साउदीको समस्याप्रति सरकार गम्भीर

कामदार सप्लाई कम्पनीमा नेपाली पठाउनेबारे छलफल जारी

राजधानी समाचारदाता
काठमाडांै, १३ मंसिर

सरकारले साउदीका कामदार सप्लाई गर्ने रिक्रुटमेन्ट (एजेन्ट) कम्पनीमा नेपाली कामदार पठाउन बन्द गर्ने बारे छलफल अघिबढाएको छ ।पछिल्लो समयमा यस्ता एजेन्टले लगेका नेपाली कामदार रोजगार नै नपाएर साउदीमा अलपत्र पर्ने क्रम उच्च भएको भन्दै सरकारले छलफल अघि बढाएको हो । त्यसकारण, श्रम तथा रोजगार मन्त्रालयले कामकारको सप्लाई गर्ने रिक्रुटमेन्ट कम्पनीमा कामदार नपठाउने निर्णय हुनसक्ने जनाएको छ ।

मन्त्रालयका प्रवक्ता गोविन्दमणि भुर्तेलले अहिले यस विषयमा व्यापक गुनासो आएकाले सरकारले छलफललाई तीव्रता दिएको बताए । वैदेशिक रोजगार विभागलाई साउदीमा एजेन्टको भरमा कामदार पठाउने क्रम पूर्ण रूपमा बन्द गर्ने या नगर्ने विषयमा छलफल जारी रहेकाले अहिले नै निर्णय भइनसकेको जानकारी गराए । जसमा नेपाली म्यानपावरहरू पनि गैरजिम्मेवार बनेका हुन सक्छन् भन्दै उनले अब कुनै पनि हालतमा त्यस्ता सप्लाई गर्ने एजेन्टलाई नेपाली कामदार लैजान नदिइने विषयमा सरकारले छलफल अघि बढाएको बताए ।

पछिल्लो समयमा यहाँका म्यानपावरले खाडीका देशमा सक्रिय भारतीय, पाकिस्तानी, बंगालीलगायत विभिन्न देशका एजेन्टसँग पैसा लिएर नेपाली कामदार पठाइरहेका छन् । कामदार पठाउँदा काम गर्ने कम्पनी नै तोकिएको हुँदैन । तर, वैदेशिक रोजगार विभागका अधिकारीसँगको मिलोमतोमा कामदारलाई श्रम स्वीकृति दिने गरेको सम्बन्धित क्षेत्रका जानकारहरूको भनाइ छ ।

साउदीमा पुगेपछि एजेन्टहरूले धेरै कादारलाई जोखिमपूर्ण र अप्ठ्यारो काममा लगाउने क्रम निकै बढ्दो छ । कतिले त काम पाएका छैनन् भने कतिलाई अलपत्र छाडेर एजेन्ट नै भागिरहेका छन् । यहाँका म्यानपावरले पनि आफूले पठाएका कामदारको कुनै गुनासो सुन्दैन ।

यसरी लगिएका कामदारलाई साउदीमा भनेजति तलब नदिने मात्रै होइन, समयमै तलब नदिने ठूलो समस्या छ । अब सरकारले आफूले पठाएका कामदारको सम्झौता अवधिभर जिम्मा लिन र अप्ठ्यारो परे आफैंले नेपाल झिकाउन म्यानपावरलाई नै जिम्मेवारी दिने विषयमा सरकार सचेत रहेको छ । पछिल्लो समयमा साउदीमा हजारभन्दा बढी नेपाली कामदार अलपत्र छन् । सरकारलाई औपचारिक उद्धारको अपिल गरे पनि उनीका बारेमा सरकारले चासोसम्म देखाएको छैन । खाडी मुलुकमा भएको तेलको मुल्य घट्ने क्रमसँगै अहिले साउदीको वैदेशिक रोजगारीमा पनि आर्थिक मन्दीको संकट उत्पन्न भएको छ । हाल विशेषगरी निर्माण र सप्लाई रिक्रुटमेन्टहरूमा ठूलो समस्या देखिएको छ ।

 

Leave A Reply

Your email address will not be published.