मुलायमद्वारा छोरा र भाइमाथिको कारबाही २४ घन्टामै फिर्ता

akhilesh-yadav_12एजेन्सी
लखनऊ, १६ पुस

भारतको उत्तर प्रदेशका मुख्यमन्त्री अखिलेश यादव र नेता रामगोपाल यादवलाई समाजवादी पार्टीबाट गरिएको कारबाही २४ घन्टा नपुग्दै फिर्ता भएको छ । उत्तर प्रदेशको सत्तारुढ पार्टीका अध्यक्ष मुलायम सिंह यादवले आफ्नै छोरा अखिलेश र भाई रामगोपाललाई शुक्रबार ६ वर्षका लागि पार्टीबाट निष्काशन गरेका थिए । तर, पार्टीमा देखिएको विवाद २४ घन्टा नपुग्दै नाटकीय ढंगले समाधानको दिशातर्फ गएको हो ।

अखिलेश र रामगोपाललाई बर्खास्त गरेपछि शनिबार बिहान पार्टी अध्यक्ष तथा बाबु मुलायम सिंह यादवसँग छलफल गर्न उत्तर प्रदेशका मुख्यमन्त्री समेत रहेका अखिलेश परेका थिए । उनीहरुबीचको छलफलपछि मुलायमले छोरा र भाईलाई गरेको कारबाही फिर्ता लिएका हुन् ।

सन् २०१७ मा हुने विधानसभा निर्वाचनमा उम्मेदवार चयनका विषयलाई लिएर समाजवादी पार्टीमा चरम विवाद उत्पन्न भएको थियो । मुलायम र अखिलेशबीचको कुराकानीका क्रममा पार्टीका उम्मेदवारको नयाँ सूची जारी गर्ने सहमति बनेको छ ।

शुक्रबार मुलायमले अखिलेश र रामगोपाललाई निष्काशन गरेपछि शनिबार बिहानै बाबुछोराबीच शक्ति प्रदर्शनको होडबाजी नै चलेको थियो । तिव्र विवादकाबीच फुट्ने निश्चित भएको समाजवादी पार्टीबाट दुई नेतालाई गरिएको कारबाही फिर्ता भएपछि अन्तिम समयमा आएर पार्टी फुटबाट जोगिएको छ ।

केही समयअघि अखिलेश र मुलायमका अर्का भाई शिवपाल यादवबीचको शक्ति संघर्षका कारण पनि पार्टीमा संकट देखिएको थियो । तर, शनिबार भने अखिलेशका राजनीतिक प्रतिद्वन्द्वी काका र समाजवादी पार्टीका प्रदेश अध्यक्ष शिवपालले मुख्यमन्त्री अखिलेश र रामगोपाललाई गरिएको निष्काशनको कारबाही फिर्ता लिइएको घोषणा गरे ।

उनले पार्टी प्रमुख मुलायम सिंह यादवले मुख्यमन्त्री अखिलेश र रामगोपाललाई गरिएको कारबाही फिर्ता लिएको उनले जानकारी गराएका हुन् । मुलायमसँगको बैठकमा अखिलेश यादव, शिवपाल यादवका साथै उत्तर प्रदेशका मन्त्री आजम खान समेत सहभागी थिए ।

बैठकपछि शिवपालले पार्टीबाट दुई नेतालाई गरिएको निष्काशनको कारबाही फिर्ता लिइएको बताउँदै अब सबैको सहमतिमा उम्मेदवार चयन गर्ने र साम्प्रदायिक शक्तिसँग लडेर आगामी निर्वाचनमा पनि बहुमत ल्याउने दाबी गरे । उम्मेदवार चयन गर्ने विषयमा छलफल गर्न पार्टीका महासचिव समेत रहेको अखिलेश पक्षीय नेता तथा मुलायमका भाई रामगोपालले पार्टीको राष्ट्रिय सम्मेलन बोलाएपछि मुलायमले दुवै जनालाई पार्टीबाट निष्काशन गरेका थिए ।

मुलायमले दुई वरिष्ठ नेतालाई पार्टीबाट निष्काशन गरेपछि शनिबार बिहान अखिलेशले शक्ति प्रदर्शन गरका थिए । यससँगै समाजवादी पार्टी विभाजित हुने निश्चित देखिएको थियो । यद्यपि पार्टीका वरिष्ठ नेता उत्तर प्रदेशका मन्त्री आजम खानले मुलायम र अखिलेशबीच छलफल गराउन मुख्य भूमिका निर्वाह गरे । त्यसलगत्तै मुलायमले दुवै जनालाई गरेको कारबाही २४ घन्टा नपुग्दै फिर्ता लिएका हुन् ।

आफू र पार्टीका महासचिव रामगोपाल यादवमाथि कारबाही गरेपछि अखिलेशले बोलाएको बैठकमा २२९ मा अधिकांश विधायक र विधान परिषदका सदस्यले सहभागिता जनाएपछि उनी पार्टीका सबैभन्दा शक्तिशाली नेताको रुपमा देखिएका थिए । यो बैठकपछि पार्टी प्रमुख मुलायममाथि थप दबाब परेको थियो ।

akhilesh-yadav_12लामो समय कारबाहीमा परेर केही महिनाअघि मात्रै पार्टीमा बहाल भएका राष्ट्रिय महासचिव अमर सिंहले पार्टीमा आएको संकटलाई ‘दुर्भाग्यपूर्ण’ बताउँदै मुख्यमन्त्री अखिलेश यादवलाई पार्टीबाट बाहिर राख्ने पारिवारिक कलहमा पार्टी सदस्यलाई मुलायम सिंहको समर्थनमा उभिन आग्रह गरेका थिए । अखिलेशले भने उनलाई पार्टीबाट कारबाही गर्न माग गर्दै आएका छन् ।

Leave A Reply

Your email address will not be published.