भारु नोट व्यवस्थापन छिटो हुनुपर्छ

भारु नोट व्यवस्थापन छिटो हुनुपर्छ

भारतले गत साताबाट ५ सय र हजार रुपैयाँ दरका भारतीय नोटको कारोबारमा प्रतिबन्ध लगाएपछि भारतभर त्यसको असर देखिएको छ भने त्यसले नेपालमा समेत ठूलै प्रभाव पारेको छ । नेपालमा रहेका ती नोटको अवस्था अब के हुने, नोटको सटही हुने÷नहुने ? निश्चित हुन नसक्दा त्यसले अन्योल बढाएको छ । नेपाल–भारतबीचको खुला सिमाना र भारतीय रुपैयाँमार्फत पनि ठूलो व्यापारिक कारोबार हुने कारण भारतीय रुपैयाँमाथिको प्रतिबन्धले नेपालमा पनि असर परेको हो । भारतको पछिल्लो निर्णयले भारु सञ्चय गरेका नेपाली मर्कामा परेका छन् । नेपाल राष्ट्र बैंक तथा अर्थमन्त्रालय स्ययं पनि भारतीय नोट सहटीका लागि सहजीकरण गर्न लागिपरेको छ । त्यसो हुँदाहुँदै पनि भारतीय पक्षबाट नेपालमा रहेका नोटबारे के गर्ने भन्ने निर्णय नआइसकेका कारण अन्योल नै रहेको छ । यसै विषयमा सरकारी तथा निजी क्षेत्रका विभिन्न व्यक्तिसँग राजधानीका लागि शिव दुवाडीले गरेको कुराकानीको संक्षेप :

 

गम्भीर समस्या निम्तिन सक्छ

pashupati-murarka-1

पशुपति मुरारका
अध्यक्ष, नेपाल उद्योग वाणिज्य महासंघ

भारत सरकारले भारतीय रुपैयाँ १ हजार र ५ सय दरका नोटमा प्रतिबन्ध लगाएपछि त्यसको असर नेपाली बजारमा पनि पर्ने भएको छ । खुला सिमानाका कारण भारत र नेपालका सीमावर्ती बजारमा दुवै देशका मुद्रा चल्ने गरेको, नेपालीले भारतमा काम गरेर कमाएको पैसा नगदमै नेपाल ल्याउने गरेका कारण चलनचल्तीमा रहेका भारुको व्यवस्थापनजस्ता विषयमा समस्या आउने देखिएको हो ।
भारतले नक्कली नोटको कारोबार बढेर अर्थतन्त्रमै संकट आउन थालेको भन्दै ५ सय र १ हजार दरका नोटको कारोबारमा रोक लगाएपछि त्यसको विकल्पमा नयाँ नोट ल्याउन लागेको छ । भारतले ५ सय दरको नयाँ नोट ल्याउन लागेको छ भने १ हजार दरको सट्टा एकैपटक २ हजार दरको नोट ल्याउन लागेको छ । नयाँ नोटमा आधुनिक सेक्युरिटी फिचर्सहरू समावेश गरिएको जनाइएको छ । यसले भारतीय पक्षको चाहनाअनुसार अवैध सम्पत्तिमाथि गिरानी गर्न सहयोग पुग्ला । नेपालको मामला निकै फरक छ । नेपाल भारतबीच खुला सीमा छ ।
दुई देशबीच उच्च व्यापारिक कारोबार हुँदै आएको छ । आवश्यक पर्दाका अवस्थामा तत्काल नपाइने हुनाले मानिसहरूले आफ्नो आवश्यकतानुसार भारतीय पैसा राखेको अवस्था छ । अब एकाएक भारतले ५ सय र हजार दरका नोटको कारोबारमा प्रतिबन्ध लगाएको अवस्था छ । यस्तो अवस्थामा नेपालीमाथि मर्का पर्न नदिन राज्यले तीव्र पहल कदमी गर्न आवश्यक छ । अन्यथा यसले नेपाली अर्थतन्त्रमा नै असर गर्न सक्नेसम्मको अवस्था आउनसक्छ । यसतर्फ सम्बन्धित निकाय  गम्भीर हुनुपर्छ ।

भारत काम गर्न जानेहरूको बाहुल्य रहेका ग्रामीण क्षेत्रमा अझै पनि भारु चलनचल्तीमा रहेकाले त्यस्ता नोटको उचित व्यवस्थापन गर्न नसकिए गरिब नेपालीको आर्थिक अवस्था अझ दयनीय हुने र त्यसले शान्ति सुव्यवस्थादेखि गरिबी निवारण र आर्थिक वृद्धिको राष्ट्रिय लक्ष्यमा नै गम्भीर नकारात्मक असर पर्ने  देखिएको छ ।
भारतको केन्द्रीय बैंक रिजर्भ बैंक अफ इन्डिया (आरबीआई) भारु सटहीका लागि सकारात्मक रहेको भन्ने मात्र सुन्नमा आएको छ । राष्ट्र बैंकका अधिकारीहरूले आरबीआईका अधिकारीहरूलाई टेलिफोन सम्पर्क गरेर पनि त्यस्तो व्यवस्थाका लागि आग्रह गरेको भन्ने मात्रै छ । राष्ट्र बैंकको यस्तो औपचारिक र अनौपचारिक आग्रहलाई आरबीआईले सकारात्मक रूपमा लिएको छ ।

