामा राजनीतिमा मात्र केन्द्रित नभएर नेविसंघले प्राकृतिक प्रकोपबाट भोग्नुपरेको क्षतिको पुनर्जीवन अभियानमा पनि आफूलाई सक्रिय र पहरेदारका रूपमा उभ्याउनुपर्छ । सबै खालका प्राकृतिक पीडाको समाधानमा उत्तिकै सक्रिय हुनुपर्छ । नेपाललाई कस्तो बनाउने भन्ने दायित्वको बढी भारी युवा विद्यार्थीको काँधमा छ । यस अर्थमा नेविसंघको ११औं महाधिवेशन मुलुकको सुखद् भविष्य निर्माणको महाअभियानमा सार्थक एजेन्डा पारित गर्दै त्यसलाई कार्यान्वयनको तहमा लैजान सक्ने नेतृत्व चयनमा सफल बन्न सकोस्, अहिलेलाई यही शुभेच्छा †