नेपाल–भारत सम्बन्धको विभिन्न कोणबाट शल्यक्रिया

नेपाल–भारत सम्बन्धको विभिन्न कोणबाट शल्यक्रिया

टपेन्द्र कार्की

नेपालको अधिकांश भूभाग सीमा जोडिएको भारतसँग नेपाल र नेपाली जनताको साइनो सम्बन्ध र सहकार्यका विविध आयामका विषयमा ऐतिहासिक जानकारी तथा तथ्यपरक पुस्तक प्रकाशित भएको छ । राजनेतादेखि पूर्वप्रधानमन्त्री विशेषज्ञ तथा जानकारी र सीमाविद्को समेत लेखरचना समेटेर तयार पारेको यस पुस्तकले केही हदसम्म नेपाल–भारत सम्बन्धबारे जानकारी दिने र भारतले नेपाललाई हेर्ने दृष्टिकोणबारे बुझ्न सहज हुनेछ । माइलस्टोन प्रकाशनले ‘नेपाल–भारत सम्बन्ध विगत, वर्तमान र भविष्य’ शीर्षकमा तयार पारेको यस पुस्तकमा भारतीय विस्तारवाद र त्यसका पन्जाको टुप्पामा बसेर चिथोर्न पल्केकाहरूले नेपाललगायत दक्षिण एसियाका मुलुकमा कसरी आफूलाई अब्बल साबित गराउन कोसिस गरिरहेका छन् भन्ने यथार्थलाई लिपिबद्ध गरिएको छ ।

भनिन्छ, पञ्चायतकालमै २० हजार भारतीयले नेपाली नागरिकता झोलामा बोकेर हिँड्थे । उनीहरू भारत जाँदा भारतकै नागरिक नेपाल आउँदा नेपालकै नागरिक हुन्थे । त्यतिबेलाको अवस्था र यतिबेलाको अवस्था निकै फरक भएको छ । विकराल बन्दै गएको नागरिकता समस्याबारे विद्धान् लेखकहरूले आफ्नो धारणा राज्य सञ्चालककै तहमा बसेर उपदेशमूलक रूपमा प्रस्तुत गरेका छन् । तथ्यलाई उल्लेख नगरी सही वा गलत भन्न कठिनाइ अपनाएर कूटनीतिक भाषा प्रयोग गर्दा सर्वसाधारणले त्यसलाई बुझ्न कठिन भएको छ । धेरैजसो आलेखमा ‘चेतावनी’ को भाषा शैलीले प्रस्तुत भएको आभास हुन्छ । भारतको उग्र विरोध गर्दा राष्ट्रवादी हुने र बोल्दै नबोल्दा पनि राष्ट्रवादकै एउटै कित्तामा बस्न खोज्नेहरूका बीचबाट यो आलेख तयार भएको बुझिन्छ । तर, सबै विद्वान्हरूको अभिमत भने नेपाल–भारत सम्बन्ध मात्रै नभएर भारतकोे प्रभाव विस्तार भएकोमा बढी नै चिन्तित देखिन्छन् ।

15555777_10210113377582331_1418157360_n
प्रकाशक : माइलस्टोन प्रकाशन तथा प्रसारण लि. पुस्तकको नाम : नेपाल–भारत सम्बन्ध विगत, वर्तमान र भविष्य सम्पादक : डा. विजयकुमार पौडेल मूल्य : ५२५ रुपैयाँ

