नोटबन्दीको ५० दिनपछि मोदीको सम्बोधन, यस्ता छन् अबका योजना

modi-address-759

एजेन्सी
नयाँ दिल्ली, १६ पुस

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँ वर्ष सन् २०१७ को पूर्वसन्थ्यामा देशबासीका नाममा सम्बोधन गर्दै करिब २ महिनाअघिको सम्बोधनका क्रममा गरेको नोटबन्दीको निर्णयको बचाउ गरेका छन् ।

सम्बोधनको अधिकांश समय नोटबन्दीको प्रशंसामा नै विताएका उनले आफ्नो सरकारको निर्णयले आतंकवाद, नक्सलवाद र जाली नोटमाथि गहिरो चोट परेको दाबी गरे । उनले यसलाई ‘शुद्धि यज्ञ’ को संज्ञा दिँदै यसमा देशवासीको धैर्यको ठूलो योगदान रहेको उल्लेख गरे । उनले भने, ‘मलाई नोटबन्दीको विषयलाई लिएर देशभरबाट पत्र आए, जसमा जनताले आफ्नो मानेर सबै कुरा बताएका छन् ।’ उनले सम्बोधनका क्रममा बैंकिङ प्रणालीलाई सरल र सामान्य बनाउने प्रतिवद्धता समेत जनाएका छन् । उनले भने, ‘ठूला नोटबाट केबल महंगी र कालाधन बढिरहेको थियो र गरिबको अधिकार खोसिरहेको थियो ।’

प्रधानमन्त्री मोदीले आफ्नो सरकार सज्जनको मित्र र दुर्जनलाई सज्जन बनाउने पक्षमा भएको बताउँदै सरकार र देशबासी भ्रष्टाचारका विरुद्ध काँधमा काँध मिलाएर लडिरहेको उल्लेख गरे । नयाँ वर्षमा नयाँ संकल्प र उमंगका साथ अघि बढ्नुपर्ने बताउँदै केही महत्वपूर्ण घोषणा समेत गरे । उनले सहरमा ९ लाख रुपैयाँ सम्मको घर बनाउनका लागि ४ प्रतिशत र १२ लाख सम्मको घर बनाउनेका लागि ३ प्रतिशत लोन छुट दिने र गाउँमा प्रधानमन्त्री आवास योजनाअनुसार सन् २०१७ मा ३३ प्रतिशत भन्दा बढी घर बनाउने योजना सुनाए । उनले कानुनले आफ्नो काम गर्ने बताउँदै सरकारको प्राथमिकता इमान्दार व्यक्तिलाई प्रतिष्ठित बनाउने भएको बताए ।

उनले भने, ‘बैंकिङ व्यवस्थालाई सामान्य गर्नमा ध्यान केन्द्रित गर्नुहोस । विशेष गरी ग्रामीण इलाका र दूर–दराजका इलाकामा सक्रिय भएर हरेक साना भन्दा साना कमीलाई हटाउनुहोस ।’ उनले भ्रष्टाचार, कालाधन, जालीनोटका विरुद्धको लडाईमा आफू एक कदम पनि पछि हट्ने पक्षमा नरहेको बताउँदै उनले आफूलाई जनताको माया आशिर्वाद जस्तै रहेको उल्लेख गरे । उनले भारतीय जनताले नोटबन्दीपछि भोगिरहेको कष्ट, भारतको उज्वल भविष्यका लागि जनताको त्यागको मिसाइलको संज्ञा दिए । भारतमा नोटबन्दी भएको ५० दिन पूरा भएलगत्तै सरकारले एटीएमबाट नगद निकाल्ने दायरा समेत बढाएको छ । प्रधानमन्त्री मोदीले गत ८ नोभेम्बरमा नोटबन्दीको घोषणा गर्दै पूराना नोट जम्मा गर्नका लागि ३० डिसेम्बर सम्मको समय तोक्दै एटीएमबाट पनि २५ सय सम्ममात्र नगद निकाल्न पाउने व्यवस्था गरेको थियो ।

अब १ जनवरीबाट एटीएममार्फत ४५ सय सम्म निकाल्न पाइनेछ । बैंकबाट नगद निकाल्ने लिमिट नोटबन्दीपछि हरेक साता २४ हजार रुपैया रहेको छ । मोदीले कालाधन, भ्रष्टाचार र जाली नोट अन्त्य गर्न भन्दै देशको अर्थतन्त्रको ठूलो हिस्सा ओगटेको ५ सय र १ हजार दरका नोटलाई अवैध घोषणा गरेका थिए । उनले नोटबन्दीपछि आफूलाई काम गर्न ५० दिनको समय दिन पनि माग गरेका थिए । सो अवधी ३० डिसेम्बरमा पूरा भएको छ । यसबीचमा नोटबन्दीका कारण उत्पन्न समस्यालाई मध्यनजर गर्दै केही निर्णयमा परिवर्तन समेत गर्नुपरेको थियो भने विपक्षी दलले समेत कडा विरोध गर्दै आएका थिए ।

मोदीले आफ्नो सम्बोधनका क्रममा गर्भवती महिलाका लागि देशव्यापी योजनाको घोषणा गरेका छन् । उनले मातृ मृत्युदर घटाउनका लागि गर्भवती महिलालाई सरकारका तर्फबाट ६ हजार रुपैयाँ सहयोग दिने, यो रकम सिधै गर्भवती महिलाको खातामा जम्मा गराउने उनले घोषणा गरेका छन् । अहिले भारतमा गर्भवती महिलालाई ४ हजार रुपैयाँ उपलब्ध गराइदै आएको छ ।

Leave A Reply

Your email address will not be published.