डलर ल्याउन निजी बैंकलाई नै प्रोत्साहन गर्नुपर्छ

डलर ल्याउन निजी बैंकलाई नै प्रोत्साहन गर्नुपर्छ

नेपालको बैंक तथा वित्तीय क्षेत्रमा समय समयमा विभिन्न किसिमका तरंग आउने गर्दछन् । त्यसै क्रममा पछिल्लो समयमा अमेरिकी डलरको अभावको विषय निकै नै चर्चामा छ । मुलुकको अर्थतन्त्र सन्तुलित नै रहेको भए पनि एकाएक डलरको अभाव भए पनि यसले राष्ट्र बैंकका साथसाथै सिँगो बैंकिङ क्षेत्रलाई नै तरंगित बनाएको छ । लामो समयसम्म राष्ट्र बैंकका महŒवपूर्ण विभागमा रही समग्र बैंकिङ संस्थालाई नजिकबाट निकाल्नेमध्ये पूर्वकार्यकारी निर्देशक सुशीलराम माथेमा एक हुन् । राष्ट्र बैंकमा ३० वर्ष लामो सेवा गरी अघिल्लो वर्ष सेवानिवृत्त भएका माथेमा आफ्नो कार्यकालमा प्रस्ट, निडर र खरो स्वभावका व्यक्तिका रूपमा चिनिन्छन् । थाइल्यान्डको थामसात युनिभर्सिटी अर्थशास्त्रमा स्नातकोत्तर माथेमाले सहायक अधिकृतको रूपमा सेवामा प्रवेश गरी कार्यकारी निर्देशकसम्मको जिम्मेवारी पूरा गरे । उनले इन्टरनेसनल मनिटरी फन्ड (आईएमएफ) मा वरिष्ठ सल्लाहकारको भूमिकासमेत निर्वाह गरिसकेका छन् । समस्याग्रस्त सहकारी जाँचबुझ आयोगको सदस्य भई कार्य सम्पादन गरिसकेका माथेमाले विभिन्न बैंक तथा वित्तीय संस्थाको सञ्चालकको जिम्मेवारीसमेत सम्हालिसकेका छन् । बैंक तथा वित्तीय क्षेत्रमा अहिले देखिएको अमेरिकी डलरको अभाव र त्यसको निराकरणका लागि केन्द्रीय बैंकले चाल्नुपर्ने तत्कालीन तथा दीर्घकालीन कदमलगायत विषयसँग सम्बन्धित रही माथेमासँग राजधानीका लागि शिव दुवाडीले गरेको कुराकानीको संक्षेप ः

interview

 सुशीलराम माथेमा

पूर्वकार्यकारी निर्देशक, नेपाल राष्ट्र बैंक

० अहिले बजारमा अमेरिकी डलरको अभाव छ । किन अभाव भएको हो ?

– अहिले हमीकहाँ अमेरिकी डलरको अभाव भएको सही कुरा हो । यसका विभिन्न कारणहरू छन् । अहिले हाम्रोमा नगदको मात्रै अभाव हो । राष्ट्र बैंकका विभिन्न देशमा रहेका रिजर्भ फन्डमा प्रशस्त डलर छ । तर, अहिले भएको चाहिँ के हो भने यतिबेला नेपालमा क्यास डलर आउनेक्रम घटेको छ । पर्यटक कम आउन थालेका छन् । पर्यटकहरू नेपाल आउँदा पनि यसअघि क्यास नै लिएर आउँथे । तर, पछिल्लो समयमा बैंकिङ क्षेत्रमा विद्युतीय कारोबार बढी हुन थाल्यो । मान्छेले क्यासको विकल्पमा विभिन्न किसिमका इलेक्ट्रोनिक्स कार्डहरूको प्रयोग गर्न थाले । यसले गर्दा मान्छेले नगद पैसा लिएर आउने क्रम घट्यो । नगद ल्याउँदा चोरीको पनि डर रहने सम्भावना रहन्छ । त्यस्तै हराउन सक्ने पनि हुन्छ । त्यसैले यो असर सिधै इलेक्ट्रोनिक कारोबारमा देखिन थाल्यो । यसबाहेक डलर अभाव हुनुका अन्य कारण पनि छन् । जस्तो कि अहिले कामका लागि नेपालबाट विदेश जानेहरूको संख्या घट्दै गएको छ । यो संख्या घट्दा उनीहरूले कमाएर पठाउने पैसा पनि घट्नु र त्यसको असर अहिले देखिनु स्वभाविकै हो । हामीले यससम्बन्धी प्रक्षेपण धेरै अगाडि नै गरिसकेका पनि थियौं । यिनीहरू अफिसियल कारण हुन् ।

