लगानीको वातावरण बन्न सकेन

लगानीको वातावरण बन्न सकेन

नेपालको अर्थतन्त्र र आर्थिक वृद्धि दर यति बेला इतिहासकै कमजोर अवस्थामा छ । गत वर्षको विनाशकारी भूकम्प, भारतको नाकाबन्दी र तराई आन्दोलनका कारण झन्डै ६ महिनासम्म आर्थिक गतिविधि प्रभावित हुँदा अर्थतन्त्र कमजोर बन्यो । यस्तो अवस्थामा बल्लतल्ल अर्थतन्त्रमा रक्तसञ्चार हुन लागेका बेला फेरि राजनीतिक क्षेत्रमा देखिएको अस्थिरता र अन्योलताले अर्को समस्या सिर्जना हुन सक्ने अवस्था देखिएको छ । यसै सन्दर्भमा हामीले नेपाल सुनचाँदी रत्न तथा आभूषण व्यवसायी महासंघको अध्यक्ष, नेपाल श्रीलंका चेम्बर अफ कमर्सका अध्यक्ष, नेपाल चेम्बर अफ कमर्सका कार्य समिति सदस्य, नेपाल कोरिया चेम्बर अफ कमर्सका कोषाध्यक्ष तथा लुम्बिनी विश्व विद्यालयका सिनेटर एवं नेपाल सरकारको बोर्ड अफ टे«डका सदस्यलगायतका विभिन्न क्षेत्रमा आबद्ध रही काम गर्दै आएका युवा उद्यमीसँग कुराकानी गरेका छौं । अहिलेको बिग्रँदो राजनीतिक वातावरणले अर्थतन्त्रलाई झनै जर्जर बनाउने विश्लेषण हुन थालेको विद्यमान अवस्थामा युवा उद्यमी तथा नेपाल सुनचाँदी रत्न तथा आभूषण व्यवसायी महासंघका अध्यक्ष रमेश महर्जनसँग गरिएको कुराकानी :

20161207_164532

रमेश महर्जन
युवा उद्यमी तथा अध्यक्ष
नेपाल सुनचाँदी रत्न तथा आभूषण व्यवसायी महासंघ

 

० तपाईं एक युवा उद्यमी हुनुहुन्छ । तपार्इंले अहिलेको हाम्रो देशको अर्थतन्त्रलाई कसरी मूल्यांकन गर्दै हुनुहुन्छ ?

– यति बेला मुलुकको अर्थतन्त्र अत्यन्तै अप्ठ्यारो अवस्थामा छ । गत वर्षदेखि नै एकपछि अर्को गर्दै उत्पन्न भूकम्प, नाकाबन्दी र तराई बन्दका कारण अर्थतन्त्रलाई सहज रूपमा चल्न दिएन । सो कारण मुलुकको आर्थिक वृद्धि दर नै खुम्चिएर शून्य दशमलव ७७ प्रतिशतमा सीमित हुनुपर्ने अवस्थामा आइपुग्यो । यसले मुलुकको अर्थतन्त्रलाई गम्भीर धक्का दिएको छ । यसबाट मुलुकलाई जोगाउन अब आर्थिक विकासलाई उच्च प्राथमिकतामा राखेर काम गर्नुपर्छ । त्यसका लागि सरकार, निजी क्षेत्र र अन्य सम्बन्धित सबै पक्ष मिलेर राजनीतिभन्दा आर्थिक क्षेत्रलाई अगाडि राखेर काम गर्नु आवश्यक छ ।

० आर्थिक रूपले अहिले मुलुकको आवश्यकता के हो ?

– अहिले भूकम्पपछिको पुनर्निर्माण मुलुकको प्रमुख कार्य हो । यसतर्फ सबैको ध्यान जानुपर्छ । अर्को कुरा सन्तुलिन विकासको आवश्यकता छ । सन्तुलिन भन्नाले मधेस, पहाड, हिमालका पूर्वाधार निर्माण जस्ता कुराहरू नै हुन् । मुलुकमा शान्तिको सुनिश्चितता गरी लगानी र आर्थिक क्रियाकलापको वृद्धि गर्ने, बन्द हडतालको अन्त्य गरी निर्माणमुखी, लगानीमुखी, उत्पादनमुखी र आयमुखी अवसर सिर्जना गर्ने खालको काम गरिनुपर्दछ । तर, राजनीतिक लुछाचुँडीले त्यस्तो हुन सकेको छैन । यसले गर्दाआर्थिक विकास झन् पछि पर्दै आइरहेको छ । यसले सिंगो राज्यलाई नै अप्ठ्यारो  पारिरहेको छ ।

० अर्थतन्त्र र आर्थिक वातावरण खस्कनुको कारण के हो ?

