प्रदूषण नियन्त्रण नीति बनाऊ

प्रदूषण नियन्त्रण  नीति बनाऊ

एकजना स्वस्थ व्यक्तिले औसत प्रतिमिनेट १२ पटकसम्म सास फेर्छ । त्यसक्रममा उसले लगभग ६ लिटर हावा प्रयोग गर्छ । यसबाट अनुमान गर्न सकिन्छ, बाँच्न हावा कति आवश्यक छ । खाना नखाई मानिस तीन सातासम्म र पानी नपिई २÷३ दिनसम्म बाँच्न सक्ने शोधकर्ताको दाबी छ । तर, हावाबिना ३ मिनेटभन्दा बढी बाँच्न गाह्रो हुन्छ । हामीले सास फेर्ने हावामा सामान्य आँखाले देख्न सकिने र नसकिने धुलोका अनेकौं कण हुन्छन् । त्यसमध्ये केही हानिकारक हुन्छन् त, केही असर नगर्ने किसिमका पनि हुन्छन् । हावामा यसरी हानिकारक धुलोका कणको मिसावट भई हुने वायु प्रदूषणबाट राजधानी काठमाडौंै अछुतो छैन । काठमाडौंैमा गरिएका अध्ययनलाई मनन गर्दा यहाँ विशेषगरी रासायनिक वा अन्य किसिमका प्रदूषणभन्दा पनि सडक, सवारी र कलकारखानाबाट निस्कने धुवाँ र धुलोको समस्या  टड्कारो देखिन्छ ।

राजधानीको प्रदूषण नियन्त्रण गर्न अहिलेसम्म भएका पहल पर्याप्त छैनन् । यसका साथै भएका कार्यक्रम तथा नीति पनि समन्वय र अनुगमनको अभावमा उपलब्धिमूलक हुन सकिरहेका छैनन् । वातावरण संरक्षणका लागि सरकारले सवारी इन्धन (डिजेल र पेट्रोल)मा प्रतिलिटर ५० पैसाका दरले प्रदूषण कर लिँदै आएको छ । कर लिन सुरु गरेको पाँच वर्ष बितिसक्दा पनि सरकारले प्रदूषण नियन्त्रणको क्षेत्रमा लगानी गर्नुपर्ने २ अर्ब रुपैयाँ त्यत्तिकै थन्किएको छ । सडक धुलाम्मे भएको बेला होस् या कुनै कलकारखानाबाट निस्कने धुवाँको मुस्लो, हामी ‘ओहो, कति धेरै प्रदूषित भएको’ भन्छौं । तर, यी र यस्ता सामान्य आँखाले देख्न सकिने धुलोभन्दा देख्न नसकिने धुलोका कण स्वास्थ्यका लागि अझ बढी हानिकारक हुन्छन् । सडकमा सवारीसाधनले बाक्लो धुवाँको मुस्लो फाल्दा हामी नाकमुख छोप्छौं, तर गाडीको धुवाँबाट निस्कने धुलोका कण यति सूक्ष्म हुन्छन् कि नाकभित्र रहेका रौंले पनि तिनलाई छेक्न सक्दैनन् र सिधै फोक्सोसम्म पुग्छन् । यस्तो अवस्थामा हातले नाकमुख छोप्नुको अर्थ रहँदैन ।

नेपालले २ दशमलव ५ माइक्रो मिटरसम्मका धुलोका कणको मात्रा ४० माइक्रोग्राम प्रतिघन मिटरसम्मलाई सामान्य मानेको भए पनि उपत्यकामा २ सयसम्म पुगेको पाइएको छ । प्रदूषणरहित एक मात्र यातायात ट्रली बस २०६६ सालमा बन्द भइसकेको छ । कुनै बेला काठमाडौंबाट मध्यपुर ठिमी र भक्तपुरको सूर्यविनायकसम्मको १३ किलोमिटर सडकमा गुडेका ३२ वटा ट्रली बस अब इतिहासमा मात्रै छन् । २२ ट्रली बससहित चीन सरकारले स्थापना गरिदिएको ट्रली बस सेवामा २०५२ सालमा दाताले १० बस थपिदिएको थियो । बन्द हुने बेलासम्म नौवटा मात्र चालू अवस्थामा थिए । धुवाँरहित भएकाले पर्यावरणका लागिसमेत उत्तम ट्रली बसलाई व्यवस्थित गर्न सरकारले सकेन । सरकारले प्रदूषण कर उठाए पनि त्यसका लागि कार्यक्रम नबनाउँदा कर उठाउनुको औचित्य देखिँदैन । सवारीसाधनमा हरियो स्टिकर लगाउन सुरु गरे पनि त्यसको अनुगमन कमजोर हुँदा सवारीसाधनले धुँवाको मुस्लो फालिरहेका छन् । सवारीसाधनको प्रदूषण मापन गर्ने यन्त्र किनेर सडकमा नै परीक्षण गर्न आवश्यक छ । यस्तै, उपत्यकाको प्रदूषणको मापन गर्ने प्रविधि सबैतिर जोड्न पनि आवश्यक छ । प्रदूषण कर उठाए पनि त्यसको प्रयोग गर्न कार्यविधि नबन्दा समस्या भएकाले सरकारले त्यसको प्रयोगका लागि नीतिनियम बनाएर प्रदूषण नियन्त्रणमा ध्यान दिन अबेर गर्नुहुन्न ।

Leave A Reply

Your email address will not be published.