सेयर बजार : सुधारमा सरोकारवालाकै फरक मत

सेयर बजार :  सुधारमा सरोकारवालाकै फरक मत

 

यतिबेला सेयर बजारको अवस्था निकै कमजोर छ । कहिले सामान्य सुधार हुने संकेत देखा परे पनि विगत आठ महिनादेखि सेयर बजारको कारोबारमा निकै उताडचडाव आइरहेको छ । यस्तो अवस्थामा पनि अझै सेयर बजारलाई नियमन गर्ने निकायहरू मौन बसेका छन् । यतिबेला बैंकिङ प्रणालीमा तरलताको अभाव भएका कारण बैंक तथा वित्तीय संस्थाहरूले निक्षेप तथा कर्जाको ब्याजदर वृद्धि गरेकाले बजारमा नकारात्मक प्रभाव परेको सम्बन्धित क्षेत्रका बजार विश्लेषकहरूको भनाइ छ । अहिले सेयर बजारको अवस्था किन यस्तो भयो ? खस्कँदो सेयर बजारलाई सुधार्न अब गर्न के गर्नुपर्ला ? अबको समाधानको बाटो के हुन सक्छ भन्ने विषयमा गरिएको कुराकानी :

बजार विश्लेषण गरेर लगानी गर्नुपर्छ

sitaram-thapaliya

 सीताराम थपलिया महाप्रबन्धक, नेपाल स्टक एक्चेन्ज (नेप्से)

सेयर बजार कहिले बढ्ने र कहिले घट्ने भन्ने कुरा सामान्य हो । यो संसारमा चलेकै कुरा हो । यसलाई विषय बनाएर लगानीकर्ताहरू त्यति आत्तिनुपर्ने अवस्था मैले देखेको छैन । अहिले सेयरका लगानीकर्ताहरू धेरै नै सचेत भइसकेका छन् । लगानी गर्दा बजारको माहोल बुझेर, कम्पनीको अवस्था हेरेर लगानी गर्नुपर्छ । लगानीकर्ताले सेयर बजारलाई राम्रोसँग बुझेर संयमित भएर मात्र लगानी गर्नुपर्छ । यति गरेपछि किन आत्तिनुप¥यो । अर्काको लहैलहैमा लागेर सेयरको कारोबार गर्नु भएन । कसैको हल्लाको पछि लाग्नु भएन । कसैले पनि सेयरको कारोबार गर्दा संयमित भएर मात्र गर्नुपर्छ । अनि मात्र सेयर बजारबाट फाइदा लिन सकिन्छ । जानेका बुझेका व्यक्तिहरूसँग सेयर र त्यसको कारोबारको विषयमा बुझ्ने, कुन कम्पनी कस्तो छ भनेर खोज्ने अनि मात्र लगानी गर्ने गर्नुपर्छ । अर्काको हल्ला र लहैलहैमा लागेर सेयरमा प्रगति गर्न सकिँदैन । आजको दुनियाँमा सूचना लिन सकिने माध्यमहरू प्रशस्त छन् । कुनै न कुनै माध्यमबाट सूचना लिन सकिन्छ । राम्रोसँग सूचना लिएर बुझेर मात्र सेयर बजारमा प्रवेश गर्दा राम्रो हुन्छ ।

नियमक निकायको प्रयासले सेयर बजार बढ्ने अवस्था छैन

rabindra-bhattrai

रवीन्द्र भट्टराई, सेयर विश्लेषक

अहिले सेयर बजार जुन रूपमा घटिरहेको छ, यसले बजार बियरिस प्रवृत्तिमा गएको स्पष्ट संकेत गर्छ । यसरी बजार निरन्तर घट्नुको प्रमुख दुुुई कारण छन् । पहिलो कारण निक्षेप र ऋणको ब्याजदर हो भने दोस्रो कारण लगानीको घट्दो प्रतिफल (बोनस र हकप्रद सेयरपछिको घट्दो प्रतिसेयर आम्दानी) हो । अहिलेको अवस्थामा सरकार वा नियामक निकायहरूले गर्ने कुनै पनि प्रयासले सेयर बजार तीव्र रूपले बढ्ने अवस्था छैन । सेयरका दीर्घकालीन लगानीकर्ताले धैर्य गर्नु, अल्पकालीन कारोबारीले घाटाको सीमा राखेर सेयरको बिक्री गर्नु, बजारमा छिर्न चाहने नयाँ लगानीकर्ता तत्काल बजारमा नछिर्नु नै उत्तम हुन्छ । नयाँ लगानीकर्ताहरूलाई बजारबारे सबै सूचना पर्याप्त मात्रामा नहुने भएकाले पहिले बजारलाई राम्रोसँग विश्लेषण गरेर छिर्दा सम्भावित नोक्सानबाट बच्न सकिन्छ ।