अर्को अनअफिसियल कारण के हो भने बजारमा विदेशबाट आउने पैसा हुन्डितर्फ डाइभर्ट भएको सुनिएको छ । यस्तो कारोबार गर्नेले विदेशबाट आउन लागेको पैसा त्यसै राख्ने र पैसा नेपाल पठाउन खोज्नेलाई नेपाली पैसा नै उपलब्ध गराउने गरेको सुनिएको छ । यो गम्भीर समस्या हो । यसतर्फ विशेष चनाखो हुन जरुरी छ । यस्तो काम बेलाबखत भई नै रहन्छ भन्ने सुनिएको पनि छ ।

० बजारमा देखिएको अभाव कत्तिको वास्तविक हो ?

– नेपालसँग वैदेशिक मुद्राको सञ्चिती प्रशस्त छ । तर, त्यो पैसा एजेन्सी बैंककोमा गएर बसेको छ । यहाँ नगदको अभाव भयो । अहिले विदेश जानेको प्रतिव्यक्ति ५ हजार डलर विदेश जान पाउने सुविधा छ । डलरको अभाव भएको भए त्यो हुँदैनथ्यो । तसर्थ समस्या भएको हो । यसलाई सही तरिकाले सम्बोधन गरेर समाधानको पहल गर्नु पर्दछ ।

० त्यसो भए अहिलेको समस्या नगदको मात्र हो त ?

– हो, अहिले हामी कहाँ देखिएको समस्या नगद डलरको मात्र हो । अन्य माध्यम प्रयोग गर्नेलाई कुनै समस्या छैन । नगदको समस्या चाहिँ भएकै हो । नेपालीहरूले पनि विदेशीले जस्तै डेबिट कार्ड र क्रेडिट कार्ड चलाउने हो भने समस्या पर्दैन । बैंकिङ क्षेत्रमा फाइनान्सियल लिटे«सीको खाँचो छ । केन्द्रीय बैंकले यो व्यवस्था गर्नु पर्दछ । नेपालीहरूलाई कन्फिडियन्स नै छैन । त्यही कारणले उनीहरूले विदेशीले जस्तो भिसा कार्ड, डेबिट कार्डजस्ता, ट्राभल्स चेकजस्ता माध्यमको प्रायोग गर्न खोज्दैनन् । उनीहरूलाई यसबारे प्रशस्त जानकारी दिन र प्रविधिमैत्री बनाउन सकियो भने समस्या धेरै हदसम्म समाधान हुन्छ ।

० यो समस्याको समाधान कसरी सम्भव हुन्छ ?

– राष्ट्र बैंकले सिंगापुरबाट १ करोड डलर ल्याउँदै छ । त्यसमा २७ लाख खर्च भयो । म आफू पहिला बैंकिङ क्षेत्रको कार्यकारी निर्देशक भएको हुनाले त्यतिबेला भारतीय रुपैयाँको यस्तै फिजिकल सर्टेज भएको थियो । त्यतिबेला म आफू कोलकाता गएर त्यहाँको बैंकसँग सल्लाह गरी १ करोड जति भारु प्लेनबाट ल्याउनुपरेको थियो । र, त्यस्तो बेलाबखत चलिरेकै छ । अहिलेको सिंगापुरको प्रकृया पनि त्यस्तै देखिएको छ । त्यसमा कस्ट त छ । अहिले इलेक्ट्रोनिक ट्रान्जेक्सनले गर्दा यो अभाव भएको र हुने समस्या अब सधैं रहिरहन्छ । त्यसकारण पटक पटक समाधान गर्नुभन्दा दिगो समाधानतर्फ लाग्नु पर्दछ ।

० के हो दिगो समाधान ?

