भारु साट्ने व्यवस्था गरिनुपर्छ

भारु साट्ने व्यवस्था गरिनुपर्छ

 

भारत सरकारले एक हजार र पाँच सय दरका भारतीय नोटमा लगाएको प्रतिबन्धपछि भारतमा मात्र नभई नेपालमा समेत त्यसको प्रभाव देखिएको छ । नेपालमा भारतीय रुपैयाँको विनारोकटोक हुँदै आएको कारोबार स्वास्थ्य उपचार, शिक्षा, सामान खरिदलगायतमा भारतीय नोटको प्रयोग निर्बाध रूपमा हुने गरेको तथा सीमाक्षेत्रमा किनमेलका लागि भारु प्रयोग हुँदै आएकामा एकाएक लगाइएको नोटमाथिको प्रतिबन्धले नेपालमा पनि असर परेको छ । भारु प्रतिबन्धको एक महिना बितिसक्दा पनि नेपालमा रहेका भारतीय नोट सटही के हुने भन्ने अन्योल कायमै छ । भारतीय रुपैयाँ साट्न नसकेको अवस्थामा त्यसले थप असर के गर्ला भन्ने सन्दर्भमा राजधानीले विभिन्न सरोकारवालाहरूसँग गरेको कुराकानीको सार :

छिट्टै पहल हुन्छ

yubaraj-khatiwada

युवराज खतिवडा उपाध्यक्ष, राष्ट्रिय योजना आयोग तथा पूर्वगभर्नर

अहिले भारतीय नोटमााथिको प्रतिबन्धले केही न केही रूपमा असर गरेको छ नै । यसका लागि सरकारले नेपालमा रहेका भारतीय नोट सटहीका लागि प्रयास गरिरहेको छ । अब हामीले सिक्ने भनेको भारुलगायतका सम्पूर्ण कारोबार बैंकिङ च्यानलबाट नै गर्नुपर्छ ।  यसका साथै नेपालले ठूलो मात्रामा भारु होल्ड गरेर राख्नुहुँदैन र नेपाली नोटलाई नै बढी प्राथमिकता दिनुपर्छ । नेपालमा रहेका नोटको सन्दर्भमा भारतले जेजस्तो विधि अपनाएर भए पनि साटिदिने व्यवस्था मिलाउनुपर्छ ।

विस्तारै हल निस्कन्छ

anil-kesari-shaha

अनिलकेशरी शाह अध्यक्ष, नेपाल बैंकर्स संघ

सामान्य रूपमा नेपालको अर्थतन्त्रमा तत्कालै त्यति ठूलो असर नदेखिए पनि अप्रत्यक्ष रूपमा भारुको प्रभाव पक्कै देखिन्छ । अहिले नै बैंकिङ च्यानलमा त्यस्तो ठूलो प्रभाव त पारेको छैन, तर अप्रत्य रूपमा यसकोे प्रभाव जटिल छ । औपचारिका रूपमा भारुको असर त्यति नदेखिए पनि अनौपचारिक रूपमा असर गरिरहेको छ । भारुको प्रतिबन्धले भारतमा काम गर्न गएका नेपाली कामदारदेखि नेपालको व्यावसायिक क्षेत्रमा असर गरिरहेको छ ।
जोसँग अहिले भारतीय नोट रहेको छ, साट्न नसक्ने अवस्था आएमा उनीहरूले ठूलो घाटा बेहोर्नुपर्ने हुन सक्छ । भारु साट्ने काम हाम्रो हातमा छैन । हाम्रो प्रयासले केही हुने पनि होइन । जतिसक्दो छिटो भारतले भारु साटेर सहज वातावरणको सिर्जना गर्नुपर्छ । ५ सय र १ हजारको नोटमा लागेको प्रतिबन्धसँगै भारतले २ हजारको नोट निष्कासन गरी प्रचलनमा ल्याएको छ । त्यसले कत्तिको जनजीवन सहज बनाउने हो, हेर्न बाँकी छ । अहिले भारतमा १ सय रुपैयाँको नोटको अभाव भएका बेला नेपाललाई प्रशस्त मात्रामा दिएको छैन । नेपालसँग यतिबेला प्रशस्त १ सय दरको भारु छैन । तर, यस्तो समस्या लामो समयसम्म नआउला । बिस्तारै समस्याको हल निस्कनेमा हामी आशावादी हुनुपर्छ । साथै भारुको प्रतिबन्धले लामो समयसम्म असर गर्दैनजस्तो मलाई लाग्छ ।

