मलेसियामा अब नेपाली कामदारले लेबी बुझाउनु नपर्ने

7c870fc67954baf9d6cfd07fe2e0a2b1राजधानी समाचारदाता
काठमाडौं, १६ पुस

मलेसियामा कार्यरत नेपाली कामदारले अब लेबी बुझाउनु नपर्ने भएको छ । मलेसिया सरकारले त्यहाँका रोजगारदाताले नै लेबी तिर्नुपर्ने नयाँ निर्णय गरेकाले नेपाली कामदारले लेबी बुझाउनुनपर्ने भएको हो । जसको प्रत्यक्ष लाभ नेपालीसहित त्यहाँ कार्यरत अन्य आप्रवासी कामदारलाई हुनेछ ।

मलेसियाका गृहमन्त्री अहमद जाहिद हमिदीले विदेशी कामदारबाट लेबी कटौती नगर्न आफ्नो देशका रोजगारदाता कम्पनीलाई निर्देशन दिएको त्यहाँका विभिन्न समाचार एजेन्सीले जनाएका छन् । मलेसिया सरकारले गरेको यो नयाँ निर्णय आइतबार (१ जनवरी) बाटै लागू हुने बताइएको छ ।

मलेसिया सरकारले गरेको यस नयाँ नियम ‘इम्प्लोयर म्यान्डेटोरी कमिटी (ईएमसी) मातहत आएको हो, जसको उद्देश्य आफ्नो मुलुकका सम्बन्धित रोजगारदाता कम्पनीलाई विभिन्न देशबाट ल्याइएका आप्रवासी कामदारप्रति थप जिम्मेवार बनाउनु रहेको छ । मलेसियाको यस नयाँ नियमअनुसार कामदार आफ्नो मुलुक नफर्किएसम्म सम्बन्धित रोजगारदाता कम्पनी नै पूर्ण रूपमा जिम्मेवार हुनुपर्नेछ ।

मलेसियाका गृहमन्त्री हमिदीले विदेशी कामदारको रेखदेख एवं उनीहरूको विविध क्रियाकलाप र आर्थिक अवस्था मूल्यांकन गर्न जिम्मेवारी र अवलोकनसम्बन्धी मापदण्ड छिट्टै ल्याउने बताएका छन् । नेपाली कामदारका लागि आकर्षक गन्तव्य मुलुक मलेसियाले अहिले आप्रवासी कामदारको ‘सेक्युरिटी डिपोजिट’बारे पनि पुनरावलोकनको तयारी गरेको छ ।

‘अहिलेको दर निकै कम र विदेशी कामदारको करार अवधि समाप्त भएपछि रोजगारदाताले फिर्ता पठाउने क्रम प्रभावकारी छैन,’ गृहमन्त्री हमिदीले भनेका छन् । मलेसिया सरकारले गरेको यस नयाँ निर्णयले त्यहाँ कार्यरत नेपाली कामदार निकै लाभान्वित हुनेछन् । हाल मलेसियामा करिब साढे ६ लाख नेपाली कार्यरत छन् ।

Leave A Reply

Your email address will not be published.