ओली प्रकरणको पटाक्षेप

Mainali
श्यामप्रसाद मैनाली

नेपाल कम्युनिस्ट पार्टी एमालेका अध्यक्ष खड्गप्रसाद शर्मा ओलीजी आजभन्दा नौ महिनाअघि देशको प्रधानमन्त्रीमा बहुमतबाट निर्वाचित भएका हुन् । उनी प्रधानमन्त्री पदमा आसीन हुँदाका बखत देशमा नयाँ संविधान घोषणा भएको थियो । कार्यान्वयनको दिशामा खरो उत्रिन सक्नुमा नै उनको सफलता निर्भर गर्दथ्यो । प्रधानमन्त्री पदभार ग्रहण गर्नेबित्तिकै नयाँ संविधानप्रति असन्तुष्टि व्यक्त गर्दै मधेसवादी दलहरू विरोधमा उत्रिएका थिए । विरोधमा मधेसी जनताकै सहयोग र साथ प्राप्त गर्न असफल भएका मधेसवादी दलहरू नेपाल–भारत सिमानामा रहेको नेपालको सबैभन्दा बढी सामान आयात–निर्यात हुने वीरगन्ज र रक्सौलबीचको दसगजा क्षेत्रमा धर्ना बस्न पुगे । दसगजा क्षेत्र दुवै देशको सिमाना छुट्ट्याउने प्रयोजनमा व्यवस्थित गरिएको हुन्छ । दुवै देशको एकाधिकार त्यस क्षेत्रमा रहँदैन । सबै प्रकारको हिसाबबाट नेपाल सरकार अथवा ओली नेतृत्वको सरकारलाई समझदारीमा ल्याई आफ्ना माग पूरा गराउने हतकण्डाका रूपमा यसलाई लिँदा उनीहरूले दशगजा क्षेत्र र हिन्दुस्तानको भूमिबाट नेपालीहरूमाथि ढुङ्गा मुढासमेत गर्दै गए । हिन्दुस्तानले यो नेपालको आन्तरिक मामिला हो भनी व्याख्या गर्दै ढुवानीका साधन र जनशक्तिको सुरक्षा जोखिममा परेको तर्क दिई आपूर्ति व्यवस्था ६÷६ महिनासम्म असहज बनाइदियो, तर अपेक्षाअनुरूप ओली सरकारले यस समस्याको समाधान बुद्धिमतापूर्वक गर्दै गयो । स्वाभिमानी नेपालीहरूको चाहनाअनुरूप ओलीजी भारतसमक्ष झुकेनन् । दुःखको सामना गरिराखेका नेपालीहरूले राष्ट्रियता र स्वाभिमानको पक्षमा उभिएर ओलीजीलाई साथ दिइरहे । ओली नेतृत्वको सरकारको सबैभन्दा सुखद र सफल पक्ष यही हो । यस अर्थमा ओलीजी नेपाली जनताको सच्चा प्रतिनिधिका रूपमा स्थापित भएकै हुन् ।

तर, ओलीजीले धेरै प्रकारका सपना नेपाली जनतालाई बाँड्दै रहे । उनले शीघ्र लोडसेडिङको अन्त्य हुने र यसका लागि हावाबाट विद्युत् उत्पादन गर्ने आश्वासनसमेत दिए । नेपालमा निर्माणाधीन जलविद्युत् आयोजनाको हालको अवस्थाको आँकलन गरी बाहिरबाट विद्युत् खरिद कति मात्रामा गर्ने हो ? देशको माग समेतलाई आधार मानी यो उद्घोष गरिएको भए उनले बाँडेको यो सपनाको केही अर्थ र ओज रहने थियो, तर सतही उद्घोष बन्न पुग्यो । अर्को पक्ष अझै सशक्त रूपमा रहेको छ ।

अरुण तेस्रो जलविद्युत् आयोजना सञ्चालनमा ल्याउन निर्माण कार्य अघि बढाउने गरी नेपाली कांग्रेसको सरकारले अघि बढाउँदा ओलीजीकै दल एमालेले चर्को विरोध गरी कार्यान्वयनमा जानबाट रोक लगाएको थियो । उनीहरूले अरुण तेस्रो आयोजना अघि बढाउन रोक नलगाएको भए यतिखेर नेपाल विद्युत् बिक्री गर्ने हैसियतमा पुग्ने थियो । लोडसेडिङको सतही र खोक्रो खोकाइ प्रधानमन्त्रीका रूपमा ओलीजीले गर्नुपर्ने थिएन । राष्ट्रलाई यति ठूलो क्षति पुग्ने कार्यको नेतृत्व लिनेहरूले लोडसेडिङ अन्त्य गरिदिन्छु भन्दा नेपाली जनताले सहजै विश्वास गरिदिनुपर्ने अवस्था छ । योभन्दा ठूलो विडम्बना अरू के नै होला र ? यसको हेक्का उनले राख्नैपर्ने हुन्छ ।