नेपाल भारतको सीमाक्षेत्रमा यतिबेला करिब–करिब ५० हजार भारतीय सुरक्षाकर्मी तैनाथ छन् । सीमा क्षेत्रको नियमित नियमन र सुरक्षाका लागि भारत आफैले सीसी टिभीको व्यवस्था गर्ने भनेको छ । भारतीय गृहमन्त्रीबाट सीमा अनुगमनका नाममा हुने सीमा क्षेत्रको भ्रमणजस्ता विषयले नेपाललाई बेलाबेलामा झस्काउने गरेको छ । भारतले नेपालसँग सीमा जोडिएको क्षेत्रमा सधैंजसो दोहोरो सुरक्षा खटाउँदै आएको छ । नेपालसँग सीमा जोडिएको १,७५१ किलोमिटरमध्ये २६३ किलोमिटर उत्तराखण्ड, ५६० किलोमिटर उत्तरप्रदेश, ७२९ किलोमिटर बिहार, १०० किलोमिटर पश्चिम बंगाल र ९९ किलोमिटर सिक्किमसँग जोडिएको छ । त्यसकारण पनि भारत सधैं नेपालको सीमामा दोहोरो सुरक्षा तैनाथ गर्न चाहन्छ ।  भारतले सधैं आफूलाई दक्षिण एसियामा केन्द्रमा राख्दै आएको छ । नेपालसँग सीमा जोडिएको मधवनी जिल्लाको मात्र कुरा गर्ने हो भने ३८ वटा मुख्य र सहायक गरी पिल्लरहरू यतिबेला गायब छन् । नेपालसँग सीमा जोडिएका अन्य जिल्लाहरू युपी, विहार, उत्तराखण्डलगायत क्षेत्रमा रहेका कुल ५ हजार ४५ वटा पिल्लरमध्ये १,७१६ पिल्लर हराएको भारतीय सरकारको गृह मन्त्रालयको तथ्यांकमै छ । त्यहीँको गृह मन्त्रालयको तथ्यांक हेर्ने हो भने १,५७५ पिल्लरहरू क्षतिग्रस्त अवस्थामा छन् ।

त्यस्तै, उत्तरप्रदेशसँग सीमा जोडिएको क्षेत्रमा रहेका १,९९० जंगे पिल्लरमध्ये २८८ गायब भएको र ३१९ क्षतिग्रस्त अवस्थामा रहेका छन् । उता उत्तराखण्ड सीमामा रहेका ५६ वटा पिल्लरमध्ये ४ वटा हराएका छन् भने १० वटा क्षतिग्रस्त बनेका छन् । पश्चिम बंगाल र सिक्किमसँग सीमा जोडिएका क्षेत्रमा पनि यही अवस्था देखिन्छ भने हामीलाई हेर्ने दृष्टिकोणमा भारतले यसरी नै थिचोमिचो गर्दै आएको छ । यी र यस्ता विषयलाई पुस्तकमा समेटिएका लेखकहरूले सिधै उल्लेख गर्न सकेको अवस्था छैन । हामीलाई कसले, किन, कसरी हेपिरहेको छ भन्ने विषयमा पुस्तकभित्र सबै आलेखहरू अध्ययन गर्दा प्रस्ट हुन्छ । हाम्रो आर्थिक परनिर्भरता र ठूल्दाइ भाइहरूलाई गर्ने व्यवहार ममतापूर्ण छैन भन्ने बोध पुस्तकले गराएको छ ।

१९५०को सन्धिदेखि विभिन्न सम्झौताहरूको चिरफार भएका छन् । नेपालको अस्थिरताको जड सुगौली सन्धि नेपाल भारत सम्बन्धको पुर्नपरिभाषाजस्ता महŒवपूर्ण विषयमा लेखकहरूले आफ्ना मत तथ्यगत ढंगले विश्लेषण गरेका छन् । नेपाललाई सिक्किमीकरण बनाउने कि भुटानीकरण गर्ने वा को को लेन्डुप दोर्जे हुनेजस्ता राजनीतिक दाउपेजका विषयलाई प्रत्यक्ष वा अप्रत्यक्ष लेखमा सूक्ष्म ढंगले विश्लेषण गरिएको छ । त्यस्तै, पछिल्लो समय नोपली जनताको अभिमतबाट बनेको संविधान त्यसमा भारतले गरेको टिप्पणी, संविधान संशोधन, नेपालमाथि भारतले लगाएको नाकाबन्दी र नेपाल भारत चीनसँग त्रिपक्षीय सीमा जोडिएको लिपुलेक र नेपाली जनको भविष्यलाई पनि पुस्तकले आफ्नो सामग्री राखेर थप गहकिलो बनाएको छ ।विभिन्न समयमा भारतले नेपालको आन्तरिक मामिलामा राख्ने चासो नेपाली पक्षले त्यसलाई कहिले हुबहु लागू गर्न खोज्दा अनुकुलतामा कहिले त्यो राष्ट्रवादी हुने कहिले राष्ट्रघात हुने मानसिक रोग हामीसँग व्याप्त छ । यस्तो रोगको केही हदसम्मको निवारण प्रकाशित पुस्तकमा समेटिएका आलेखहरूले गर्नेछन् । समग्रमा पुस्तक पठनीय मात्र होइन, संग्रहणीय र ऐतिहासिक ग्रन्थसमेत बनेको छ ।

Leave A Reply

Your email address will not be published.