संविधान संशोधन माग्ने अधिकार कांग्रेसलाई छैन पोखरेल

shankar-pokharel

‘एमालेको सहमतिविना संशोधन प्रक्रिया अघि बढाउन हुन्न’

राजधानी समाचारदाता
काठमाडौं, २० भदौ

एमाले स्थायी समिति सदस्य शंकर पोखरेलले कांग्रेसलाई संविधान संशोधनको कुरा गर्ने नैतिक अधिकार नभएको बताएका छन् । विगतमा हामीले आन्दोलनकारीसँग सहमति गरेर मात्रै संविधान संशोधन गरौं भन्दा कांग्रेसले नै दुईवटा विषयमा मात्रै संशोधन गरौं, मधेसीको सबै माग सम्बोधन हुन्छ भनेको हो,’ राजधानीमा सोमबार रिपोर्टर्स क्लबद्वारा आयोजित साक्षात्कारमा पोखरेलले भने, ‘हामीले त्यसैबमोजिम संविधान संशोधन गरेका हौं, फेरि अर्को संशोधन भन्ने अधिकार कांग्रेसलाई छैन ।’ कसैका लागि आवश्यक नभएको विषयमा कांग्रेस किन रुचि राख्छ ? भन्ने प्रश्न गर्दै पोखरेलले कांग्रेसले क्षमायाचना गर्नुपर्नेमा समेत जोड दिए ।

‘अर्को सहमति नभएसम्म संशोधनको कुरा गर्ने अधिकार कांग्रेस, त्यसका सभापति शेरबहादुर देउवा र विमलेन्द्र निधिलाई छैन,’ उनले भने, ‘निधिजीले पहिलोपटक संशोधन गर्दा आफूले जिम्मा लिने कुरा गर्नुभएको थियो, अब फेरि कुन नैतिकताको आधारमा संशोधन गर्ने कुरा गर्दै हुनुहुन्छ ? उहा“ले सार्वजनिक रूपमा माफी नमागेसम्म संशोधनको कुरा गर्ने नैतिक अधिकार छैन ।’

संविधानले कुनै पनि समुदायलाई विभेद नगरेको उल्लेख गर्दै उनले केही सामाजिक विभेद भए पनि संवैधानिक विभेद नभएको पुनः प्रस्ट्याए । ‘संविधान संशोधन गर्ने कुरामा एमाले बाधक अरू साधक बनेको भनेर हल्ला फैलाइएको छ,’ पोखरेलले भने, ‘मधेसी मोर्चाको आन्दोलन संविधान संशोधनका लागि भन्दा पनि एमालेको विरोधका निम्ति हो, एजेन्डामा होइन ।’

मधेसी मोर्चाले भन्नेबित्तिकै एमालेले संविधान संशोधनमा सहयोग नगर्ने अडान पोखरेलको छ । ‘के विषयमा संशोधन गर्ने ?’ उनले प्रश्न गर्दै भने, ‘औचित्य स्पष्ट नगरी अमूर्त कुरा गरेर कसैको विशेष निर्देशन पालना गर्नका लागि गर्ने भनिएको संविधान संशोधनको पक्षमा एमाले छैन, कसैको निर्देशन पालना गर्न जरुरी पनि छैन ।’

राष्ट्रिय समस्याका विषयमा आफ्नो पार्टी छलफल गर्न तयार रहेको उल्लेख गर्दै पोखरेलले एमालेसँग छलफल र सहमति नगरी संशोधन प्रस्ताव आएमा एमाले विपक्षमा रहने बताए । ‘एमाले पहलकदमी र सहमति विनासंशोधनको सम्भावना छैन,’ उनले भने, ‘संविधान कार्यान्वयन गर्दै जाँदा समस्या उत्पन्न भए मात्रै संशोधन गर्नुपर्छ, यसमा एमाले स्पष्ट छ ।’

