वैदेशिक रोजगारीका कारण ‘सम्बन्ध विच्छेद’

युवराज विष्ट / राजधानी
भोजपुर, १५ मंसिर

वैदेशिक रोजगारीका कारण समाजमा सम्बन्ध विच्छेद बढ्दै गएको छ । जिल्ला अदालत भोजपुरमा गत वर्ष र यस वर्ष गरी सम्बन्ध विच्छेदका ६८ मुद्दा दर्ता भएको अदालतले जनाएको छ ।विगत दुई वर्षको अवधिमा आएका सम्पूर्ण मुद्दा महिलाका तर्फबाट आउने गरेको मुद्दा दर्ता फाँटका कर्मचारी सरोज भट्टराईले जानकारी दिए । दर्ता भएको मुद्दामध्ये ८० प्रतिशत बढी मुद्दा वैदेशिक रोजगारी गएर आएपछि एक आपसमा खटपट भएर आउने गरेको उनको भनाइ छ । बाँकी मुद्दाहरू जाँडरक्सी खाएर हुने पारिवारिक समस्याका हुने गरेको अदालतले जनाएको छ ।

बढी मात्रामा ३० देखि ३५ वर्ष उमेर समूहका महिलाहरूले यस्तो प्रकृतिको मुद्दा दर्ता गराउने गरेको भट्टराईले बताए ।दर्ता भएमध्ये हालसम्म ४५ वटा मुद्दा फछ्र्यौट भएका छन् भने अन्य फछ्र्यौट हुन बाँकी रहेका छन् ।जिल्ला अदालत भोजपुरका निमित्त स्रेस्तेदार खड्गबहादुर खत्रीका अनुसार जति पनि सम्बन्ध विच्छेदका लागि दर्ता भएका छन्, ती सबै मुद्दा भनेको महिला नै घरमा बस्न नसक्ने भन्दै दर्ता गराएका छन्,’ उनले भने, ‘पुरुषका तर्फबाट आउने सम्बन्ध विच्छेदका मुद्दा त एकदम कम छन् ।’ महिला तथा बालबालिका कार्यालयका अनुसार समाजमा अझै पनि महिलाहरू विविध कारणले घर परिवारमा हिंसामा पर्ने भएकाले बाध्य भएर सम्बन्ध विच्छेदका लागि मुद्दा दर्ता गराउने गरेका छन् ।

पुरुषहरूले मादक पदार्थ सेवन गरी झगडा गर्ने, विदेश गएर सम्पर्कविहीन हुनेलगायतका कारणले पनि महिलाले सम्बन्ध विच्छेद गराउन अदालत धाउने गरेको महिला विकास अधिकृत पुष्पालता उप्रेतीले बताइन् । उनले भनिन्, ‘विविध समस्याका कारणले पनि महिलाहरू सम्बन्ध विच्छेद गराउन चाहन्छन् । कतिपय महिलामा हिंसाविरुद्ध लड्ने क्षमतामा वृद्धि भएर पनि सम्बन्ध विच्छेद गर्नेगरेका छन् ।’ समाजमा अशिक्षा, अन्धविश्वास, कुरीतिलगायतका कारणले महिलाहरू अझै पनि कुनैकुनै तवरबाट हिंसाको सिकार हुन बाध्य भएकाले सम्बन्ध विच्छेदका मुद्दा बढ्दै गएको महिला अगुवाहरूको भनाइ छ ।

 

Leave A Reply

Your email address will not be published.