ललितपुरको पर्यटनमा प्राकृतिक स्रोत

ललितपुरको पर्यटनमा प्राकृतिक स्रोत

अमृतनाथ तिमल्सिना

विकासको बहसमा असीमित सम्भावनाको क्षेत्रका रूपमा पर्यटनलाई हेर्ने र विश्लेषण गर्ने काम पछिल्ला दिनमा तीव्र रूपमा भएको छ । पर्यटन विकासका कोणबाट नेपाली सम्भावना अन्तर्राष्ट्रिय बजारमा समेत स्थापित भइसकेको छ । पर्यटनमा प्राकृतिक स्रोत अनुपम वस्तु हो । निर्मितभन्दा प्राकृतिक वस्तु पर्यटनका दृष्टिले उच्च कोटिको हुन्छ । पर्यटकीय वस्तु कम प्रचार बढी हो । यद्यपि, वस्तु नै ओजपूर्ण हुँदा प्रचारले न्याय पाउने पक्का हुन्छ ।उच्च स्थानमा पुगेर चारैतिर देख्ने मन कसलाई हुँदैन र ? को नराम्रो मान्ला र यस्तो ठाउँमा पुग्दा ? साँच्चै यस्ता ठाउँहरू आफैंमा रमाइला हुन्छन् र महŒवपूर्ण

पनि । तर, पनि कतिपयले यस्तो स्थानमा पुग्ने कल्पनासम्म पनि गर्न सक्दैनन् भौतिक रूपले नै कतिपयको मन भएर पनि यस्ता ठाउँहरू हुँदैनन् । राजधानीमै रहेर पहाडी क्षेत्रको अनुभव लिनका लागि ललितपुरका विभिन्न यस्ता प्राकृतिक स्रोतहरू छन् जहाँबाट भरपुर आनन्द अनुभव गर्न सकिन्छ । त्यस्ता स्थानहरूमा गएर पनि रूख तथा बुट्यानहरूकै कारण र सानातिना अवरोधले पनि त्यस्तो देख्न नसकिने अवस्थामा भ्यु टावर (दृश्यावलोकन गर्ने स्थान) र दुरबिनको व्यवस्था गर्ने गरिन्छ ।

nagdaha-2

ललितपुर जिल्लाको सहरी क्षेत्रलाई उपत्यकाको रूपमा परिभाषित गर्ने सौभाग्य जुराइदिएका भञ्ज्यांग र थुम्काहरू राजधानीको दृश्यावलोकनका लागि प्रथम चरणका पर्वत रहेका छन् । पदमार्गमा पर्ने तथा मोटरबाटोबाट पुग्न सकिने यी ठाउँहरूमा लामाटारको लाँकुरीभञ्ज्यांग जहाँ मोटर बाटोबाट पुग्न सकिन्छ । ग्वार्कोबाट १५ किमी मोटर बाटोबाट यो स्थानमा पुग्न सकिन्छ । यहाँ एउटा रिसोर्ट छ । जहाँ साँझ सूर्यास्तको दृश्य हेर्ने र बिहान सूर्योदयको दृश्य हेर्ने राम्रो अवसर पाइन्छ । यहाँ भ्यू टावरको पनि व्यवस्था छ ।

यस्तै, विशंखुनारायणको कोटडाँडा अर्को यस्थो सम्भाव्ययुक्त स्थान हो । यो पदमार्गमा पर्छ । एकदिने पदयात्रामा जाँदा विशंखु मन्दिरमाथि थुम्काबाट उपत्यकाको र हिमशृंखलाको एकसाथ अवलोकन गर्न सकिन्छ । यहाँ होमस्टेको सम्भावना विकास गर्न सकिन्छ । तामाङ समुदायको बस्ती रहेको यस स्थानमा अर्गानिक खेती र लोकल कुखुराको मासु, ढिँडो र लोकल चामल र कोदाको रक्सी पाइन्छ । एकदिने पदयात्रामा सूर्यास्त र सूर्योदयको अवलोकन, उपत्यका र हिमशृंखलाको अवलोकन गर्न सकिन्छ, यहाँ भ्यु टावर छैन ।