– अहिले बजारमा अभाव सुरु भएपछि २÷४ वटा बैंकले डलर ल्याउन खोजेका पनि थिए । तर, राष्ट्र बैंकले स्वीकृति दिएन । किनभने त्यो डलर उनीहरूले ल्याउँदा खर्च त लाग्छ । त्यसमा कुरा मिलेन । तर, मेरो विचारमा राष्ट्र बैंकले १ करोड डलर ल्याउँदा २७ लाख खर्च हुने भनेको छ । त्यो सरकारी टे«जरीबाट खर्च भए जस्तै हो । त्यो भनेको जनताको ट्याक्स तिरेको पैसा खर्च भयो । त्यसमा बैंक तथा वित्तीय संस्थाहरूले सहयोग गर्नुपर्दछ । नाकाबन्दी र भूकम्पको बेलामा पनि १ सय २० देखि १ सय ३० प्रतिशत नाफा गर्न सक्ने संस्थाले ढुवानी खर्च बेहोर्दा केही फरक पर्दैन । त्यस्ता संस्थाले आफूलाई चाहिले डलर ल्याँउदा जनताप्रति सदासयता देखाउने आँट गर्नुपर्दछ । नाफा नै नगरेको भए र घाटामा जाने अवस्था भएको भए उनीहरूले त्यसो नगर्ने हो ।

बजारमा विदेशबाट आउने पैसा हुन्डितर्फ डाइभर्ट भएको सुनिएको छ

नेपालीले पनि विदेशीले जस्तै डेबिट कार्ड र क्रेडिट कार्ड चलाउने हो भने समस्या पर्दैन

नाकाबन्दी र भूकम्पको बेलामा पनि १ सय २० देखि १ सय ३० प्रतिशत नाफा गर्न सक्ने संस्थाले ढुवानी खर्च बेहोर्दा केही फरक पर्दैन

पछिल्लो आधा दशकमा मुलुकका बैंक तथा वित्तीय क्षेत्रमा राम्रा काम भएको विश्लेषण गर्न सकिन्छ

अब त यो समस्या निरन्तर नै जारी रहन्छ । अहिले चालिएको कदम लाई तत्कालीन समस्या साधानको रूपमा लिनु पर्दछ । अब दीर्घकालीन रूपमा समस्या समाधानका लागि डलर ल्याउने कार्य गर्न बैंकहरूलाई नै दिनुपर्दछ । त्यसमा सके जति खर्च बैंकले नै बेहोर्ने र केही राष्ट्र बैंकले हेरेर बैंकहरूलाई सामान्य राहत दिने जस्तो काम गर्नुपर्दछ । यसले गर्दा सबैको भूमिका देखिन्छ । अहिलेको आवश्यकता त्यो हो । यसलाई मध्यकालीन समाधानको रूपमा लिन सकिन्छ । दिगो समाधान भनेको त नेपाली जनतालाई इलेक्ट्रोनिक कारोबारमा लैजाने गर्नुप¥यो । अझै पनि मुलुकमा एक तिहाइभन्दा कम मात्रै मानिसमा बैंकिङ सेवाको पहुँच पुगेको तथ्यांक छ । यस्तो अवस्था धेरै राखिरहनु हुँदैन । सबैलाई बैंकिङ क्षेत्रको पहुँच पु¥याउनु पर्दछ । यसबाट विद्युतीय कारोबारलाई बढावा दिन सहयोग पुग्दछ । त्यसले नगद पैसाको अभाव टार्छ ।

० विद्युतीय कारोबार कत्तिको विश्वसनीय हुन्छ ?