– कुनै पनि मुलुकको अर्थतन्त्र सबल र सक्षम हुन सर्बप्रथम राजनीति ठीक ठाउँमा हुनुप¥यो । हाम्रो राजनीति खाली सत्तामुखी भयो । राजनीति ठीक ठाउँमा भएपछि आर्थिक एजेन्डाले प्राथमिकता पाएमा आर्थिक विकासालई मूल एजेन्डा बनाएर अगाडि बढ्न सक्नुपर्छ । सन् १९९० को सुरुको दशकमा जसरी हामी अगाडि बढेका थियौं, अब पनि त्यहीअनुसार रिभाइभ गर्ने सोचका लागि अगाडि बढ्नुपर्छ ।
मुलुकमा जुन रूपमा समस्याहरू आए तीबाट मुलुकको व्यापारिक क्षेत्रमा धेरै अप्ठ्यारो आयो । सुधार हुने अपेक्षा गरिएको थियो, त्यो भएन । अहिलेको मुख्य समस्या भनेको अस्थिर सरकार नै हो । अस्थिर सरकारले गर्दा मुलुकको निजी क्षेत्रलाई धेरै नै अप्ठ्यारो परिरहेको छ । यसले व्यवसायीहरूलाई समस्या पार्छ । छिमेकी मुलुकहरूमा समय समयमा आउने विभिन्न खालका परिवर्तनले पनि नेपालको अर्थतन्त्रमा समस्या पार्ने गरेको छ । केही समयअघि भारतले ५ सय र १ हजार दरका भारतीय रुपैयाँको प्रयोगमा लगाएको रोकलाई लिन सकिन्छ । त्यसले पनि ठूलो प्रभाव पारेको छ । मुलुक राजनीतिक खिचातानीमा परेको छ । व्यवसायी तथा उद्यमीहरूले स्थायित्वको कामना गरेका छन् । राजनीतिक स्थायित्व कायम भई आर्थिक विकासमा लम्कने सबै उद्यमी व्यवसयाीको चाहना छ । तर, अहिले सबैमा निराशा छाएको अवस्था छ ।

० लगानी प्रवद्र्धनको सम्भावना  के छ ?

– नेपालमा लगानीका क्षेत्र प्रशस्त छन् । तर, लगानीका लागि उपयुक्त वातावरण बन्नै सकेन । अहिले केही उद्योग व्यवसाय वा कलकारखाना खोल्यो फेरि समस्या आइहाल्ने पो हो कि भन्ने चिन्ता हट्न सकेन । हामीकहाँ एकपछि अर्को गरी समस्या आई नै रह्यो । लगानीको वातावरण बन्न सकेन ।

० विदेशी लगानीको सम्भावना के छ ?

– विदेशी लगानी आउने सम्भावना त नेपालमा धेरै छ । यहाँका ऊर्जा, पर्यटन, जडीबुटी, खानीलगायतका थुप्रै क्षेत्रमा लगानी गर्न विदेशीहरू आकर्षित छन् । तर, यहाँ विदेशी लगानी ल्याउने वातावरण बनेन । विदेशीहरू अहिले ‘पर्ख र हेर’को अवस्थामा छन् । निजी क्षेत्रबाट पनि विदेशी उद्यमी व्यवसायीहरूलाई नेपालमा लगानी गर्न आग्रह गरिरहेको अवस्था छ । तर, उनीहरूको एउटै मात्र कुरा भनेको लगानी गर्नुपूर्व त्यससम्बन्धी प्रस्ट नीति हुनुप¥यो । यसका लागि लगानीको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नीति आवश्यक भएको उनीहरूको भनाइ छ ।

० यहाँ त सुनचाँदी व्यवसायमा पनि आबद्ध हुनुहुन्छ । नेपालमा सुनको बजार कस्तो छ ?