ओलीको दोस्रो सपना हो, भ्रष्टाचार नियन्त्रण । आगामी दुई वर्षभित्र भ्रष्टाचारजन्य क्रियाकलापहरू सम्पूर्ण नियन्त्रणमा आउने उनको उद्घोष थियो । नेपालमा भ्रष्टाचारको संस्थागत विकास भएको छ । भ्रष्टाचारको नियन्त्रण देशको नेतृत्व लिने राजनीतिज्ञहरूबाटै हुनुपर्दछ । ओलीजीलगायत एमालेले यसको उदाहरण बन्न सक्नुपर्दथ्यो । तर, देशमा भ्रष्टाचार यो नौ महिनाको अवधिमा अझै मौलाउँदै गयो । नेपाली जनता भ्रष्टाचारबाट प्रताडित हुँदै गए, यहाँसम्म कि एनसेलले तिर्नुपर्ने अर्बौं राजस्व छुट गर्न यो देशको जिम्मेवारीमा रहेका प्रायः सबै पदाधिकारी लागिपरेकै थिए । तर, नागरिक समाजसमेत सचेत नेपालीहरूको खबरदारीले गर्दा यो राजस्व रकमको भ्रष्टाचार गर्ने कार्य सम्भव हुन सकेन । ओलीजीले चाहेको भए यस विषयमा हस्तक्षेप गरी राजस्व सबै दाखिला गराउन सक्थे । यो उनको सच्चरित्रता प्रमाणित गर्ने सुअवसर थियो । राज्य सञ्चालन प्रक्रियामा यो एउटा उदाहरण मात्र हो । यस्ता धेरै प्रकारका अवसरको सदुपयोग गरी भ्रष्टाचार नियन्त्रणको दिशामा आफूलाई उभ्याउन सक्ने थिए ओलीले । यी अवसरहरूबाट चुकेका र भ्रष्टाचार विरोधी क्रियाकलापमा आफूलाई उभ्याउन नसकेका प्रधानमन्त्रीले भ्रष्टाचारजस्तो संस्थागत रूपमा झाँगिएको सामाजिक विकृतिलाई दुई वर्षभित्र नियन्त्रणमा ल्याउँछु भनी गरिएको प्रतिबद्धता सोम शर्माको पिताको सातु मात्रै बन्न पुग्यो ।

उनले तेस्रो सपना बाँडेका थिए, अब सिलिन्डर बोकेर हिँड्ने दिन सकियो । त्यसैले, प्रत्येक नागरिकको भान्सामा पाइपमार्फत ग्याँस उपलब्ध गराइने प्रतिबद्धता छ । हो, युरोप अमेरिकामा उनले यस्तै सुविधा नागरिकहरूले उपभोग गरिराखेको देखेका होलान् तर नेपालमा यसका आधारशिलाहरूको निर्माण र एलपी ग्याँस आपूर्ति र उत्पादनको सरल व्यवस्थाबारे भने सोचेनन् । स्रोतविना नागरिकहरूको घरमा पाइप जडान गर्न सकिन्छ, तर ग्याँस नै उपलब्ध गराउने विषय भने कठिन थियो र छ पनि । यस्तो विषयमा अभिव्यक्ति दिँदा गृहिणीहरूले ठूलै मनोरञ्जन लिएका थिए । यथार्थमा उनले यो अभिव्यक्ति दिइरहँदा नेपाली नागरिक हिन्दुस्तानले गरेको अघोषित नाकाबन्दीबाट पीडित थिए । एक सिलिन्डर ग्याँस कालोबजारीहरूबाट चर्को मूल्य तिरेर खरिद गर्न पाउँदा ठूलो सफलता प्राप्त गरेको महसुस भइराखेको थियो । नेपाल भित्रिएको ग्याँसलाई व्यवस्थित हिसाबले बिक्री–वितरण गराउने सामान्य कामसमेत तत्कालीन सरकारले गर्ने क्रियाशीलता देखाएन । नेपाली जनताले प्रधानमन्त्रीको अभिव्यक्तिबाट थप पीडाबोध गर्नुपर्ने अवस्था देखियो । यसका साथै पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म रेलवे यातायातको सञ्चालन गर्ने, तराई हुलाकी रोड निर्माण गर्ने सस्तो लोकप्रियता आर्जन गर्ने हिसाबले बजेटहरू छर्नेजस्तो कामहरू गर्दै र उल्लिखित प्रतिबद्धता व्यक्त गर्दै ओलीजीका नौ महिना सकिए ।

