भारतबाट थप ४० मेगावाट विद्युत् आयात भोलिबाट

electy

राजधानी समाचारदाता
काठमाडौं, १६ पुस

नेपाल विद्युत् प्राधिकरणले आज (आइतबार) देखि भारतबाट थप ४० मेगावाट विद्युत् नेपाल भिœयाउँदै छ । ऊर्जा मन्त्रालयका सचिव अनुपकुमार उपाध्याय नेतृत्वको नेपाल विद्युत् प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङसहितको टोलीले हालै भारत भ्रमण गरी थप ८० मेगावाट विद्युत् खरिद गर्ने सम्झौता गरेको थियो ।

सोही सम्झौताअनुरूप पहिलो चरणमा भारतबाट ४० मेगावाट विद्युत् नेपाल भित्रिन लागेको हो । भारतको मुजफ्फरपुरदेखि ढल्केबरसम्म अन्तरदेशीय प्रसारण लाइनबाट थप बिजुली आयात हुन लागेको विद्युत् प्राधिकरणका प्रबल अधिकारीले जानकारी दिए । भारतले अंग्रेजी नयाँ वर्षको सुरुवात १ जनवरीकै दिन नेपाललाई थप विद्युत् दिन लागेको हो । सम्झौताअनुरूप बाँकी ४० मेगावाट विद्युत् अर्को महिना नेपाल भित्रिनेछ । नेपाललाई विद्युत् बिक्री गर्न भारतको मुजफ्फरपुरमा रहेको स्टेसनमा उसले नयाँ ट्रान्सफर्मर जडान गरिसकेको छ ।

क्षेत्रीय साझेदारी अभियानअन्तर्गत भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निर्देशनमा भारतको पावर ग्रिड कोअपरेसन लिमिटेडले २० दिन लगाएर २२०/१३२ केभी, १०० एमभीएको ट्रान्सफर्मर मुजफ्फरपुर स्टेसनमा जडान गरेको भारतीय दूतावासले जनाएको छ । नयाँ ट्रान्सफर्मर जडानसँगै नेपालमा विद्युत् आयातमा सहजता हुनेछ । अहिलेसम्म भारतबाट ३२० मेगावात विद्युत् आयात भइरहेको छ । योसँगै आजबाट ३६० मेगावाट विद्युत् आयात हुनेछ ।

गत वर्ष माघमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले ४०० केभी क्षमताको अन्तरदेशीय प्रसारण लाइनको उद्घाटन गरेका थिए । यसअघि १३२ केभीको अन्तरदेशीय प्रसारण लाइनबाट नेपालमा विद्युत् आयात हुँदै आएको थियो । अन्तरदेशीय प्रसारण लाइनको क्षमता वृद्धि गरेसँगै नेपालमा थप विद्युत् आयात गर्न सम्भव भएको हो ।

ऊर्जा मन्त्रालयको सन् २०१७ भित्र देशभर लोडसेडिङ अन्त्य गर्ने अभियानअन्तर्गत नेपाल विद्युत् प्राधिकरणले थप विद्युत् आयात गर्न लागेको हो । प्राधिकरणका प्रवक्ता अधिकारीका अनुसार २०१७ भित्र देशभर लोडसेडिङ अन्त्यका लागि सरकारले थप विद्युत् आयात तथा स्थानीय उत्पादनलाई समेत राष्ट्रिय प्रसारण लाइनमा थपिनेछ । लोडसेडिङ अन्त्यका लागि थप विद्युत् आयात तथा निर्यातका लागि नेपाल र भारतले अन्तरदेशीय विद्युत् प्रसारण लाइन निर्माणलाई तीव्रता दिएका छन् । रक्सौल–परवानीपुर र कठैया–कुशाहा अन्तरदेशीय प्रसारणलाइन निर्माणाधीन अवस्थामा छन् ।

यसैबीच ऊर्जामन्त्री जनार्दन शर्माले भारतका ऊर्जा राज्यमन्त्री पीयूष गोयलसँग टेलिफोन वार्ता गरेका छन् । उनले नेपालको लोडसेडिङ अन्त्यका लागि भारतले पु-याएको सहयोगका लागि धन्यवाद दिएका छन् । यसले दुई देशबीचको सहकार्य र सम्बन्धलाई निरन्तरता दिएको समेत उनले बताएका थिए । शुक्रबार भएको वार्तामा गोयलले भारतले नेपालको ऊर्जा संकट समाधानका लागि निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाएको ऊर्जा मन्त्रालयले जनाएको छ । विद्युत् प्राधिकरणले तिहारयता उपत्यकामा लोडसेडिङ कटौती गरेको छ ।

Leave A Reply

Your email address will not be published.