बैंकहरूले निक्षेप र ऋणको ब्याजदर  बढाएकाले बजार प्रभावित

priyaraj-regmi
प्रियराज रेग्मी, अध्यक्ष, नेपाल स्टक ब्रोकर एसोसियसन

सेयर बजार बढ्ने तथा घट्ने सामान्य कुरा हो । तर, लामो समयसम्म लागातार ओरालो लाग्नु राम्रो कुरा होइन । लगातार बजार ओरालो लाग्नुमा विभिन्न कारण हुन्छन् । जस्तो अहिले बैंकिङ प्रणालीमा तरलताको समस्या छ । तरलताकोे समस्याका कारण बैंक तथा वित्तीय संस्थाहरूले निक्षेप तथा कर्जाको ब्याजदर पनि बढाएका छन् । सेयरमा लगानी गर्नेहरूले बैंकबाट ऋण लिएर पनि लगानी गरेका छन् ।
त्यस्ता लगानीकर्ताहरूका लागि बैंक तथा वित्तीय संस्थाहरूले निक्षेप र ब्याजदर बढाउँदा मर्का परेको छ । लोनको ब्याज बढेका कारण लगानीकर्ताहरूले बैंकबाट ऋण लिने काम कम गरेका छन् । जसका कारण सेयर बजारको लगानी पनि घटेको छ । यसले गर्दा सेयरको कारोबारमा नकारात्मक प्रभाव पारेको देखिन्छ ।
त्यस्तै, राजनीतिक अस्थिरताका कारण पनि सेयर बजारमा उतारचढाव आउने गरेको छ । जबसम्म रानीतिमा स्थिरता आउँदैन तबसम्म त्यसको प्रभाव सेयर बजारमा परिरहन्छ । समग्र रूपमा धितोपत्र क्षेत्रको विकासले सेयर बजारलाई प्रभाव पारिरहेको हुन्छ । बजार बढ्नु र घट्नुमा यस्तै विभिन्न फन्डामेन्टलहरूले प्रभाव पारिरहेका हुन्छन् ।

बैंकिङ प्रणालीमा तरलताको  अभावले अवस्था बिग्रियो

ananta-paudel
अनन्त पौडेल, सञ्चालक, अनलाइन सेक्युरिटी प्रालि

अहिले सेयर बजारमा केही सुधार देखिए पनि लामो समयदेखि बजार ओरालो लागेको छ । यस्तो हुनुमा बैंकहरूको निक्षेप र कर्जाको ब्याजदर बढेका कारण सेयर बजारमा यस्तो अवस्था आएको हो । यतिबेला बैंकिङ प्रणालीमा तरलताको अभाव भएका कारण बैंक तथा वित्तीय संस्थाहरूले निक्षेप र कर्जाको ब्याजदरमा वृद्धि गरेकाले यस्तो अवस्था आएको हो । बजारमा सेयरको सप्लाई पनि बढेको छ । जसअनुसारको खपत हुन सकेको छैन । सेयर बजारमा नयाँ खालको डेभलपमेन्टको आवश्यकता छ । जुन अनलाइन टे«डिङ हो । अनलाइन टे«डिङ सुरु भएपछि सेयर बजारको व्यवसाय पनि बढ्छ । बजार पनि व्यवस्थित एवं पारदर्शी बनाउन सहयोग पुग्छ । त्यति मात्र होइन, अनलाइन प्रणालीको सुरुवात भएपछि सेयरको कारोबारमा व्यापकता आउँछ । यस प्रणालीको सुरुवातसँगै धेरैभन्दा धेरै लगानीकर्ताहरू सेयर बजारमा भित्रिन पनि सहयोग मिल्छ । यस प्रणालीले समग्र सेयर बजारलाई नै व्यवस्थित गर्छ । हामीले उपत्यका बाहिर पनि सेयर ब्रोकर कम्पनीहरूका शाखा विस्तार गर्नुपर्छ भन्ने माग राख्दै आएका छौं । यस विषयमा पनि छलफल भइरहेको छ । ब्रोकर कम्पनीका शाखाहरू विस्तार भए भने सेयर कारोबारको दायरा पनि फराकिलो हुन्छ । जसका कारण गाउँगाउँ तथा दुर्गम स्थानका लगानीकर्ताहरू सेयर कारोबारको दायरामा आउन सक्छन्् ।
सेयर बजारको भविष्य नराम्रो छैन । यो बेला बैंक तथा वित्तीय संस्थाहरूले निक्षेप र कर्जाको ब्याज बढाउने, व्यवसायीहरूले बैंकलाई लोन तिर्ने बेला पनि यही समय र अन्य विभिन्न कारणले गर्दा सेयर बजारमा केही गिरावट आएको हो । सेयर बजारका लगानीकर्ताहरूले कुनै पनि कम्पनीको सेयर किन्दा कम्पनीको पुँजी, नाफा नोक्सान हेरेर मात्र किन्ने गर्छन् । सोहीअनुसार सेयरको कारोबार बढ्ने र घट्ने हुन्छ । राम्रो कम्पनीको सेयर समान्यतया सबैले किन्छन् । जसका कारण ती कम्पनीहरूको कारोबार पनि बढ्ने गर्छ ।