कूटनीतिक पहल भइरहेको छ

bhishma-dhungana

भीष्म ढुंगाना
कार्यकारी निर्देशक, नेपाल राष्ट्र बैंक, वैदेशिक मुद्रा व्यवस्थापन विभाग

पछिल्लो समयमा भारतले ५ सय र हजार दरका नोटमा प्रतिबन्ध लगाएपछि त्यसको प्रभाव नेपाली बजारसम्म आइपुगेको छ । नेपालमा पनि भारतीय ५ सय र हजारका नोट निर्वाध रूपमा चलनचल्तीमा रहेको साथै नेपालको भारतसँग खुला सिमानाका कारण सीमाक्षेत्रमा भारतीय रुपैयाँमा समेत कारोबार हुने गरेका कारण नेपालमा पनि भारतीय नोट धेरै भएको अनुमान छ । ती नोटको व्यवथापनका लागि भारु व्यवस्थापन समिति नै गठन भइसकेको छ । त्यसले काम सुरु गरिसकेको छ । भारत सरकारले १ हजार र ५ सय दरका भारतीय रुपैयाँ (भारु) नोटमाथि प्रतिबन्ध लगाएपछि त्यसको असर तत्कालै नेपालमा परेको छ । नेपाल राष्ट्र बैंकले सबै बैंक तथा वित्तीय संस्था र मनि चेन्जरहरूलाई बुधबार बिहानै पत्राचार गरेर हजार र ५ सय दरका भारु सटही नगर्न निर्देशन दिएको छ ।

भारत सरकारकोे निर्णयका कारण यी दरका नोट नेपालमा अब चल्नेछैनन् । नेपाल र भारतको सीमावर्ती बजारहरूमा दुवै देशका नोट कारोबार गर्ने प्रचलन रहेको र भारतबाट नेपाली वा भारतीय नागरिकले सो दरका २५ हजार रुपैयाँसम्म नोट ल्याउन दिने यसअघिको व्यवस्थाका कारण नेपालको बैंकिङ प्रणाली र सर्वसाधारणसँग समेत ठूलो परिमाणमा सो दरका भारु नोट भएको आँकलन गरिएको छ । तर, सो दरका कति नोट नेपालमा छन् भन्ने यकिन तथ्यांक राष्ट्र बैंकसँग पनि छैन । नेपालमा हजार र ५ सय दरका भारु नोट १२ फागुन २०७१ अघिसम्म चलाउन प्रतिबन्ध लगाइएको थियो । सो मितिमा नेपाल राष्ट्र बैंकले नीतिगत व्यवस्था गरी सो दरका भारु पनि चल्ने र नेपाली तथा भारतीय नागरिकले २५ हजार रुपैयाँसम्मका सो दरका नोट नेपाल ल्याउन सक्ने व्यवस्था गरेको थियो ।

indian-rupees

भारतले नै हजार र ५ सय दरका नोटमाथि प्रतिबन्ध लगाएपछि नेपाल राष्ट्र बैंकले सटही सुविधा दिन नसक्ने अवस्था छ । यसैकारण, बुधबार बिहानै सबै बैंक तथा वित्तीय संस्था र मनि चेन्जरहरूलाई सो दरका नोट सटही नगर्न परिपत्र गरिसकिएको छ । नेपालमा भएका हजार र ५ सय दरका भारु नोटको व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा कूटनीतिक पहल थालेका छौं । तत्कालका लागि यी दरका नोट कहीँ कतै चल्दैनन् । पछि कुनै व्यवस्था भयो भने सर्वसाधारणलाई जानकारी गराउँछौं ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार राति राष्ट्रका नाममा सम्बोधन गर्दै हजार र ५ सय दरका भारु नोट नचल्ने घोषणा गरेका थिए । सो घोषणा कार्यान्वयनका लागि भन्दै दुई दिनसम्म भारतका सबै बैंक तथा वित्तीय संस्था बन्द गरिएका छन् । यस्तै, एटीएम पनि बन्द गरिएको छ । भारत सरकारको सो कदमलगत्तै बुधबार बिहान राष्ट्र बैंकले सबै बैंक तथा वित्तीय संस्थालाई सो दरका नोट सटही नगर्न पत्राचार गरेको हो ।

राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले भारतीय रिजर्भ बैंकका डेपुटी गभर्नरलाई फोन गरेर नेपाल राष्ट्र बैंक, नेपालको बैंकिङ क्षेत्र र नेपाली सर्वसाधारणसँग भएका सो दरका भारुको व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा कुराकानी गरिसकेका छन् । भारतीय दूतावासका अधिकारीसँग पनि यस विषयमा कुराकानी भएको छ ।
नेपाल राष्ट्र बैंकले राष्ट्र बैंक, अर्थ मन्त्रालय, राजदूतावास र परराष्ट्र मन्त्रालयमार्फत कूटनीतिक पहल गरेर समस्या समाधानको उपाय सुरु गरिसकेको छ । यस्तो पहल गर्न नेपालको औपचारिक प्रणालीमा सो दरका नोट कति छन् भन्ने गणना गर्ने कार्य अगाडि बढेको छ । हजार र ५ सय दरका भारु नचल्ने भएपछि नेपालमा सो परिमाणका नोट कति छन् र त्यसको व्यवस्थापन कसरी गर्ने भन्ने निर्णयमा पुग्न नेपाल राष्ट्र बैंकले सबै सरोकारवालालाई हजार र ५ सय दरका नोट गन्न निर्देशन दिएको हो । नेपाल राष्ट्र बैंकले भारतमा अध्ययन, भ्रमण र स्वास्थ्य उपचारका लागि जाने नेपालीलाई औपचारिक रूपमा भारु सटही गरिदिने गरेको छ । यस्तो सजिलो र बोक्न थोरै हुने भएका कारण यस्तो प्रयोजनका लागि लिइने भारु १ हजार र ५ सय रुपैयाँ दरका पनि हुने गरेका छन् । यस्ता नोटहरू राष्ट्र बैंक आफैंले अब फिर्ता लिने कि नलिने भन्ने प्रस्ट नभएको अवस्था छ ।

पहल भइरहेको छ

dr
पुण्यप्रसाद रेग्मी
वरिष्ठ आर्थिक सल्लाहकार, अर्थ मन्त्रालय

दिनदिन गम्भीतापूर्वक कुरा भइरहेको छ । लिखित भएको छैन । भारतीय पक्ष सकारात्मक देखिएको छ । केही व्यापारमा संलग्न नेपालीसँग पनि पैसा छ । व्यक्तिगत रूपमा पनि सुदूरपश्चिम र मध्यपश्चिमका मानिस रोजगारीका लागि भारत नै जाने एवं त्यताबाट पनि भारु आउने गरेको छ ।
भारतीय नागकिले साट्ने जुन सुविधा पाएका छन् नेपालीले पनि त्यही पाउनुपर्छ भन्ने हो । अर्थमन्त्री, गभर्नर, प्रधानमन्त्रीसम्मको पनि भारतीय रुपैयाँबारे कूटनीतिक समाधानका लागि पहल जारी छ । भारतका लागि राजदूतले पनि सक्रियता देखाउनुभएको छ ।
वैंक वित्तीय संस्थाको रकम यकिन भए पनि बाहिर के कति छ ? त्यो प्रस्ट छैन । धेरै भएको अनुमान छ । विवरण पेस भएपछि मात्र भन्न सकिन्छ । नेपाली जनताले र संघसंस्थाले राम्रो उद्देश्य र विधिपूर्वक राखेको रकम साट्न पाउनुपर्छ । राष्ट्र बैंकले, अर्थ मन्त्रालय, परराष्ट्र मन्त्रालय, भारतीय राजदूतावासलगायतका निकायबाट अलगअलग पहल भइरहेको छ । आरबीआईले नेपालबाट गएको पत्रका साथ पठाएको रायमा नेपालले उठाएको विषय सान्दर्भिक र जायज भएकाले उचित व्यवस्था गर्ने प्रस्ट संकेत गरिसकेको छ ।
नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था, होटल, ट्राभल एजेन्सी र मनि चेन्जरहरूमा करिब ३ करोड भारु रहेको अनुमान छ । भर्खरै सकिएका दसंै र तिहारजस्ता ठूला चाडका कारण पनि अनौपचारिक माध्यमबाटै निकै ठूलो राशिमा यस्ता नोटहरू नेपाल भित्रिएका हुनसक्ने अनुमान गरिएको छ । संसद्को अर्थसमितिसमेत नेपालीसँग रहेका ५ सय र हजार दरका भारुको सटही प्रक्रिया सहज बनाउन सरकारलाई निर्देशन दिएको छ । सिंहदरबारमा बिहीबार बसेको अर्थसमितिको बैठकले नेपाली जनतासँग रहेका वैध भारुको व्यवस्थापनका लागि चाँडो पहल गर्न अर्थमन्त्रालय र नेपाल राष्ट्र बैंकलाई निर्देशन दिएको हो ।
बैठकमा सहभागी सांसदले सीमाक्षेत्रका जनताको समस्या समाधानका लागि सरकारले कूटनीतिक पहल गर्नुपर्नेमा जोड दिएका थिए । उनीहरूले अर्थ मन्त्रालय र राष्ट्र बैंकले विशेष पहल गर्नुपर्नेमा विचार व्यक्त गरेका थिए ।
त्यसक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले नेपाली जनतासँग भएका उक्त दरका भारु व्यवस्थापनका लागि भारतीय रिजर्भ बैंकसँग निरन्तर सम्पर्कमा रहेको भन्दै चाँडै समस्या समाधान हुने विश्वास व्यक्त गरेका थिए । यसर्थ, भारु व्यवस्थापनको समस्या छिट्टै समाधान हुने अपेक्षा हामीले गरेका छौं ।

Leave A Reply

Your email address will not be published.