– आम मानिसले कुनै न कुनै रूपले प्रयोग गर्ने बहुमूल्य धातु अर्थात् सुनचाँदीको प्रयोग गर्छन् । यसले बजारमा उल्लेख्य प्रभाव पार्ने अनुमान गर्न सकिन्छ । यसरी सुनचाँदीको मूल्य घट्नुको कारण के हो र अबका दिनमा यसको निरन्तरता के हुन्छ भन्नेमा पनि धेरैको चासो हुन्छ ।
नेपालमा सुचाँदीको मूल्य घटबढ हुनुमा अन्तर्राष्ट्रिय कारण नै प्रमूख रहन्छ । अन्तर्राष्ट्रिय बजारमा माग र आपूर्तिबीच कायम हुने सम्बन्धले यसको मूल्य निर्धारण हुने हो । पछिल्लो समयमा विश्व बजारमा सुनको आपूर्तिभन्दा काम कम भएको अवस्था छ । यसैले मूल्यलाई कम गराएको हो । अर्थतन्त्र र आर्थिक गतिविधि मजबुत हुँदा लगानी त्यतातिर केन्द्रित भई सुनको माग घट्न जाँदा मूल्य समेत घट्ने र लगानी सुनतर्फ आकर्षित हुँदा मूल्य बढ्ने हुन्छ ।

० अब मूल्य घट्ने क्रमले निरन्तरता पाउला ?

– यो ठ्याक्कै यसै हुन्छ भन्न त सकिँदैन । तर पनि अहिलेको टे«न्ड हेर्दा अझै मूल्य केही कम हुन सक्छ ।

० सुनको आपूर्ति र वितरण सर्वसुलभ बनाउन के गर्नुपर्ला ?

– गरगहनाका लागि चाहिने सुनको निकै कम आपूर्ति भइरहेको छ । यस्तै, धेरै निकायलाई वितरणको जिम्मेवारी दिइँदा समस्यामाथि समस्या थपिएको छ । त्यसकारण सरकारले आवश्यक मात्रामा सुन आपूर्तिको व्यवस्था गर्नुका साथै सरकारी, अर्धसरकारी वा निजी क्षेत्रमध्ये कुनै एकलाई जिम्मा दिइयो भने यसलाई पारदर्शी गर्न, गराउन र नियमन गर्न सजिलो हुन्छ । यसका लागि वितरणमा एकद्वार प्रणाली बढी व्यावहारिक हुने देखिन्छ । बजारको मागभन्दा आपूर्ति निकै कम छ । सर्सती रूपमा हेर्दा अहिले विवाह, व्रतबन्धजस्ता लगनको समयमा दैनिक ४० किलोको हाराहारीमा र अन्य सामान्य समयमा पनि दैनिक ३० किलोको हाराहारीमा आवश्यक छ । तर, अहिले राष्ट्र बैंकले विभिन्न वाणिज्य बैंकहरूमार्फत सिजिनमा २० किलो र अन्य समयमा दैनिक १५ किलो सुन उपलब्ध गराउँदै आएको छ । यो पर्यात छैन ।

० महासंघको प्रमुख गतिविधिहरू  केके छन् ?

– मुलुकभरका सुनचाँदी व्यवसायीहरूको सामूहिक संस्थाका रूपमा रहेको नेपाल सुनचाँदी रत्न तथा आभूषण व्यवसायी महासंघको मुख्य काम भनेको नै व्यवसायीहरूको हकहितको संरक्षण र संवद्र्धन गर्नु हो । यस उद्देश्यअन्तर्गत महासंघका थुप्रै काम छन् । अहिले महासंघको प्रमुख काम भनेको सरकार र अन्य महासंघसँग समन्वय गरी सुनचाँदीको कारोबारलाई व्यवस्थित र प्रभावकारी बनाउन कानुनी रूप दिने र राज्यप्रति व्यवसायीहरूको आफ्नो उत्तरदायित्व वहन गराई सरकारी राजस्व वृद्धिमा टेवा पु¥याउने तथा यस क्षेत्रमा रहेका आम जनताको विश्वासलाई अझ वृद्धि गराई उपभोक्ताको गरगहनामा खर्चेको पैसालाई बढी सुरक्षित र फाइदाजनक बनाउनु हो ।
हामीले नेपालभरिको बजारका लागि सुनचाँदीको दैनिक दरभाउ निर्धारण गरी व्यवसायलाई चलायमान गरेका छौं र यस कार्यलाई विद्युतीय सञ्चार माध्यमको सहयोगमा अझ बढी सुविधायुक्त बनाउने कार्यमा महासंघ प्रयासरत छ । बजारको आवश्यकताभन्दा सुनको आपूर्ति धेरै नै कम भएको हुँदा यसलाई सकभर समानुपातिक र पारदर्शी रूपमा व्यवसायीलाई वितरण गर्ने व्यवस्था मिलाइएको छ । बेलाबेला बजारमा हुने चरम अभावको अध्ययन गरी सरकारसँग आवश्यक समन्वय गरेर सुनको आपूर्तिलाई कम वा बेसीको व्यवस्था मिलाउन आवश्यक छ ।

० ज्वेलरी व्यवसायको प्रवद्र्धनका लागि केकस्ता नीति, नियम एवं कार्यक्रमको आवश्यकता छ ?