यो स्थानमा अहिले साहसिक खेल प्याराग्लाइडिङको सुरुवात भएको छ । यस्तै, फुल्चोकी अर्को दृश्यावलोकन गर्ने उपयुक्त स्थल हो । यो ललितपुरको उपत्यकातर्फ फर्किएका स्थानहरूमध्ये सबैभन्दा अग्लो स्थान हो । यहाँ भ्यु टावर नभए पनि उपत्यका र हिमशृंखलाको राम्रोसँग अवलोकन गर्न सकिन्छ । यस्तै, अर्को महŒवपूर्ण स्थान बडिखेल र लेलेबीचको भञ्ज्यांग हो । यस्तै, अर्को उपयुक्त स्थान सुन्तोलीडाँडा हो । देवीचौरको यो सुन्तोलीडाँडामा पर्यटन विकासका लागि संस्था स्थापना भएर काम सुरु पनि भइसकेको छ । यस्तै, नल्लुको लभ डाँडा र पाथीभराबाट पनि काठमाडौं उपत्यका हिमशृंखलाको अवलोकन गर्न सकिन्छ । यस्तै, दलचोकी अर्को यस्तो महŒवपूर्ण स्थान हो जहाँबाट उत्तरतर्फ लहरै हिमशृंखला देख्न सकिन्छ भने काठमाडौं उपत्यकाको दृश्यपान गर्न पनि त्यहाँ निकै राम्रो स्थान छ । साथै दक्षिणतर्फ तराईको रौतहटदेखि विरगन्जसम्म देख्न सकिन्छ । यो ललितपुरको सबैभन्दा उपयुक्त दृश्यावलोकन स्थल हो ।

यस्तै, ललितपुरका दक्षिणी भेकमा इकुडोलको रमिते डाँडा र गोटिखेलको बुर्जाको डाँडो अनि बुखेलको विमिरे अरू यस्तै उपयुक्त स्थानहरू हुन् । गोटिखेलकै कालेश्वर महादेवस्थान पनि हिमालदेखि तराईसम्म एकै स्थानबाट अवलोकन गर्न सकिने सम्भावित भ्यु प्वाइन्ट हो । दलचोकी, लभडाँडा, पाथीभरा, बुर्जाको डाँडा, रमिते, कालेश्वर महादेवस्थान आदि स्थानमा सानो हाइटकै भ्यु टावर भए पनि राम्रोसँग दृश्यावलोकन गर्न सकिने सम्भावना छ । यस्तै, कालेश्वर गाविसमा रहेको मृगबिसौना र काभ्रेसँगको सीमास्थल मानिने देउराली थुम्का जिल्लाकै सबैभन्दा अग्लो भ्यु प्वाइन्ट हो । यहाँबाट उत्तरमा हिमश्रशृंखलाहरू पूर्वमा काभ्रे र रामेछापका विभिन्न स्थानहरू, पश्चिममा मकवानपुरका विभिन्न स्थान र दक्षिणमा मकवानपुर र सिन्धुलीदेखि तराईका विभिन्न स्थानहरू देख्न सकिन्छ । यस्तै, मानिखेलको खोरभञ्ज्यांगलाई पनि पर्यटकीय स्थानका रूपमा विकास गर्न सकिन्छ । दृश्यावलोकन स्थलबाहेक प्राकृतिक सम्पदालाई पर्यटकीय रूपमा उपयोग गर्नका लागि ऐतिहासिक तथा पुराताŒिवक गुफाहरूलाई लिन सकिन्छ ।

जिल्लाका केही स्थान यस्ता प्राकृतिक बरदान छन् यिनको प्रचारप्रसार हुन सकेको छैन । यस्ता स्थानहरूमा गोसाइकुण्ड पुग्ने गुफाको एक बिन्दुका रूपमा कुम्भेश्वर मन्दिरछेउको कुवालाई लिन सकिन्छ, यहाँ जीर्णोद्धार गर्ने हो भने गुफा छ भन्ने विश्वास छ । कुम्भेश्वर मन्दिर निर्माणका क्रममा गुफा पुरेर पानी आउने स्थान मात्रै बाँकी राखिएको भनाइ छ । यस्तै, लामाटारमा रहेको श्रृंग ऋषि गुफा, गोदावरीको अघोरी गुफा, भारदेउको गुप्तेश्वर गुफा, गिम्दीको चमेरे गुफा, गोटिखेलबाट काभ्रेको पनौती निस्कने महादेव गुफा र प्युटारको नागगुफा जिल्लालाई चिनाउन सकिने सम्भावनायुक्त गुफाहरू हुन् ।