ठूलो समस्या पर्छ

rebatbahadur-karki

रेवतबहादुर कार्की अध्यक्ष, नेपाल धितोपत्र बोर्ड

भारतसँग हाम्रो धेरै व्यापार व्यवसाय हुने गर्छ । नेपाल र भारतबीच खुला सीमानाका कारण नेपालको व्यापार व्यवसायमा भारुको प्रतिबन्धले प्रत्यक्ष असर पार्छ । भारतमा हाम्रा कयौं नेपाली दाजुभाइ रोजगारीका लागि गएका छन् । ती नेपाली कामदारहरूले भारु साट्न पाएनन् भने त्यसले निकै ठूलो समस्या निम्याउँछ । विशेषगरी, पश्चिम नेपालका नेपाली रोजगारीका लागि भारत जाने भएकाले पश्चिम नेपाल निकै प्रभावित हुने देखिएको छ । भारतमा भ्रमण जाने, व्यवसायका लागि जाने, औषधि–उपचारका लागि जाने तथा अन्य कामका लागि जानेहरू भारुको प्रतिबन्धका कारण निकै मारमा परेका छन् । सरकारले पक्कै पनि भारु साट्ने प्रतिबन्ध मिलाउला । समस्याका विभिन्न रूप भए पनि समाधानको बाटो कुनै न कुनै बेला खुल्छ । समस्या जहाँ हुन्छ, समाधान पनि त्यहाँ हुन्छ ।

