विदेशबाटै बढी पेन्सन बुझ्छन् नेपाली

pensions_2369684b

शिव सत्याल/राजधानी
काठमाडौं, १५ भदौ ।
सेवा निवृत्त कर्मचारीले सरकारबाट भन्दा विदेशबाटै बढी पेन्सन बुझ्ने गरेको पाइएको छ । सरकारले गत आर्थिक वर्षमा सेवा निवृत्त कर्मचारीको पेन्सनका लागि ४१ अर्ब ६ करोड रुपैयाँ बजेट खर्च गरेको छ । यो रकम बढी भयो र राज्यले थेग्न सक्दैन भन्ने बहस चलिरहेको बेलामा विदेशमा सरकारी सेवाबाट निवृत्त भएका नेपालीले वर्षमा सोभन्दा बढी रकम पेन्सन खाइरहेको तथ्य सार्वजनिक भएको छ ।
नेपाल राष्ट्र बैंकले दिएको तथ्यांक अनुसार गत आर्थिक वर्षमा विदेशमा सरकारी सेवा गरेर निवृत्त भएका नेपालीले ४६ अर्ब ५१ करोड रुपैयाँ रकम पेन्सनबापत नेपाल भिœयाएका छन् । यो रकम भारतीय र बेलायती सेनामा काम गरेर अवकाश पाएका नेपालीले ल्याएको रकम हो ।
राष्ट्र बैंकका अनुसार यसमध्ये ८ अर्ब ९९ करोड रुपैयाँ बेलायती सेनाबाट अवकाश पाएका नेपालीले र ३७ अर्ब ५२ करोड भारतीय सेनाबाट अवकाश पाएका नेपालीले पाउँदै आएको पेन्सन रकम हो । विदेशबाट पेन्सनका रूपमा नेपाल आउने रकम विदेशी मुद्रामै आउँछ । बेलायतबाट आउने पेन्सन भने घट्दो क्रममा र भारतबाट आउने बढ्दो क्रममा रहेको छ ।
राष्ट्र बैंकको तथ्यांकअनुसार अघिल्लो आर्थिक वर्षमा ४२ अर्ब ३८ करोड रुपैयाँ विदेशबाट पेन्सनका रूपमा नेपाल भित्रिएको थियो । यसमध्ये बेलायतबाट ११ अर्ब ५६ करोड र भारतबाट ३० अर्ब ८२ करोड रुपैयाँ थियो । यस्तो रकममध्ये गत आर्थिक वर्षमा बेलायतबाट ९ अर्ब रुपैयाँ मात्रै आएको हो । भारतबाट आउने पेन्सन रकम भने बढेर ३७ अर्ब ५२ करोड रुपैयाँ पुगेको छ ।
सरकारले चालू आर्थिक वर्षमा पेन्सनका लागि ४२ अर्ब १० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । सो रकममध्ये ३५ अर्ब सेवानिवृत्त निजामती कर्मचारी, सेना, प्रहरीका लागि हो भने ७ अर्ब १० करोड रुपैयाँ अवकाशप्राप्त शिक्षकका लागि हो ।
राष्ट्र बैंकले दिएको जानकारीअनुसार अघिल्लो आर्थिक वर्षमा पेन्सन बापत ४२ अर्ब ३८ करोड रुपैयाँ नेपाल भित्रिएको छ । अघिल्लो बर्षमा पेन्सनबापत नेपाल भित्रिने रकम ९ दशमलव ७ प्रतिशतले बढेर ४६ अर्ब ५१ करोड रुपैयाँ पुगेको हो । यस्तै, आर्थिक वर्ष २०७०÷७१ मा पेन्सनबापत विदेशबाट ४१ अर्ब ३७ करोड रुपैयाँ नेपाल भित्रिएको थियो ।
आर्थिक वर्ष २०७२÷७३ मा नेपाल सरकारले पेन्सनका लागि ४१ अर्ब ६ करोड रुपैयाँ खर्च गरेको थियो । यस्तै, आर्थिक वर्ष २०७१÷७२ मा भने यस्तो रकम ३३ अर्ब ७५ करोड रुपैयाँ खर्च गरेको थियो । यस्तै, आर्थिक वर्ष २०७०÷७१ मा २४ अर्ब ३८ करोड रुपैयाँ सेवा निवृत्त कर्मचारीलाई पेन्सनका लागि खर्च भएको थियो ।
आव विदेशबाट पेन्सन
(रु करोडमा) नेपालले पेन्सन
(रु करोडमा)
२०७२\७३ ४६५१ ४१०६
२०७१\७२ ४२३८ ३३७५
२०७०\७१ ४१३७ २४३८
स्रोत : राष्ट्र बैंक र निवृत्तिभरण कार्यालय

Leave A Reply

Your email address will not be published.