साउदीमा नक्कली नोट कारोवारको अभियोगमा नेपाली पक्राउ, निर्दाेष रहेको परिवारको दाबी

binodतेह्रथुम जिल्ला मोराहाङ–४ निवासी ३५ वर्षीय विनोद खतिवडालाई साउदी प्रहरीले नक्कली नोट कारोवारको झुटो अभियोगमा पक्राउ गरी हिरासतमा राखेको छ । स्थानीय बैंकको जालसाझीपूर्ण व्यवहारका कारण उनलाई त्यहाँको प्रहरीले पक्राउ गरेको हो । उनलाई पक्राउ गरी कहाँ र कुन अवस्थामा राखिएको छ भन्ने कुरा जानकारी गराइएको छैन । उनी निर्दाेष रहेको परिवारजनको भनाइ छ ।
काठमाडौंको नक्सालस्थित एक ओभरशिजबाट चार महिनाअघि यहाँ आएका खतिवडा १५ नोभेम्बरमा आफू कार्यरत कम्पनीबाट प्राप्त तलव घर पठाउन रियादस्थित स्पिड क्यास मनी ट्रान्सफरमा गएका थिए । त्यसबेला उनीसँग पाँच सय दरका दुई हजार पाँच सय रियाल थियो । त्यसबेला त्यहाँका कर्मचारीले उनलाई ‘तिम्रो पैसा पठाउन अहिले मिल्दैन, तिम्रो परिचय खुल्ने फोटोकपी दिएर जाऊ, हामी पठाइदिन्छौं, भरे बेलुका आउनु’ भन्दै फर्काए । उनी कर्मचारीको विश्वासमा परे । बेलुका जाँदा बैंकभित्र रहेका साउदी पुलिसले उसलाई नक्कली नोटहरूको कारोबार गरेको अभियोगमा पक्राउ गरेको हो ।
पक्राउपछि उनलाई कुन जेलमा राखिएको छ, त्यसबारे कुनै जानकारी हुन सकेको छैन । उनका भाइ केवल खतिवडा कतारमा कार्यरत छन् । भाइ केवलसँग उनको एकपटक टेलिफोन सम्पर्क भएको थियो । सो टेलिफोन सम्पर्कमा पनि उनले राम्रोसँग कुरा गर्न पाएनन् ।
उनीसँगको टेलिफोन सम्पर्कमा विनोदले प्रहरीको भनाइ उद्धृत गर्दै भने, ‘तिम्रो कम्पनीको मान्छे आएर एउटा कागजातमा सिग्नेचर गर्नुपर्छ, अनि तिमीलाई छाड्ने हो ।’
तर, कम्पनीले उनलाई कुनै सहयोग नगरेको उनका भाइ केवलले बताए । उनले नेपाल सरकार, साउदी अरेबियामा रहेको नेपाली राजदूतावासलाई यस विषयमा तुरुन्तै चासो राख्न अनुरोध गरे ।
साउदी जाँदा उनले म्यानपावर एजेन्सीलाई एक लाख ४० हजार रुपैयाँ बुझाएका थिए । उनलाई म्यानपावर एजेन्सीले जुन काम र कम्पनी भनेका थिए, त्यसमा उनले काम गर्न पाएका थिएनन् ।

Leave A Reply

Your email address will not be published.