सुदूरका शक्तिपीठहरूमा भव्य मेला

sudur

सुदूरपश्चिमकै प्रसिद्ध एक दर्जन शक्तिपीठहरूमा दिवा तथा रात्रि मेला (जात्रा) भर्न आउनेहरूको घुँइचो लागेको छ । दसैंतिहार सकिएलगतै अछाम, डोटी, डडेल्धुरा, बाजुरा, बझाङ र दार्चुला जिल्लाका विभिन्न शक्तिपीठहरूमा मेला लाग्ने गर्छन् ।

कुल देवताको पूजासहित विभिन्न देवताका धामी नाच्ने परम्परा रहिआएकाले पनि यतिबेला शक्तिपीठहरूमा भीडभाड बढेको हो । १० दिनसम्म लाग्ने अछामको केदारनाथ मेलामा त झन दर्शनार्थीको ओइरो नै लागेको छ । धामी नाच हेर्नकै लागि जिल्लाका विभिन्न ठाउँ तथा छिमेकी जिल्ला डोटी, कैलाली र सुर्खेतबाट समेत मानिसहरू आउने गर्छन् । कात्तिक शुक्लपञ्चमीदेखि चर्तुदशीसम्म विशेषगरी दूध चढाएर देवताको पूजा गर्ने चलन रहिआएको छ ।

कतिपय ठाउँमा भने बोकाको बलिसहित पूजा गर्ने परम्परा छ । आइतबार कमलाबजार–१ को केदारमाडुमा छडाल र केदार देवताका धामीको नाचसँगै केदारनाथको पूजा सकिएको छ ।

सताब्दियौंअघि यहीबेला अन्न, पशु र सन्तान नहुँदा प्राप्तिका लागि गरिएको प्रार्थनामा सबै मनोकांक्षा पूरा भएको किम्बदन्ती छ । त्यहीबेलादेखि केदारनाथ मेला सुरु भएको मूलपुजारी मनिराज खतिवडाले बताए ।

डडेल्धुराको प्रसिद्ध उग्रतारा, डागेश्वरी, वीरबेताल, बडालजात, डोटीको शैलेश्वरी, दुर्गाजात र बझाङको सुर्मादेवीमा पनि मेला लागिरहेका छन् । बैतडीको रणसैनी, त्रिपुरासुन्दरी, निङलासैनी, दार्चुलाको मालिकार्जुन धाम, लटिनाथलगायतका देवस्थलमा पनि मानिसहरूको भीड लागेको छ ।