सातौं राष्ट्रिय खेलकुदको पाठ

सातौं राष्ट्रिय खेलकुदको पाठ

गत साता सुरु भएको सातौं राष्ट्रिय खेलकुद सम्पन्न भएको छ । पाँचै विकास क्षेत्र र नेपाली सेना, सशस्त्र प्रहरी तथा नेपाल प्रहरी गरी आठ समूहका ४ हजार खेलाडी सहभागी यस खेलकुदलाई जति सफल, प्रभावकारी र अनुशासित होला भन्ने सोचिएको थियो, त्यो भने हुन सकेन । २०३८ सालदेखि सुरु भएको राष्ट्रिय खेलकुदको यो सातौं संस्करण हो, जबकि हरेक दुई वर्षमा यो सम्पन्न गरिनुपथ्र्यो । यसरी हेर्दा यो संस्करण १७औं हुनुपर्ने थियो । तर, कहिले राजनीतिक द्वन्द्व त कहिले राजनीतिक खिचातानी, राष्ट्रिय खेलकुद व्यवस्थापनको जिम्मा लिएको राष्ट्रिय खेलकुद परिषद्मा विवाद, त्यसमा पनि राजनीतिक नियुक्ति र खिचातानी आदि कारणले यो खेलकुद प्रतियोगिता समयमै हुन सकिरहेको थिएन ।

यसपटक ढिलो गरी सातौं राष्ट्रिय खेलकुद सम्पन्न त भयो तर यसले गम्भीर सवालहरू पनि उठाइदियो । पूर्वाञ्चलको विराटनगरमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट उद्घाटन गरिएको यस प्रतियोगिताको समापन धरानमा भयो । समापनका निम्ति त्यहाँ पुगेका उपराष्ट्रपति नन्दबहादुर पुन र युवा तथा खेलकुदमन्त्री दलजीत श्रीपाइलीले सम्बोधनका क्रममा जे भने, त्यो निकै गम्भीर छ । राखेपले जतिसुकै भव्य, अनुशासित र प्रभावकारी रूपमा सो प्रतियोगिता सम्पन्न भएको दाबी गरे पनि दर्शक, खेलाडी, रेफ्री, पर्यवेक्षकले अनुभूत गरेको र प्रत्यक्ष देखेको कुरालाई लुकाउन सकिन्न । खेलाडीको अत्यन्तै अमर्यादित र अनुशासनहीन व्यवहार त एकातिर छँदै छ, खेल्ने ठाउँको दयनीय अवस्था, खेलाडी र अन्य पाहुनाको खाने बस्ने अव्यवस्थालगायतका समस्याका कारण पनि सातौं राष्ट्रिय खेलकुदको ‘पूर्ण सफलता’ माथि प्रश्न उठाउने ठाउँ प्रशस्त छ ।

जे जसो भयो, भई नै सक्यो । अब विगतका कमजोरीबाट पाठ सिकेर आगामी दिनमा राम्रो गर्नेतर्फ सोच्नु र त्यसैअनुरूप काम कारबाही अघि बढाउनु बुद्धिमानी हुन्छ । चाँडै नेपालले १३औं साग आयोजना गर्नु छ, यसमा राम्रो व्यवस्थापन गर्न सकिएन भने समग्र राष्ट्रकै बेइज्जत हुनेछ । यसका लागि सबैभन्दा पहिले समग्र नेपाली खेलकुद व्यवस्थापनको जिम्मेवारी पाएको राष्ट्रिय खेलकुद परिषद्ले निश्चित खाका र योजनासहित आजैदेखि काम थाल्नु आवश्यक छ । कुनै पनि प्रकारका आग्रह÷पूर्वाग्रह नराखी समग्र नेपाली खेलकुद क्षेत्रको विकास, विस्तार र उत्थानका लागि सम्बन्धित मन्त्रालयलगायत सम्पूर्ण सरोकारवाला क्षेत्र, निकाय र व्यक्तिहरू लाग्नु जरुरी देखिन्छ । खेलकुद राष्ट्रको पहिचानसँग जोडिएको क्षेत्र हो, खेलाडी राष्ट्रका सम्पत्ति हुन् । खेल र खेलाडीको हितका लागि राज्यले गर्न सक्ने सबै काम गर्नबाट राज्य भाग्न पाउँदैन । विगतमा देखिएका सबै कमजोरीको सूक्ष्म रूपले समीक्षा गर्दै आगामी दिनमा राम्रो होस् भन्नका लागि सबैको ध्यान जाओस्, आआफ्नो क्षेत्रबाट सबैले क्रियाशीलता देखाऊन् ।

Leave A Reply

Your email address will not be published.