जापानद्वारा पौने २ अर्ब बढी अनुदान सहयोग

japan-flag
राजधानी समाचारदाता
काठमाडौं, १५ भदौ ।
जापान सरकारले नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध स्थापनाको ६०औं वार्षिकोत्सवको अवसर पारेर दुई भिन्न परियोजना कार्यान्वयन गर्न नेपाललाई १ अर्ब ८३ करोड २० लाख रुपैयाँ अनुदान सहयोग उपलब्ध गराउने भएको छ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री कृष्णबहादुर महरा र द्विपक्षीय दौत्य सम्बन्ध स्थापनाको ६०औं वार्षिकोत्सव समारोहमा भाग लिन नेपालको तीनदिने औपचारिक भ्रमणमा रहेका जापानका विदेश राज्यमन्त्री नोबु किसाईको उपस्थितिमा अनुदान सहयोगसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो ।

अर्थ मन्त्रालयमा बुधबार आयोजित विशेष समारोहमा नेपालका लागि जापानका राजदूत मासासी ओगावा र अर्थ मन्त्रालयका सचिव लोकदर्शन रेग्मीले नेपालका प्रमुख विमानस्थलको हवाई सुरक्षा सुधार परियोजनासम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरे । सम्झौताअनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित आठवटा विमानस्थलमा हवाई सुरक्षा सुधार परियोजना कार्यान्वयन गर्न जापानले १ अर्ब ५१ करोड ८० लाख रुपैयाँ उपलब्ध गराउनेछ ।
यस्तै, विद्यालय क्षेत्र विकास कार्यक्रम कार्यान्वयन गर्न जापानले ३१ करोड ३० लाख रुपैयाँ अनुदानस्वरूप प्रदान गर्नेछ ।

सो अनुदानसम्बन्धी सम्झौतापत्रमा यहाँस्थित जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) का प्रमुख जुन साकुमा र अर्थ मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सहयोग समन्वय महाशाखाका प्रमुख बैकुण्ठ अर्यालले हस्ताक्षर गरे । त्यस अवसरमा राजदूत ओगावाले नेपालको विकास प्रयासमा जापानले निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे भने सचिव रेग्मीले नेपालको सामाजिक–आर्थिक उन्नयनका निम्ति जापानले गरेको योगदानप्रति आभार प्रकट गरे ।

Leave A Reply

Your email address will not be published.