चमेरे गुफा र नाग गुफा कालेश्वर प्युटार पदमार्गमा पर्छन् भने गुप्तेश्वर गुफा तिलेश्वर वैतरणी पदमार्गमा पर्छ । श्रृंग ऋषि गुफा र अघोरी गुफा लाँकुरी गोदावरी रिंग रेन्ज पदमार्गमा पर्छन् । यी गुफाहरूमा कर्त ऋषिका आश्रमको आकृतिका चट्टान त कतै महादेव मन्दिरका आकृतिका चट्टान कतै नागका आकृतिका चट्टान त कतै चमेरा रहेका छन् । यी गुफाहरूका विषयमा परिशिष्टमा व्याख्या गरिएको छ । जिल्लाको प्राकृतिक स्रोतलाई उपयोग गरेर गर्न सकिने पर्यटकीय क्रियाकलापहरूलाई यहाँ उल्लेख गरिएको छ ।

img_0096

जंगल सफारी  (बुस वाकिङ) : ललितपुर जिल्लाको बढी क्षेत्र पहाडी क्षेत्रमा रहेको र अधिकांश जंगल रहेका केही क्षेत्रहरूलाई समेटेर जंगल सफारीको प्याकेज बनाउन सकिन्छ । चौघरेदेखि ठोस्नेखोलासम्मको सडकका आसपासमै वन्यजन्तु तथा चराचुरुंगी अवलोकन गर्न सकिन्छ । मूल मोटर बाटोको दायाँबायाँ नै मृग, खरायो, कालिज, तित्राजस्ता वन्यजन्तु तथा चराचुरुंगीको अवलोकन गर्न सकिने यस स्थानबाट भित्री जंगलमा यात्रा गर्न सकिने सम्भावना देखिन्छ । भारदेउबाट गुप्तेश्वरको डाँडामा निस्केर टुटुवा हुँदै कालेश्वर गाविसको मृगबिसौनासम्म हुँदै बतासेडाँडासम्मको एक दिने जंगल सफारी रुट विकास गर्न सकिन्छ । अहिले जंगल सफारीका लागि पूर्वाधार पर्याप्त नभएको अवस्थामा पनि पानी, खुल्ला चौर (जहाँ बस्न र शिविर सञ्चालन गर्न सकियोस्) भएको स्थान चयन गरी सुरु गर्न सकिन्छ ।

यस्तै, झाडीमा गरिने यात्रा (बुस वाकिङ) र  चराचुरुंगी अवलोकन गर्न सकिन्छ । यस्ता स्थानहरूमा आएका पर्यटकहरूलाई नजिकको जनजाति समुदायको झाँकी, पहिरन तथा नाचहरूको अवलोकन गराउने व्यवस्था र सांस्कृतिक कार्यक्रम राख्न सकिन्छ । जस्तै, चौघरेबाट जंगल सफारी गरेर मृगबिसौना पुगेका पर्यटकहरूलाई देउरालीमा तामाङ समुदायको ढ्यांग्रो नाच र झाँक्री नाच देखाउन सकिन्छ । यस रुटमा  केही खुल्ला ठाउँहरूमा सरकारी जग्गामै आवासको व्यवस्था गर्ने तथा तत्कालका लागि पाल गाडेर बस्न सकिने र नजिकै जनावर अवलोकन गर्न सकिने अवस्था भएको राम्रो हुन्छ ।

राजधानीमा उपलब्ध पर्यटकहरू जंगल सफारीका लागि सौराहा पुग्नुपर्ने वा अन्यत्र जानुपर्ने अवस्थालाई न्यूनीकरण गर्न यस स्थानमा जंगल सफारीको अनुमति दिने र त्यस क्षेत्रमा जंगली जनावरको संरक्षण गर्नका लागि स्थानीय सामुदायिक वन उपभोक्ता समूहहरूलाई हरिण, जरायो, मृग आदिको पालन गर्न उत्साही बनाउने हो भने जंगल सफारीको रोयल्टीले सामुदायिक वनमा आश्रित समुदायको पनि हित हुन्छ । छोटो दूरीको जंगल सफारीका लागि फुल्चोकीको जंगल पनि उपयुक्त नै हुन्छ । विशंखुको छेउबाट प्रवेश गरेर लेले निस्कने गरी जंगल सफारीको रुट विकास गर्न सकिन्छ । यस्ता स्थानहरूमा पहाडी बाटो भएका कारण नयाँ बाटो निर्माण गरेरै भए पनि घोडा, गधा, हात्ती आदिको प्रयोग गर्नेतर्फ अलि मिहिन योजना बनाउन जरुरी हुन्छ ।

