नेविसंघले १६ वर्षमुनिकालाई सदस्यता नदिने

neopal student flag

राजधानी समाचारदाता
काठमाडौं, १५ भदौ ।
नेपाल विद्यार्थी संघले १६ वर्षमुनिका विद्यार्थीलाई संगठनको सदस्यता नदिने भएको छ । विद्यालय क्षेत्रमा हुने दलीय राजनीति कम गर्न बालअधिकार अभिसन्धिको प्रावधानअनुरूप नेविसंघले १६ वर्षमुनिका छात्र छात्रालाई संगठनको सदस्यता नदिने निर्णय गरेको हो ।
नवनिर्वाचित अध्यक्ष नैनसिंह महरले विद्यार्थीलाई दलीय राजनीतिबाट टाढा राख्न र विद्यालयलाई शान्ति क्षेत्रमा परिणत गर्नुपर्छ भन्ने उद्देश्यले १६ वर्षमुनिकालाई संगठनको सदस्यता नदिने निर्णय गरेको बताए ।
केन्द्रीय समिति बैठकले गरेको निर्णयबारे जानकारी गराउने उद्देश्यले बुधबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष महरले संगठनको तर्फबाट विद्यालय बन्द कार्यक्रम नराखिने प्रतिबद्धता पनि जनाए । उनले संगठनका कुनै पनि सदस्यले व्यक्तिगत रूपमा संगठनका नाममा चन्दा उठाउन नपाउने निर्णय भएको बताउँदै कसैले त्यस्तो गरेको थाहा पाए कडाकारबाही गर्ने निर्णय गरिएको पनि जानकारी गराए । उनले संगठनले संस्थागत रूपमा कसैसँग चन्दा लिन सक्ने तर त्यस्तो चन्दा पारदर्शी हुने पनि बताए ।
केन्द्रीय समितिले संविधानको सफल कार्यान्वयनका लागि मधेसी, आदिवासी, जनजाति, दलित, महिला, मुस्लिमलगायतका समुदायको जायज माग सम्बोधन गरी कार्यान्वयन गर्न दबाब दिन राष्ट्रव्यापी दबाब तथा जागरण अभियान सुरु गर्ने निर्णय गरेको छ ।
पत्रकार सम्मेलनमा महासचिव कुन्दन काफ्लेले संगठनले गरेको निर्णयबारे जानकारी गराएका थिए । संघको ११औं महाधिवेशनपछि बसेको यो पहिलो केन्द्रीय समिति बैठक हो ।