नियमक निकायले  बजारलाई जुवा घर बनाए

uttam-aryal
उत्तम अर्याल, अध्यक्ष, सेयर लगानीकर्ता संघ

अहिलेको मौसम खास गरेर सेयरको कारोबार घट्ने मौसम नै हो । केही समय घट्यो भनेर आत्तिनुपर्ने अवस्था भने छैन । हामी सेयरका लगानीकर्ता हौं, आफ्नो सेयर किन्ने र बेच्ने अधिकार हामीलाई छ । तर, हामी कहिलेकाहीँ नजानीनजानी सेयरको कारोबार गरिरहेका हुन्छौं । त्यसले हामीलाई नै हानि हुने हो । लगानीकर्ताहरूमा सेयरसम्बन्धी शिक्षाको पनि अभाव छ । जसका कारण लगानीकर्ताहरू नै मारमा परेका छन् । लगानीकर्ताहरू सेयर बजारका विषयमा केही जान्ने र सुन्नेको पछि लाग्ने गर्छन् र सेयर कारोबारका लागि उनीहरूसँगै भर पर्ने गर्छन् ।
यो प्रवृत्ति एकदमै नराम्रो प्रवृत्ति हो । सेयर बजार रातो हुँदा बेच्ने र हरियो हुँदा किन्ने माहोल छ । लगानीकर्ताहरू सेयर किन्न ब्रोकर कम्पनीमा धाउँछन् । उनीहरूले बेच भने बेच्ने र किन भने किन्ने टे«न्ड छ । ब्रोकरलाई पनि सिस्टमले त्यस्तो बनाएको छ । त्यो उनीहरूको दोष होइन । सेयरका बारेमा केही जान्ने र सुन्नेको इसारामा सेयर बजार चलेको छ । हामी यस्तो प्रणालीको अन्त्य गर्न चाहन्छौं ।
नियामक निकायहरूले सेयर बजारलाई जुवाघरजस्तै बनाएका छन् । हामी त्यस्तो हुन दिँदैनौं । बजार घट्यो वा बढ्यो भने स्पष्टीकरण सोध्न सक्ने अधिकार भएका निकायहरू चुप लागेर बस्न मिल्छ ? यिनीहरूले लगानीकर्ताहरूलाई फसाउने काम गरेका छन् । यस्तो सिस्टमलाई हामी हटाएरै छोड्छौं । जसका लागि अनलाई सिस्टको विकास गर्न जरुरी छ । अनलाइन सिस्टम सुरु भएपछि सेयर कारोबारमा सबै लगानीकर्ताहरूको पहुँच हुन्छ । सेयर कारोबारको दायरा पनि फराकिलो बन्छ । लगानीकर्ताहरूको पनि व्यपार व्यवसाय बढ्छ । सेयर बजारको भविष्य निकै उज्ज्वल छ । लगानी गर्न लगानीकर्ताहरू आतुर छन् । तर, राज्यले लगानी गर्ने वातावरणको सिर्जना गर्नुपर्छ ।

Leave A Reply

Your email address will not be published.