चट्टान आरोहण (रक क्लाइमिङ) : कालेश्वर गाविसमा रहेको भैरवछाँडा, ठूलादुर्लुङ गाविस र गोटिखेल गाविसमा पर्ने सिसवन पारिको कालेश्वर महादेव मार्गमा पर्ने पार्वती डाँडा र कालेश्वर महादेव डाँडाको पूर्वी र दक्षिणी मोहडामा चट्टान आरोहणको सम्भावना देखिन्छ ।

जलयात्रा र डुंगा सयर (¥याफ्टिङ र बोटिङ) :  जिल्लामा पर्यटन उद्योगकै रूपमा विकास गर्न ठाडा खोलाहरू र वर्षे खोला मात्रै धेरै भएकाले उपयुक्त नभए पनि डुंगा सयरका लागि धापाखेलको नागदहलाई मिनिफेवाकै नामबाट चलाउन सकिन्छ । राजधानीमा त्यतिसम्मको तालमा पर्यटक आकर्षण गर्न सकिन्छ । बाग्मती सफाइ अभियानले पूर्णता पाएपछि स्वच्छ बाग्मती वहन लागेपछि बल्खुबाट माल्टासम्म जलयात्रा (¥याफ्टिङ) सञ्चालन गर्न सकिन्छ । यो जलयात्रा र डुंगा यात्राले मात्रै पर्यटकलाई मज्जा हुनेबाहेक स्थानीय समुदायलाई अरू लाभ केही नहुने भएकाले यसको अन्तिम गन्तव्यमा सांस्कृतिक कार्यक्रमहरू आयोजना गर्ने गर्नुपर्छ । बल्खु–माल्टा जलयात्रापछि माल्टामा मगर संस्कृति, मगर नाच र संस्कृति झल्कने परिकारसहित कार्यक्रम गर्नुपर्छ । यता ठैवदेखि हात्तीवनसम्मको कर्मानासामा पनि जलयात्रा र डुंगा सयरको सम्भावना राम्रो छ । तर, यस स्थानमा हिउँदमा पानीको सतह निकै कम हुने भएकाले जलयात्राको सम्भावना भने वर्षे याममा मात्रै हुन्छ । समुदायको परिचालन गरेर नदी सरसफाइ गर्ने र जलयात्रा गराउने काम गर्न थालेपछि स्थानीय समुदाय स्वतः जागृत हुन्छ । स्थानीय स्तरमा आर्थिक गतिविधि पनि बढ्छ ।

प्याराग्लाइडिङ (प्याराग्लाइडिङ) :  साहसिक खेलका रूपमा प्याराग्लाइडिङ आजकल निकै लोकप्रिय खेलका रूपमा चिनिएको छ । पोखरालाई प्याराग्लाइडिङले नै पनि चिनाएको छ भन्ने पनि गरिन्छ । विश्व पर्यटन बजारमा नेपाली पर्यटन उद्योग अन्तर्गत प्याराग्लाइडिङको परिचय जोड्ने हो भने पोखरा नै आउँछ । तर, ललितपुरमा पनि प्याराग्लाइडिङको सम्भावनालाई व्यवसायीहरूले आकार दिइसकेका छन् ।

विशंखुनारायणको कोटबाट तल फाँटसम्म आउने गरी ग्लाइडर सुरु भइसका छन् । सुरु भइसकेको प्याराग्लाइडिङको प्रचार–प्रसारलाई तीव्रता दिने काम गर्नुका साथै नयाँ सम्भाव्यता खोज्न सकिन्छ । दूरी छोटो भएकाले त्यसभन्दा अर्को उपयुक्त स्थानको खोजी गर्दा हावाको बहावको सन्तुलन मिलेको खण्डमा फुल्चोकीबाट गोदावरी ल्यान्ड गर्दा निकै राम्रो हुने देखिन्छ । ललितपुरको दक्षिणी भेकमा रहेको विमिरेचौरबाट मानिखेल फाँटमा ल्यान्ड गर्ने गरी पनि प्याराग्लाइडिङ गराउन सकिन्छ ।

