पुनर्निर्माण राजनीतिभन्दा माथि राख

पुनर्निर्माण राजनीतिभन्दा माथि राख

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील ज्ञवालीलाई सरकारले चित्तबुझ्दो काम नगरेको भन्दै स्पष्टीकरण सोधेपछि पुनर्निर्माणको पर्खाइमा रहेका भूकम्पपीडितमा अन्योल बढेको छ । सीईओ ज्ञवालीले सरकारलाई स्पष्टीकरणसमेत बुझाइसकेका छन् । जवाफ माग्ने र दिने कार्यले पुनर्निर्माणमा थप ढिलाइ हुने लगभग निश्चित छ । सरकार र प्राधिकरण सीईओबीच चलेको पछिल्लो जुहारीले भूकम्पपीडित सर्वसाधारण थप पीडित हुने खतरा छ । सरकारले चुस्त शैलीमा काम नगर्दा पुनर्निर्माणमा ढिलाइ भएकामा कुनै शंका छैन, तर यसरी सीईओ र सरकारबीच एक अर्कालाई खुइल्याउने खेल सुरु भएपछि मर्कामा पर्ने भनेका भूकम्पपीडित जनता नै हुन् ।

प्राधिकरणले चुस्त काम गर्न नसकेको आरोप सरकारले लगाएको छ । प्राधिकरण आफैंमा स्वायत्त निकाय होइन । पुनर्निर्माणका लागि आवश्यक रकम अर्थ मन्त्रालयले दिनुपर्छ भने पुनर्निर्माणसम्बन्धी कार्यविधि प्राधिकरणले बनाएर सरकारलाई पेस गर्छ । सरकारले पारित गरेपछि मात्रै कार्यविधिअनुरूप प्राधिकरणले काम अघि बढाउँछ । तर, प्राधिकरणले बनाएको कार्यविधि पारित गर्न महिनौं लगाउने सरकार रकम निकासाको सवालमा पनि कन्जुस भएको छ, विगतमा । त्यस कारण प्राधिकरणकै कारण पुनर्निर्माणको काम ढिलो भयो भन्दा प्राधिकरणलाई आक्षेप लगाएको ठहर्छ । वर्तमान कार्यकारी प्रमुखकको कामबाट प्रभावित भएको अभिव्यक्ति प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड स्वयंले दिएका थिए । त्यसकारण अहिले स्पष्टीकरण सोध्नुमा सरकार प्राधिकरणको कार्यशैलीभन्दा पनि राजनीतिक कारणबाट प्रभावित भएको हो कि भन्ने देखिन्छ । यसको अर्थ प्राधिकरण जतिसुकै सुस्तगतिमा हिँडे पनि वर्तमान नेतृत्वलाई नै टिकाइराख्नुपर्छ भन्ने होइन । नेतृत्व परिवर्तन गर्दा पनि उचित कारण पेस गर्न सक्नुपर्छ । आफ्नो कमजोरी ढाक्नका लागि कसैलाई अनावश्यक अभियोग लगाउने शैली सरकारले त्याग्नुपर्छ ।

प्राधिकरणमा को छ, कसले नेतृत्व गरेको छ ? भन्नेमा भन्दा पनि प्राधिकरणले कस्तो काम गरेको छ ? भन्नेमा सरकार सचेत हुन जरुरी छ । प्राधिकरणको सीईओ जोसुकै होस्, यदि उसले पुनर्निर्माण प्राधिकरणका सन्दर्भमा जायज काम गरेको छ भने निरन्तर काम गर्न दिनुपर्छ । व्यक्ति जुनसुकै आस्था र विचारबाट प्रेरित होस्, यदि भूकम्पपीडित नागरिकको पक्षमा काम गरेको छ भने उसको काममा अनावश्यक हस्तक्षेप गरिनुहुन्न । सरकारले अहिले प्राधिकरण प्रमुखलाई सोधेको प्रष्टीकरण ‘बेमौसमी बाजा’जस्तो देखिन आएको छ । ज्ञवालीको स्थानमा अरू कोही व्यक्ति सीईओ भएर आउनु मात्रै कुनै उपलब्धि होइन, न त परिवर्तनको संकेत नै हो । सरकार फेरिनेबित्तिकै हरेक संघसंस्थामा पात्र फेरिने प्रवृत्ति निरुत्साहित गर्दै क्षमतावान् व्यक्तिलाई मन फुकाएर काम गर्न दिने वातारण तयार गर्नुपर्छ ।

Leave A Reply

Your email address will not be published.