बर्दियाको राजमार्गमै यात्रुबाहक बसमा बाघ ठोक्कियो, यात्रुहरुको रुवाबासी

tr02_060216_harimau_mati
राजधानी संवाददाता

बर्दिया, ७ पुस । पूर्वपश्चिम राजमार्गअन्तर्गत बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रमा बुधबार साँझ यात्रुबाहक बसको ठक्करबाट एक पाटे बाघको घटनास्थलमै मृत्यु भएको छ ।

चितुवालाई लखेट्दै आएको सो बाघको राजमार्गको बाटो काट्ने क्रममा बसमा ठोक्किएर मृत्यु भएको हो । बाटो काटिसकेकाले चितुवालाई भने केही भएन ।
कर्णाली अम्रेनी सडकखण्डमा ना ४ ख २८८७ नम्बरको बसमा सो बाघ ठोक्किएको हो । सो बस कैलालीको अत्तरियाबाट काठमाडौं जाँदै गरेको थियो । सो बसमा बाघ ठोक्किएपछि केही समय यात्रुहरु चिच्याएका थिए ।

बर्दिया राष्ट्रिय निकुञ्जका वार्डेन रमेश थापाका अनुसार बस र चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ ।

चालु आर्थिक वर्षमा राजमार्ग दुर्घटनामा पाटे बाघ मरेको यो पहिलो घटना भएको वार्डेन थापाले बताए । उनले चित्तल, जरायो, बँदेल, दुम्सी, खरायो लगायतका जनावर भने २५ वटा मरिसकेको जानकारी दिए । गत वर्षको गणनाअनुसार बर्दिया राष्ट्रिय निकुञ्जमा ५६ वटा बयस्क पाटेबाघ छन् ।

Leave A Reply

Your email address will not be published.