अब प्रश्न उठ्छ, ओलीजीले यो उद्घोष गर्नै हुने थिएन त ? यसलाई सकारात्मक रूपमा हेर्नुपर्दछ । सपना नै नदेख्नेले विपनामा त्यसलाई चरितार्थ गर्नै सक्तैन । ओलीजी जनताले पाएको दुःखमा साथ दिन तत्पर भएछन् । लोडसेडिङ, भ्रष्टाचार समाप्त गर्नुपर्ने देखेछन्, यातायात क्षेत्रको विकास र ग्याँसको आपूर्ति सहज बनाई नागरिकलाई सेवा प्रदान गर्न दृढ बन्नेछन्, यसलाई सकारात्मक रूपमा लिन सकिन्छ । नेपालमा २०४६ सालको जनआन्दोलन सफल भएपश्चात् स्वर्गीय किसुनजीले मेलम्चीको पानीले काठमाडौंका सडकहरूसमेत सफा गर्ने उद्घोष गर्दा उनको यो भनाइलाई हाँसोमा उडाउने काम हामी नेपालीले नै गरेका थियौं । यतिखेर मेलम्ची खानेपानीको करिब ७० प्रतिशत काम पूरा भएको छ । धीमा गतिमै अघि बढ्दा पनि बढीमा अबको पाँच वर्षभित्र मेलम्ची खानेपानी आयोजना सम्पन्न हुने देखिँदै छ । गिरिजाबाबुले संसद्को पुनःस्थापनाको माग उठाउँदा नेपाली कांग्रेसकै कार्यकर्ता र नेतावर्गबाट उनमा मानसिक सन्तुलन ठीक नभएको गम्भीर आरोपसमेत लगाए, तर अन्त्यमा संसद्को पुनःस्थापना गराउन कत्ति पनि विचलित नभई गिरिजाबाबु लागि नै रहे र सफल भए । स्व. किसुनजी र स्व. गिरिजाबाबुले देखेका सपनाहरू साकार भए ।

ओलीजीले देखेका सपनाहरू पनि एक दिन साकार हुन्छन् नै, किनकि विकासको गतिलाई रोक्न सकिँदैन, तर पनि सचेत नेपाली जनताले बुझ्ने गरी आफ्ना प्रतिबद्धताहरू पूरा गर्ने भरपर्दो आधारका रूपमा कार्यक्रम, स्रोतसाधनसमेतको उपलब्धताजस्ता विषयहरूमा योजनाबद्ध हिसाबले अनुवाद गरी अघि बढेको भए नेपाली कलाकारहरूले आफ्नो भूमिका ओलीजीले खोसिदिएको भनी व्यंग्यबाण गर्न पाउने थिएनन् । यसमा विचार नपु¥याई सतही प्रकारको अभिव्यक्ति दिइँदा उनको व्यक्तित्वमा नकारात्मक असर परेकोमा कुनै सन्देह छैन । त्यसैले, जिम्मेवारीमा रहनेहरूले जनतालाई उपहास नगर्दा उत्तम हुनेमा कसैको विमति रहँदैन । अब ओलीजीलगायतले बुझ्नुपर्ने विषय हो, एक माघले जाडो जाँदैन । जिम्मेवार प्रतिपक्षको भूमिका ओलीजीले प्रमुख प्रतिपक्षी नेताको हैसियतले निर्वाह गर्नुपर्दछ । जनता अब सचेत भइसकेका छन् । सरकारमा रहने र प्रतिपक्षमा रहनेहरूको हरेक प्रत्येक काम कारबाहीहरूको विनापूर्वाग्रह मूल्यांकन गर्न तत्पर छन् र गरि पनि राखेका छन् । तसर्थ, जनताकै आधारमा राजनीति गर्ने हो भने जिम्मेवारीमा रहेकाहरूको क्रियाकलाप एवं अभिव्यक्ति जिम्मेवार हुनुपर्दछ भन्ने ज्ञान ओलीजीलगायतमा हुनु जरुरी छ ।