चिसोबाट बचौं र बचाऔं

चिसोबाट बचौं र बचाऔं

पुस महिना सुरु भएसँगै मुलुकभर चिसो बढेको छ । हिमाली र पहाडी भेगमा उचाइ तथा अन्य वातावरणीय कारणले बढी चिसो हुनु स्वाभाविक नै हो । तराई क्षेत्रमा पनि शीतलहर सुरु हुने देखिएको छ । आइतबारदेखि सुरु भएको मौसम बदलीका कारण केही स्थानमा पानी परेको छ, जसले चिसो बढाएको छ । उच्च पहाडी र हिमाली क्षेत्रमा भारी हिमपात हुन सक्ने सम्भावनातर्फ पनि मौसम पूर्वानुमान महाशाखाले संकेत गरिसकेको छ । यस्तो अवस्थामा चिसोबाट बच्ने आवश्यक उपायको तयारीबारे बेलैमा सोच्नु आवश्यक छ ।

अत्यधिक चिसोसँगै स्ट्रोक तथा उच्च रक्तचापका बिरामी बढेको तथ्यांक सार्वजनिक भइरहेको छ । विभिन्न अस्पतालमा उच्च रक्तचाप र स्ट्रोकका बिरामीको चाप बढेको समाचार बाहिर आइरहेका छन् । यसले विशेष गरी बूढापाका, दीर्घरोगी र बालबालिकालाई प्रभाव पारेको देखिन्छ । हिमाली, पहाडी र तराई क्षेत्रमा बसोवास गर्नेहरूलाई यसै पनि ठन्डीयामले सताउने गरेको छ । अघिल्ला वर्षमा पहाडी क्षेत्रमा चिसोको प्रभाव कम पर्ने गरेको भए पनि १२ वैशाख २०७२ मा गएको विनाशकारी भूकम्पपछि ठन्डीमा पीडा खेप्नेहरू पहाडी क्षेत्रमा पनि बढेका छन् । भूकम्पका कारण धेरैको घर भत्किएको छ र नयाँ घर निर्माण भइसकेको अवस्था छैन । अस्थायी टहराहरूले चिसो थेग्न सक्ने अवस्था नभएको, धेरैले घरमै भएका पुराना जस्ता र काठपातको भरमा अस्थायी टहरा बनाएका र ती टहरा पनि त्यति भरपर्दा नभएका कारण उनीहरूलाई निकै समस्या भएको पाइन्छ । उता, तराईमा निम्न आय भएका र विपन्न परिवारमा बाक्ला लुगा र ओड्ने–ओछ्याउने कपडा छैनन् भने त्यहाँको परम्परा पनि घुर तापेर रात कटाउने रहेको छ । यसले एकातिर चिसोको जोखिम घटाउन सक्दैन भने अर्कातिर आगलागी र आगोजन्य दुर्घटनाको  सम्भावना बढाउँछ ।

भूकम्प गएलगत्तै घर निर्माणका लागि सरकारले सहयोग गर्ने आश्वासन दिएका कारण कतिपय घर बनाउने सक्नेहरूले पनि घर बनाएनन् । अस्थायी टहरामा बसोवास गर्ने बालबालिका र वृद्धमा चिसोको प्रभाव बढ्न थालिसकेको छ । अहिले पनि कतिपय त्रिपालमुनि बस्दै आएका छन् । त्रिपालमुनि बस्नेहरूको स्थिति झनै बेहाल छ । चिसोयाममा रुघा, खोकी र ज्वरोले सताउने भएकाले बेलैमा सजग रहन जरुरी हुन्छ । सबैभन्दा पहिला टहरोमा बसोवास गर्नेहरूलाई सुरक्षित बनाउनेतर्फ सरकारले तत्कालै ध्यान दिनुपर्छ । अहिले पनि भूकम्प प्रभावित क्षेत्रमा काम गर्ने थुप्रै संघसंस्था छन् । तिनीहरूले तत्कालै भूकम्प प्रभावितलाई चिसोबाट जोगाउने उपाय खोज्नुपर्छ । पहाडी क्षेत्रमा कतिपय नागरिकलाई केही थान न्यानो कपडा उपलब्ध गराएर जोगाउन सकिन्छ भने कतिपयलाई टहरा नै बनाइदिनुपर्ने पनि हुन सक्छ । विधि पु¥याएर बनाउने हो भने टहरो पनि न्यानो खालको बनाउन सकिन्छ । महŒवपूर्ण कुरा चिसो बढिसकेको अवस्था छ, अब सरकार, सरकारी संयन्त्र, स्थानीय संघसंस्था तथा व्यक्ति स्वयंले चिसोबाट बच्ने उपाय खोज्नु र त्यसलाई अपनाइहाल्नु आवश्यक छ ।

Leave A Reply

Your email address will not be published.