एमालेको सहमतिमै संविधान संशोधन मन्त्री लेखक

index

सुरेश पन्त / राजधानी
महेन्द्रनगर, १८ भदौ ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले संविधान संशोधनमा एमालेलाई मनाउने बताएका छन् । संविधान संशोधनका विषयमा वार्ता र सहमतिका माध्यमबाट अघि बढ्ने बताउँदै त्यसमा एमाले पनि राजी हुने विश्वास मन्त्री लेखकले गरेका छन् ।

नेपाल प्रेस युनियन कञ्चनपुरले शनिबार महेन्द्रनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री लेखकले संशोधनका लागि पहिला विषयवस्तु छनोट भए पनि राजनीतिक सहमति खोजिने बताए । संविधान संशोधनको विषयमा अहिले आफूहरू छलफलको चरणमा रहेको स्पष्ट पार्दै उनले भने, ‘त्यसका लागि प्रमुख प्रतिपक्षसहित सबै दलसँग छलफल र संवाद हुन्छ ।’

संविधान संशोधनका लागि पहिला विषयवस्तु छनोट भए पनि राजनीतिक सहमति खोजिरहेको र प्रमुख प्रतिपक्षसहित सबै दलसँग छलफल र संवाद हुने बताउँदै उनले भने, ‘नयाँ संविधानमा देखिएका असन्तुष्टिलाई वार्ताका माध्यमबाट समाधान गर्न वर्तमान सरकार त्यसैमा लागिपरेको छ ।’

एक अर्को प्रसंगमा मन्त्री लेखकले महाकाली नदीमा पक्की पुलको निर्माण पाँच महिनाभित्रै सुरु हुने बताएका छन् । महाकालीमा पक्की पुलको निर्माण पाँच महिनाभित्रै सुरु हुने र सो कार्यका लागि चार लेनको मोटर चल्ने पुल निर्माणको डीपीआर तयार भइसकेको जानकारी दिँदै मन्त्री लेखकले भने, ‘सो योजना सरकारले स्वीकृतसमेत गरिसकेकाले पाँच महिनाभित्र टेन्डर आह्वान गरी पुल निर्माणको काम सुरु हुन्छ ।’

निर्माण हुने पुलको विस्तृत परियोजना प्रतिवेदन नेपालका तर्फबाट तयार भई भारतीय सरकारलाई बुझाउनेलगायतका प्रक्रिया जारी रहेको उनले बताए । महाकाली नदीमा पुल बनेपछि नेपाल–भारतबीचको आर्थिक समृद्धि प्रगाढ बन्ने विश्वास व्यक्त गर्दै यसले देशकै आर्थिक उन्नतिमा सघाउ पु¥याउनेछ, उनले भने ।