नेकपा माओवादी केन्द्रका नेता टोपबहादुर रायमाझीले संविधान संशोधनका लागि एमालेको सहयोग अनिवार्य रहेको बताए ।‘संविधान संशोधनका लागि दुईतिहाई चाहिन्छ, त्यो एमाले, राप्रपा नेपाल, मालेलगायतका विपक्षी दलले साथ दिए मात्रै सम्भव छ,’ उनले भने,

‘उहाँहरूले साथ दिनुभयो भने संशोधन हुन्छ, होइन भने गाह«ो हुन्छ ।’ उनले संशोधनका लागि दलबीच राष्ट्रिय सहमति बन्नुपर्नेमा पनि जोड दिए । ‘संशोधन प्रस्ताव दर्ता गरेर मात्रै हुँदैन,’ उनले थपे ।संविधान निर्माण र जारी गर्दाको जस्तै संशोधन र कार्यान्वयनका लागि दलबीच सहमति, सहकार्य र एकता आवश्यक औंल्याउँदै रायमाझीले एमालेले पनि यसमा सहयोग गर्नुपर्ने उल्लेख गरे ।

‘संविधान संशोधन नगरी अहिलेकै अवस्थामा चुनाव हुन कठिन छ, संशोधन प्रस्ताव पेस गरेर मात्रै मधेसी मोर्चाका साथीले त्यसैलाई इस्यु बनाएर चुनावमा जाने हो भने निर्वाचन हुनसक्छ,’ उनले भने, ‘प्रस्ताव जाने तर संशोधन नहुन पनि सक्छ, प्रस्ताव लैजानका लागि हामी तयार छौं ।’

कांग्रेस नेता मीनबहादुर विश्वकर्माले संविधान संशोधन स्वयं संविधान कार्यान्वयनको एउटा पाटो भएको स्पष्ट पारे । ‘संविधान कुनै जंगबहादुर र महेन्द्रको सालिकजस्तो होइन,’ उनले भने, ‘यो गतिशील दस्तावेज हो, जति संशोधन हुन्छ, जनताको भावना त्यति नै प्रतिनिधित्व हुन्छ ।’

विश्वकर्माले सहमति, संवाद र सहकार्यबाटै समस्याको समाधान खोजिनुपर्नेमा जोड दि“दै वर्तमान समस्या हल गर्न दलबीच सहमति हुनुपर्ने धारणा राखे । ‘मुलुकलाई निकास दिने कुरामा दलबीच सहमति अनिवार्य आवश्यकता हो,’ उनले भने, ‘अहिले छलफल जारी छ ।’

एमालेले मधेसीलाई विदेशी देखेको आरोप लगाउँदै उनले एमालेको यस्तो प्रवृत्ति राम्रो नभएको टिप्पणीसमेत पनि गरे । ‘यसरी समस्याको समाधान हुँदैन्, एमाले पनि जिम्मेवार बन्नुपर्छ,’ विश्वकर्माले भने, ‘संविधान संशोधन प्रस्ताव छिट्टै संसद्मा पेस हुने मेरो विश्वास छ ।’

प्रस्ताव पेस भएपछि जायज र नाजायज माग के हुन् ? भन्ने त्यहीँ छुटिने उनको कथन छ । ‘जायज माग पूरा हुन्छन्, नाजायज फेल,’ उनले भने, ‘यो सार्वभौम संसद्को कुरा हो ।’ मधेसी मोर्चा नेता एवं फोरम गणतान्त्रिक अध्यक्ष राजकिशोर यादवले एमालेले जतिसुकै फूर्ति लगाए पनि संविधान संशोधनको पक्षमा उभिनुको विकल्प नभएको दाबी गरे ।

‘एमालेले अहिले ठूलो–ठूलो स्वरमा संशोधनविरुद्ध बोलिरहेको छ, अब कांग्रेस, माओवादी केन्द्र र मधेसी मोर्चाले संशोधनको प्रस्ताव दर्ता गर्दा एमाले कत्तिको जिम्मेवार बन्छ ? त्यो त्यहीँ देखिन्छ,’ उनले भने, ‘संविधान संशोधन नेपाल डुबाउनका लागि नभई शान्ति, समृद्धि र नेपाललाई बचाउनका लागि भएको छ ।’