माउन्टेन वाइकिंग (माउन्टेन बाइकिङ) : पर्वतीय क्षेत्रमा साइकलको प्रयोग गरेर यात्रा गर्न रुचाउनेहरूका लागि राजधानीमै माउन्टेन बाइकिङको सम्भावना उपलब्ध गराउन सक्छ । ग्रामीण कच्ची सडक र पहाडी बाटोका कच्ची सडकमा माउन्टेन बाइकिङ अहिले पनि भइरहेको छ । यस्ता सडकहरूमा दक्षिण ललितपुर बाहिरी चक्रपथ (तीन दिन), टिकाभैरव, दलचोकी, शंखु, इकुडोल सडक, गोटिखेल, बुखेल, इकुडोल, भट्टेडाँडा सडक उपयुक्त मानिन्छन् । छोटो दूरीको माउन्टेन बाइकिङका लागि चापागाउँ देवीचौर घुसेल, चापागाउँ टिकाभैरव, नल्लु, चापागाउँ, टिकाभैरव दलचोकी हुन सक्छन् ।

चराचुरुंगी अवलोकन (बर्ड वाचिङ) : सिमसार, समशितोष्ण र शितोष्ण हावापानी तथा पृथक पारिस्थितिकीय प्रणाली र वासस्थान रहेकाले ललितपुर जिल्ला जैविक विविधताले धनी रहेको छ । यी सबै पर्यावरणीय वातावरणहरू चराचुरुंगीका लागि उपयुक्त हुन्छ । ललितपुरको सबैभन्दा चिसो र अग्लो स्थान फुल्चोकी र कालेश्वरको देउराली तथा सबैभन्दा होचो र गर्मी क्षेत्र गिम्दीको हेल्टार र माल्टा क्षेत्रमा पाइने सबै चराचुरुंगीहरू जिल्लाको पर्यटनका लागि सम्पति

हुन् । नेपालमा मात्र पाइने चरा काँडेभ्याकुर (स्पाइनी ब्याबलर), कालिज, तित्रा,भदराई, बट्टई, ढुकुरजस्ता पंक्षीहरू रहेका छन् । सारस, हाँस, परेवा, चील, हुचिल, लाटोकोसेरो, कोइली, सुगा, भँगेरा, बाज आदि चराहरू अवलोकन गर्न पाइन्छ । यी चराहरूको अवलोकन पनि अध्येता तथा आकांक्षीहरूका लागि उपयुक्त हुन्छ ।

माछा मार्ने कार्य (फिसिङ) : पर्यटकहरूका लागि माछा मार्ने कार्य पनि आफैंमा बडो आकर्षणको विषयहो । खासखास क्षेत्रमा माछाका भुरा छाड्ने र त्यो स्थानमा ती भुराहरूको संरक्षण र विकासका लागि स्थानीय समुदायलाई सचेत बनाई परिचालन गर्ने हो भने माछा मार्ने कार्यका लागि पनि पर्यटकहरू आकर्षित हुन्छन् । असला माछा तथा विभिन्न प्रजातिका माछाहरू खोलामा छोडिने हो भने टुंगुन खोला, ठोट्ने खोला, खानी खोला, दुर्लुंग खोलालगायतका स्थानहरूमा माछा मार्नका लागि पर्यटकहरू आकर्षण गर्न सकिन्छ । यस्तै, नल्लु खोला, नख्खु खोला, कोड्कु कर्मानासा खोलामा पनि माछाका भुरा छाड्ने र संरक्षण गर्ने काम स्थानीय समुदायलाई जिम्मा लगाएर पर्यटकलाई माछा मार्ने सुविधा दिएर आकर्षण गर्न सकिन्छ । भारदेउदेखि नख्खुसम्मको खोला ढुंगाखानी तथा क्रसरका कारण प्रदूषित भएको र आसपासको समुदायले कृषिलगायत विभिन्न माटोमा प्रयोग गरेका रसायन तथा फोहोर सिधै खोलामा फाल्ने गरेका कारण  माछा मार्ने कार्य तत्कालका लागि उपलब्ध हुन सक्दैन तर समुदायको सशक्तीकरणपछि यो सम्भव छ ।

घोडचढी (पोनि ट्रेक्स) : विशंखुको कोटडाँडा र दलचोकी क्षेत्रलाई विशेष पर्यटकीय क्षेत्र बनाएर घोडचढी सम्भावनाको विकास गर्न सकिन्छ । कोटडाँडामा घोडचढीबाट गएर प्याराग्लाइडिङबाट झर्ने दुवै साहसिक खेल पर्यटनसँग सम्बन्धित विषय भएकाले व्यवसायीहरूले घोडाको व्यवस्था गर्दा राम्रो हुने देखिन्छ । अरू स्थानमा पनि घोडचढीलाई विकास गर्न सकिन्छ ।