तत्काल समाधान खोज्नुपर्छ

yubaraj-bhusal

युवराज भुषाल, अर्थविद्

भारतले ठूला दरका भारु नोटमा गरेको प्रतिबन्धका कारण भारत, नेपाल तथा अन्य मुलुक जहाँ भारु चल्छ, त्यहाँ धेरै समस्या पारेको छ । यसले सकारात्मक र नकारात्मक दुवै प्रभाव पारेको छ । जाली नोट तथा कालो धनलार्ई निर्मूल पार्ने भारतको कदम राम्रो भए पनि यसले धेरै मात्रामा नकारात्मक प्रभाव पारेको छ । व्यापार व्यवसायमा यसले एक तिहाइ नेपालको व्यापारलाई प्रभावित पारेको छ । यो संकट र समस्या तत्काल समाधान हुन सकेन भने यसले थप जटिल समस्या निम्त्याउन सक्छ । सरकारी पक्षबाट तत्काल समाधान खोज्नुपर्ने तर सरकारको तर्फबाट चित्तबुझ्दो काम भएको छैन ।
भारुमा प्रतिबन्ध लागेको २ महिना पुग्न लाग्दा पनि सरकारले कुनै ठोस निष्कर्ष निकाल्न सकेको छैन । त्योे सरकारको कमजोरी हो । नेपाल राष्ट्र बैंक, अर्थ मन्त्रालय, परराष्ट्र मन्त्रालय, राजदूतावासलगायतका अन्य सम्बन्धित निकायको भूमिका त्यति राम्रो देखिएन । सरकारको जिम्मेवार पदमा बसेकाले जिम्मेवारीपूर्वक काम गर्नुपर्छ । भारतले एक्कासि त्यस्तो गर्न नहुने थियो । औषधि–उपचार गर्न जानेहरूलाई पनि निकै समस्या परेको छ । सीमाक्षेत्रको व्यापार व्यवसाय पनि निक प्रभावित बनेको छ । केही व्यक्तिले ठूलो मात्रामा भारु लुकाएर राखेको पनि हुन सक्छन् । त्यस्ता व्यक्ति अब जिल पर्ने भए । प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा जेजस्तो प्रभाव परे पनि आखिर राष्ट्रले नै नोक्सान बेहोर्ने हो । सरोकारवाला निकायहरूले भारु साट्ने प्रयत्न गरेका छौं भनिरहेका छन्, तर जिम्मेवारी वहन गरेका छैनन् । तत्काल भारु साटिएन भने पनि अहिले नै त्यस्तो ठूलो असर त नपर्ला । भारतले कालो धन तथा जाली नोट निर्मूल पार्न भारुमा प्रतिबन्ध लगाए पनि तत्काल समाधान खोज्नुपर्छ । खासमा कालो धनको अभ्यास भारतबाटै सुरु भएको हो । नेपालमा फुटपातका मान्छेहरू रातारात अर्ब पति भएको हामीले देखेका छौं । तिनीहरूसँग पक्कै पनि कालो धन हुनुपर्छ । तर, तिनीहरू कानुनी रूपमा भने पनि निकै बलिया भएर बसेका छन् । भारतले ५ सय र १ हजार दरका भारुमा प्रतिबन्ध लगाएपछि २ हजार दरको नोट प्रचलनमा ल्याएको छ । तर, ५ सय र १ हजार दरका नोटजस्तै हुन्छ कि भन्ने आशंका सर्वसाधारणमा उब्जेको छ । त्यसलाई जनताले सजिलैसँग स्वीकार गर्न सक्ने अवस्था पनि छैन ।
त्यसैले, सरकारका सम्बन्धित तथा सरोकारवाला निकायले यस विषयमा तुरुन्तै निष्कर्ष निकाल्नुपर्छ । कूटनीतिक ढंगबाट छिटोभन्दा छिटो भारु साट्ने उपाय गर्नुपर्छ, नत्र नेपालले धेरै नोक्सान बेहोर्नुपर्छ ।

छिटो निकास  खोजिनुपर्छ

maniratna-sakya

मणिरत्न शाक्य पूर्वअध्यक्ष, सुनचाँदी व्यवसाय महासंघ

भारतले भारुको प्रतिबन्ध लगाएसँगै नेपालले धेरै क्षति बेहोर्नुपरेको छ । भारु प्रतिबन्धका कारण राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा असर परेको छ । सुनको प्रयोग भारतले निकै बढी मात्रामा गर्ने गर्छ । भारु प्रतिबन्ध भएपछि सुनको कारोबारमा निकै असर भएको छ । भारु प्रभावका कारण नेपालको पनि सुनचाँदी बजार खस्केको छ ।
बजारमा सुनको माग पनि घटेको छ । सुनको भाउ घट्नुमा भारुमा लागेको प्रतिबन्ध पनि एक कारक तŒव हो । प्रत्यक्ष रूपमा खासै नदेखिए पनि अप्रत्यक्ष रूपमा यसले निकै प्रभाव पारेको छ । मारवाडीहरूले पनि नेपालको सुन बजारमा धेरै लगानी गरेका छन् । उनीहरूलाई पनि भारुको प्रतिबन्धले समस्या पारेको छ । खुला सीमानाबाट धेरै सामानहरूको किनमेल हुन्छ । त्यसका लागि भारु छैन । गरगहना बनाउन ज्यावलहरू भारतबाट ल्याइन्छ । नेपालमा सजिलै उपलब्ध हुँदैन । त्यसको कारोबारका लागि पनि भारुको प्रतिबन्धले समस्या पारेको छ । भारतीय कालीगढहरूले उनीहरूको ज्याला सुनमा कन्र्भट गरेर लान थालेका छन् । हामीलाई नै सुनको अभाव भइरहेका बेला उनीहरूले लान थाले भने हाम्रो सुन बजार थप समस्यामा पर्छ । त्यसैले छिटो निकास खोजिनुपर्छ ।

Leave A Reply

Your email address will not be published.