उपत्यकावासीको खानेपानी सपना

उपत्यकावासीको खानेपानी सपना

उपत्यकावासीलाई पर्याप्त खानेपानी उपलब्ध गराउने भन्दै २० वर्षअघि सुरु गरिएको मेलम्ची खानेपानी आयोजना सम्पन्न हुने पूर्वघोषित मितिमा थप ढिलाइ हुने भएको छ । निर्माण सुरु भएको पाँच वर्षमै उपत्यकामा खानेपानी ल्याउने योजना सुनाए पनि दुई दशक बित्न लाग्दासमेत उपत्यकावासीले मेलम्ची खानेपानीको स्वाद चाख्न पाएका छैनन् । पछिल्लोपटक आगामी २०७४ असोजसम्ममा उपत्यकावासीको धारामा मेलम्चीको पानी झार्ने योजना सार्वजनिक गरिएको थियो । तर, भूकम्प र भारतीय नाकाबन्दीको बहानामा त्यस अवधि पुनः ६ महिना पर धकेलिएको छ । यसले उपत्यकावासी थप निराश मात्रै छैनन्, मेलम्चीको पानी काठमाडौंमा आउने तिथि मिति फेरि कतिपटकसम्म सर्ने हो भनेर यकिन गर्न उनीहरूले सकेका छैनन् ।

स्वच्छ खानेपानी पाउनु आमजनताको मौलिक हक हो । यसैले पनि मेलम्चीको पानी केवल उपत्यकावासीको मात्रै होइन सरकारका लागिसमेत महŒवाकांक्षी योजना हो । संसद्को विकास समितिले समेत निर्धारित समयमा काम सक्न सम्बद्ध निकायलाई पटक–पटक ध्यानाकर्षण गराउँदै आएको छ । तर, आयोजनाको कार्यप्रगतिलाई आधार मान्दा फेरि अर्को बहानामा आयोजना सम्पन्न हुने मिति नसर्ला भन्न सकिन्न † २०५५ सालमा एसियाली विकास बैंकको आर्थिक तथा प्राविधिक सहयोगमा सुरु गरिएको आयोजनाले बितेका १६ वर्षमा २६ मध्ये २० दशमलव ६१ किलोमिटर सुरुङ निर्माण कार्य र ९६ प्रतिशत पानी प्रशोधन केन्द्र निर्माणको काम पूरा हुनु मेलम्चीको धीमा गतिको राम्रो दृष्टान्त हो । सिन्धुपाल्चोकको हेलम्बुस्थित मेलम्ची नदी मुहानबाट काठमाडौंको सुन्दरीजलसम्म २६ किलोमिटर लामो सुरुङ निर्माण गरी १७ करोड लिटर पानी उपत्यका ल्याउने योजना सरकारको छ । जसअनुसार चालू आर्थिक वर्षको असोजसम्ममा भौतिक प्रगति ८९ दशमलव शून्य ३ प्रतिशत भएको छ । यसरी हेर्दा थोरै प्रगति भए पनि काम सम्पन्न हुनुमा निरन्तर ढिलाइ उचित हुन सक्दैन ।

आयोजना सुरु गर्दा काठमाडौं उपत्यकाका तत्कालीन १८ लाख जनसंख्यालाई पर्याप्त हुने अनुमान गरिए पनि यस अवधिमा यहाँको जनसंख्या ४० लाख नाघेको छ । मेलम्चीको पानी आए पनि उपत्यकावासीले पर्याप्त मात्रामा पानीको उपभोग गर्न पाउनेछैनन् । यस अर्थमा उपत्यकावासीको पानीको आवश्यकता पूरा गर्न आयोजनाको दोस्रो चरणको रूपमा यांग्र्री र लार्के खोलाबाट ३४ करोड लिटर पानी ल्याउन अत्यावश्यक छ । आयोजनाले पहुँच मार्गको १० किलोमिटर ट्र्याक खोल्ने कामसमेत सुरु भएको जनाएको छ । यो काम सकारात्मक भए पनि यसैलाई बहाना बनाएर मेलम्ची आयोजनामा थप ढिलाइ गर्नु उचित हुँदैन । मेलम्चीजस्तै अरू ठूलो आयोजना बने पनि उपत्यकामा त्यही अनुपातमा जनसंख्या वृद्धि हुने हुँदा खानेपानी संकलनका अन्य वैकल्पिक आधारसमेत तय गर्नुपर्ने देखिन्छ । अकासे पानी संकलन कार्यलाई समेत तदारुकताका साथ अघि बढाउने हो भने सर्वसाधारणले राहत पाउँछन् भने खेर जाने पानी जम्मा गर्ने संस्कारसमेत विकास हुन्छ ।