देश चलाउन संविधान चाहिएजस्तै सुन चाँदीको व्यवसाय चलाउन सर्वप्रथम मापदण्ड आवश्यक पर्छ । यही नभएको अवस्थामा सरकारले केही निर्दोष व्यवसायीलाई झुटा मुद्दा लगाउने कामसमेत ग¥यो । यो व्यवसाय आफैंमा अलि प्राविधिक पनि भएकाले यसतर्फ आवश्यक व्यवस्थ गर्न सरकारले पनि प्राविधिक व्यक्ति नै खटाउन आवश्यक छ ।
यसबाहेक सुनचाँदीको आपूर्ति सहज बनाउन सरकारले पहल गर्नुपर्छ । मागअनुसारको सुन उपलब्ध हुना साथ अवैध कारोबारमा कमी आउँछ । साथै सरकारले सुनचाँदीको कारोबारसम्बन्धी स्पष्ट नीति तयार पार्नुपर्छ । श्रमशक्तिका लागि विदेशबाट कालीगढ झिकाउनुपर्ने अवस्था छ, सरकारले महासंघसँग मिलेर आधुनिक गरगहनासम्बन्धी प्रशिक्षण तालिम केन्द्र स्थापना गर्न जरूरी छ । यसले नेपालीले नै रोजगारी पाउँछन् र पुँजी बाहिरिन पाउँदैन । यसो हुन सकेमा यो व्यवसाय स्वच्छ रूपमा विकास हुन सक्छ ।

० गरगहना व्यवसायीका प्रमुख समस्या केके हुन् ?

– जुनसुकै क्षेत्रको सुधारका लागि पहिलो नीति नियम बनाई त्यसलाई जनतामाझ सार्वजनिक गरेर त्यसपश्चात् कसैले त्यसलाई उल्लंघन गरेमा सजाय दिनुपर्दछ । तर, यस क्षेत्रमा सरकारबाट गरिएको उल्टो कार्यबाट ठूलो समस्या सिर्जना भएको हुँदा पहिला मापदण्ड तयार गरी सबैमा सुनिश्चित गराएपश्चात् मात्र अनुगमन गरी त्यसविपरीत कार्य गर्नेलाई सही किसिमले सजाय वा कारबाही गर्न सकिन्छ ।
यस क्षेत्रको अर्को प्रमुख समस्या भनेको काम गर्ने कच्चा पदार्थ सुन आवश्यक मात्रामा नपाइनु हो । काठको काम गर्नेलाई काठ, ढुंगाको काम गर्नेलाई ढुंगा प्रशस्त चाहिएजस्तै सुनको काम गर्नेलाई पनि आवश्यकताअनुसार सुनको आपूर्ति व्यवस्था मिलाइनुपर्दछ । त्यस्तै, काम गर्ने कालीगढ प्रायः बाहिरबाट हुनु, कारोबार गर्दा प्रस्ट निर्देशिकाको अभाव हुनु, अनुगमन मापदण्ड तथा निर्देशिका नहुनु, व्यवसायीहरू सुरक्षित नहुनु, सम्पूर्ण किसिमका हरगहना हातैले बनाउनुपर्ने बाध्यता रहनु र स्वदेशका कालीगढ अत्यन्तै कम हुनु यस क्षेत्रका प्रमूख समस्या हुन् ।

० महासंघले आफ्नो जिम्मेवारी पूरा गरेको छ त ?

– महासंघको मुख्य काम भनेको सुन, चाँदी तथा हिरालगायतका क्षेत्रमा कारोबार गर्ने व्यवसायीको हकहितको सुरक्षा गर्नु हो । यसका लागि मलगायत मेरो सिंगो टिम यसमा सक्रिय रहँदै आएको छ ।

० सुनचाँदी क्षेत्रमा धेरैवटा संस्था छन्् नि किन ?

– हो, अहिले यस क्षेत्रमा काम गर्ने संस्थाहरूको संख्या चाहिनेभन्दा बढी छ । यी सबै संस्थाहरूलाई समेटेर एउटै सबल र सक्षम संस्था बनाउँदा सबै व्यवसायीलाई राम्रो हुन्छ । यसतर्फ हामीले सोच्नुपर्छ । हामी सबै व्यवसयीले आपसी छलफल गरेर यसलाई निष्कर्षमा  पु¥याउन सक्छौं ।

Leave A Reply

Your email address will not be published.