– इलेक्ट्रोनिक सिस्टमले कहिलेकाहीँ धोका दिन पनि सक्छ । म पनि विदेश जाँदा एकपटक त्यो समस्या परेको छ । तर, कुनै ठाउँमा जाँदा क्रेडिट कार्डले काम नगर्ने अवस्था आयो भने प्रत्येक बैंकको एजेन्सी बैंक त सबै देशमा हुन्छ । ती बैंकमार्फत त्यो समस्या तत्काल समाधान गर्ने व्यवस्था गरिनु पर्दछ । यसो भयो भने क्रेडिट कार्डको विश्वसनीयता बढ्दछ । विदेशमा क्रेडिट कार्ड ह्याक गरेर पैसा निकाल्यो भने त्यो पैसा सम्बन्धित बैंकले नै तिर्ने चलन छ । उनीहरूले धेरै राम्रो मनिटर गर्दछन् । कुनै शंका लागेमा वा गडबडी भए तुरुन्तै उनीहरूले भेरिफाइ गर्दछन् । तर, नेपालमा त्यो समस्या छ । नेपाली बैंकहरू यसतर्फ लाग्नु पर्दछ । यसतर्फ राष्ट्र बैंकले पनि बैंकहरूलाई यस्तो गर्न बाध्य बनाउनु पर्दछ । उनीहरूले पैसा मात्र कमाउने दाउ गर्नु हुँदैन ।

० राष्ट्र बैंकको पछिल्लो निर्णय जुन धेरै चर्चामा पनि छ, यसलाई कसरी लिन सकिन्छ ?

– यहाँले विदेशीले लैजाने मुनाफाको कुरा गर्नुभएको होला । लगानी गरेर कमाएको पैसाको निश्चित प्रतिशत मुनाफा बाहिर लैजान पाउने प्रस्ट कानुनी व्यवस्था छ । तर, अहिलेको प्रसंगमा जति लगानी भएको दाबी गरिएको छ, त्यो लगानी कहाँबाट कहिले र कसरी आयो भन्ने खुल्न सकेको छैन । त्यसैले यो समस्या आएको हुनुपर्दछ । त्यही कारणले यो विवाद आएको हो । यसमा राष्ट्र बैंक मुख्य जिम्मेवार रहनु पर्दछ । अहिले राष्ट्र बैंकले यो वा त्यो संस्थालाई दोष देखाएर बस्न मिल्दैन । बैंकिङ क्षेत्रको कारोबार भएको हुनाले जसले जे भने पनि सम्बन्धित कुरा सही हो कि होइन र त्यो करोबार नियमसम्बद्ध छ छैन त्यो जाँची बुझी दिएको भए राम्रो हुन्छ । त्यो काम दूरसञ्चार प्राधिकरण र उद्योग विभागले हेर्ने होइन नि । पैसाको मामलामा त राष्ट्र बैंक संवेदनशील हुनुपर्ने हो । त्यो भएको देखिएन ।

० समग्रमा नेपालको बैंकिङ संस्थाको विद्यमान अवस्थालाई कसरी हेर्नुभएको छ ?

– यस क्षेत्रमा विस्तारै सुधार भइरहेको छ । पहिला पहिला देखिएका कमजोरीमा धेरै नै सुधार भइसकेका छन् । खासगरी यसभन्दा अघिल्लो नेतृत्वले यस क्षेत्रको सुधारका लागि ठूलो भूमिका खेल्यो । त्यसले गर्दा अहिले समग्र बैंकिङ क्षेत्र बलियो मात्र भएको छैन, एक किसिमको विधि बनेको छ । त्यसैका अधारमा काम हुनु पर्दछ ।