कृषि पर्यटन (एग्रो टुरिजम) : कृषिमा आधारित पर्यटन पनि निकै आशलाग्दो सम्भावनाको क्षेत्र हो । चियाका कारण इलामले प्रसिद्धि कमाएको छ । कफीका कारण गुल्मीले प्रसिद्धि कमाएको छ । ललितपुरको दक्षिणी भेकमा अहिले चिया र कफीको व्यावसायिकताले इलाम र गुल्मीलाई माथ गर्ने अवस्था छ । अहिले पनि चिया बगान हेर्नकै लागि इलाम जाने कृषि पर्यटकलाई ललितपुरको दक्षिण पूर्वी खण्डमा आकर्षित गर्न सकिन्छ भने सुदूर दक्षिणी भेकमा कफीका पारखी तथा कफीको अवलोकन गर्न चाहनेलाई लैजान सकिन्छ । यस्तै, जडिबुटी खेतीको व्यावसायिकताले पनि पर्यटकलाई आकर्षित गर्ने अवस्था देखिएको छ ।

गुफा ध्यान (केभ मेडिटेसन) : ललितपुर आद्यात्मिक तथा स्वास्थ्य पर्यटनका दृष्टिले धेरै उपयोगी जिल्ला भएको कुरा धेरै हिसाबले पुष्टि भइसकेको छ । मनोक्रान्ति दर्शनशास्त्री डा.योगी विकासानन्दले ध्यान तथा योगका लागि ललितपुरको काँठ आसपासका शान्त र सुन्दर हरियालीयुक्त क्षेत्रलाई उपयोगी मानेर १५ वर्षभन्दा अघिदेखि ध्यानकेन्द्र सञ्चालन गर्दै आएका छन् । ब्रम्हाकुमारी राजयोग केन्द्रले पनि ललितपुरका विभिन्न स्थानमा ध्यान केन्द्र सञ्चालन

गरिरहेको छ । निरोगधामले पनि दलचोकीमा ध्यानकेन्द्र स्थापना गरी सञ्चालनको तयारी गरिरहेको छ । यसले ध्यानका लागि उपयोगी स्थानको पुष्टि भएको छ । प्राचीन कालमा ऋषिमुनिहरूले ध्यान गरेको सन्दर्भमा गुफाहरूको महŒव भए जसरी गुफामा उपयुक्त वातावरण तयार गरेर शान्तपूर्वक ध्यानमा बस्न चाहनेहरूका लागि गुफाध्यानको व्यवस्था पनि गर्न सकिन्छ ।

शैक्षिक पर्यटन (एडु टुरिजम) : शैक्षिक पर्यटन प्रयोगका हिसाबले पुरानो र सैद्धान्तिक व्याख्याका हिसाबले नयाँ विधा हो । जिल्लाको भौगोलिक अवस्था, वातावरण, संस्कार संस्कृति आदिको पृथकताका कारण जिल्लाकै एक कुनाको विद्यार्थीले अर्को कुनाको वातावरण, भूगोल नचिन्ने अवस्था आएको छ । यस्तो अवस्था न्यूनीकरण गर्ने गरी र पर्यटनमा विद्यार्थीको ध्यान आकृष्ट गर्न सके पर्यटन विकासको विशाल सम्भावनालाई आउँदो पुस्ताले नेतृत्व दिन सक्ने अवस्था बनाउन शैक्षिक पर्यटनलाई बहसको विषय बनाई नीतिगत कार्यक्रमका हिसाबले सम्बोधन गर्नुपर्छ । राजधानीका सुगम बस्तीमा रहेका विद्यार्थीहरूलाई कलेज वा स्कुलकै पहलमा ग्रामीण बस्तीहरूमा पु¥याउन कमसेकम एक साताको यात्रा कार्यक्रम तय गरी त्यस समुदायको रहनसहन, संस्कृति र भौगोलिक, धार्मिक सांस्कृतिक एवं अन्य सम्भावनाका अवस्थाको समेत अध्ययन गर्न पेयिंग गेस्टका रूपमा पठाउने व्यवस्था गर्दा विद्यार्थीमा ज्ञान र सिकाइको मात्रा बढ्नुका साथै शैक्षिक क्रियाकलपमा पनि सहयोग पुग्छ, पर्यटकीय गतिविधिमा पनि विस्तार हुन्छ ।

 

Leave A Reply

Your email address will not be published.