साउदीका २६ कम्पनीमा नेपाली कामदार पठाउन रोक

मधुजंग पाण्डे / राजधानी
काठमाडौं, ६ पुस

सरकारले साउदी अरेबियाका नेपाली कामदारलाई समयमै तलब भुक्तानी नगर्ने २६ वटा रोजगारदाता कम्पनीलाई कालो सूचीमा राखी अबदेखि त्यस्ता कम्पनीमा कामदार पठाउने कार्यमा प्रतिबन्ध लगाएको छ । वैदेशिक रोजगारीका लागि आकर्षक गन्तव्य मुलुक साउदीमा अहिले नेपाली कामदार अलपत्र पर्ने क्रम झनै बढ्दै गएपछि श्रम तथा रोजगार मन्त्रालयले विभिन्न २६ वटा कम्पनीमा कामदार पठाउने कार्यमा प्रतिबन्ध लगाएको हो । मन्त्रालयले अनुगमनको क्रममा साउदीमा कार्यरत नेपाली कादारलाई अनावश्यक बढी दुःख दिएका ती रोजगारदाता कम्पनीलाई कालो सूचीमा राखेको हो ।

Saudi-Arabiya

अब यसरी कालो सूचीमा परेका कम्पनीमा यहाँका म्यानपावरले वैदेशिक रोजगारीका लागि नेपाली कामदार पठाउन पाउनेछैनन् । सरकारले ती कम्पनीमा जाने कामदारलाई श्रम स्वीकृति पनि नदिने वैदेशिक रोजगार विभागकी प्रवक्ता रमा भट्टराईले जानकारी दिइन् ।

उनले कामदार अलपत्र पार्ने र फिर्ता पठाउन पनि असहयोग गर्ने त्यस्ता कम्पनीमा पुगेका कामदारको सुरक्षालाई मध्यनजर गर्दै ती कम्पनीलाई कालो सूचीमा राखेको बताइन् । सरकारले त्यस्ता कम्पनीमा अब नेपाली कामदार पठाउन हुँदैन भनेर प्रतिबन्ध गर्नेसम्मको निर्णय गरेको जानकारी गराउँदै प्रवक्ता भट्टराईले भनिन्, ‘यहाँबाट गएका कामदारले समयमा तलब नपाउनेलगायत विविध समस्या भोग्नुपरेको वास्तविक तथ्यका आधारमा अहिले सरकार यस निर्णयमा पुगेको हो ।’

साउदीको रियादस्थित नेपाली दूतावासमा गुनासो लिएर आउने नेपाली कामदारमा बारम्बार त्यस्ता समस्या भएका कामदार मात्र आएकाले बाध्य भएर दूतावासले कालो सूचीमा राख्नुपर्ने कम्पनीको विवरण तयार गरिरहेको छ ।

यसअघि साउदीका दुईवटा रोजगारदाता कम्पनी मात्रै सरकारको कालो सूचीमा थिए भन्दै उनले अब यो संख्या २८ पुगेको बताइन् । विभागका अनुसार अहिले साउदीको रियादस्थित नेपाली दूतावासमा गुनासो लिएर आउने नेपाली कामदारमा बारम्बार त्यस्ता समस्या भएका कामदार मात्र आएकाले बाध्य भएर दूतावासले कालो सूचीमा राख्नुपर्ने कम्पनीको विवरण तयार गरिरहेको छ । राजदूतावासले बुझाएको त्यो सूची प्राप्त हुनासाथ अन्य थप कम्पनीमा नेपाली पठाउन बन्द गरिने पनि उनले जानकारी दिइन् । विगतका वर्षको तुलनामा अहिले साउदीमा पुगेपछि एजेन्टहरूले धेरै कादारलाई जोखिमपूर्ण र अप्ठ्यारो काममा लगाउने क्रम निकै बढ्दो छ । कतिले त काम पाएका छैनन् भने कतिलाई अलपत्र छाडेर एजेन्ट नै भागिरहेका घटना बाहिर आइरहेका छन् ।

केही नेपाली म्यानपावरले पनि आफूले पठाएका कामदारको कुनै गुनासोसमेत नसुन्ने गरेको अवस्था छ । साउदीमा पछिल्लो समय कामदारलाई भनेजति तलब नदिने मात्रै होइन, समयमै तलब नदिने ठूलो समस्या छ । सोही कारण अहिले साउदीका खराब कम्पनीमा कार्यरत करिब हजारभन्दा बढी नेपाली कामदार विभिन्न ठाउँमा अलपत्र परेका छन् । ती कामदारले सरकारलाई औपचारिक उद्धारको अपिल गरे पनि उनीहरूलाई सरकारले समयमा उद्धार गर्न खासै चासो नदेखाएको अधिकांश कामदारको गुनासो छ ।

खाडी मुलुकमा लगातार इन्धनको मूल्यमा आइरहेको गिरावटसँगै केही समययता साउदीको वैदेशिक रोजगारीमा निकै संकट उत्पन्न भएको छ । विशेषगरी, निर्माण र सप्लाई कम्पनीमा अहिले निकै ठूलो समस्या उत्पन्न भएको छ । विभागका अनुसार अहिले वैदेशिक रोजगारीका लागि नेपाली कामदार पठाउन खुला गरिएका कुल १ सय १० वटा मुलुकमध्ये सबैभन्दा बढी कालो सूचीमा मलेसियाका कम्पनी परेका छन् ।

 

Leave A Reply

Your email address will not be published.