खासगरी विभिन्न क्षेत्रका सिलिङ तोक्ने र बैंक तथा वित्तीय संस्थाको अनुगमन तथा नियमनको कार्यलाई त्यतिबेला बढावा दिने कार्य भयो । त्यसक्रममा विभिन्न बैंक तथा वित्तीय संस्थाको नेतृत्व तथा सञ्चालकका धेरै बदमासी भेटिए । त्यस्ता बदमासीको निक्र्योल गरी समयमा नै त्यसलाई समाधान गर्न सकिएकाले अहिले ठूलो समस्या आउनबाट रोकियो । यसर्थ पछिल्लो आधा दकममा मुलुकको बैंक तथा वित्तीय क्षेत्रमा राम्रा काम भएको विश्लेषण गर्न सकिन्छ ।

० बैंक तथा वित्तीय संस्थाको सुधारका लागि यसअघि चालिएका कदम कस्ता छन् ?

– बैंक तथा वित्तीय संस्था आफैंमा अत्यन्तै संवेदनशील क्षेत्र हुन् । यी संस्थामा हुने एउटा सामान्य गल्तीले ठूलो समस्या सिर्जना गर्दछ । यस्ता संस्था सर्वसाधारणको पुँजीमा निर्भर हुने हुनाले यो क्षेत्रलाई बढी संवेदनशील क्षेत्रका रूपम हेरिएको हो । यसर्थ अन्य संस्थाको तुलनामा यी संस्थामा बढी नै नियमनकारी निकायको निगरानी रहन्छ र हुनुपनि पर्दछ । यसले गर्दा सर्वसाधारणको पुँजी डुब्न पाउँदैन । नियमनकारी निकायको ध्यान नपुग्दा विगतमा केही अनियमितता समेत भएको देखियो । तर, पछिल्लो समयमा त्यस्ता गतिविधि क्रमिक रूपमा कम भएका छन् । मुलुकमा वित्तीय स्थायित्व कायम गर्न धेरै नै कठिनाइ बेहोर्नुपर्ने अवस्था आउँछ । तर, कार्यसम्पादनमा संयमता अपनाउन सक्नु पर्दछ ।

केन्द्रीय बैंक एउटा स्वायत्त संस्था हो । विकसित देशमा स्वायत्त संस्थाको रूपमा रहने केन्द्रीय बैंकको अत्यन्तै न्यून हस्तक्षेप हुन्छ । तर, विकासशील देशहरूमा तुलनात्मक रूपमा हस्तक्षेप बढी नै हुने गर्दछ । यस्तो निकायलाई स्वतन्त्र छोड्दा नै उसलाई तोकेको जिम्मेवारी पूरा गर्न सहज हुन्छ ।

० बैंक तथा वित्तीय संस्थाको सेवा र पहुँचलाई कसरी लिन सकिन्छ ?

– अहिले च्याउ उम्रिएजसरी बैंक तथा वित्तीय संस्थ सञ्चालनमा आएका छन् । यस्ता संस्था सञ्चालनमा आए पनि अझै पनि यस्ता संस्था सहरमुखी भएका छन् । जसका कारण ग्रामीण भेगमा प्रभावकारी रूमपा बैंकिङ सेवा पुग्न सकेको छैन । यसले गर्दा संख्यात्मक रूपमा गनेर मात्र केही हुँदैन । वास्तविक रूपमा आमजनताले यो सेवा उपभोग गर्न पाउनु पर्दछ । सहरी क्षेत्रमा ठूलो रकम परिचालन भएको छ । तर, गाउँमा धेरै समस्या छन्  । यसतर्फ ध्यान पुग्ने गरी नीति बन्न आवश्यक छ । यसका लागि सबैभन्दा पहिले प्रस्ट नीति बनाउन सक्नुपर्दछ । हुन्डिजस्ता कार्यलाई बैंकिङ च्यानलमार्फत करोबार गराउने, गाउँगाउँसम्म सेवा विस्तार गर्ने, बैंकिङ संस्थाको पहुँच बढाउने, उपभोक्तामुखी सेवा प्रवाह गराउनेलगायत कार्य गर्न जरुरी छ ।

 

Leave A Reply

Your email address will not be published.