महादेव खुसी पार्न ‘भुइँपरी’ यात्रा

महादेव खुसी पार्न ‘भुइँपरी’ यात्रा

कृष्ण सिग्देल

 

बाराको कोल्हबी नगरपालिकाको पर्सौना गाउँमा महादेवका एक अनौठा महादेवका भक्त देखिएपछि स्थानीय छक्क परे । बिहानै शीतलहरले गाउँ पीडितछ । स्थानीयहरू घुर तापेर गोरेटोवरिपरि झुण्डमा गफको तालमा थिए । पहेँले बस्त्र लगाएको एक वृद्धको अर्धनग्न शरीर बाटोमा लम्पसार परेको देख्दा सुरुमा केटाकेटीसमेत डराए ।

2

उनी थिए, सर्लाही–९ शंकरपुर गाविस, सलथी गाउँका ५८ वर्षीय रामसेवक राय । एउटा पुरानो साइकलमा सामलतुमल बोक्ने उनको नाति पर्ने एउटा सहयोगी र आफ्नी धर्मपत्नी अखिला देवी उनका साथमा छन् । उनले छठका बर्तालुले घरदेखि घाटसम्म गर्ने भुइँपरी (दण्ड खिच्ने) जस्तै गर्दै सर्लाहीबाट यहाँसम्म आइपुगेका हुन् । भुइँपरी गर्दा उनकी धर्मपत्नीले माथिबाट जलसहित फुल अक्षता पूजन गर्ने गरेको देखिन्थ्यो ।

‘जहाँ रात पर्छ, त्यहीँ बास बस्छांै, शाकाहारी खानेकुरा पनि ल्याएका छौं, घरबाट हिँडेको २० दिन भयो, अब केही दिनमा त पुगिन्छ,’ उनकी धर्मपत्नी अखिलाले भोजपुरी भाषामा सुनाइन् ।

कहालीलाग्दो धार्मिक यात्रामा लागेका रायको शरीरको बाहिरी छालाको पत्र गएको देखिन्थ्यो भने जाडो, घाम र बाटोको फोहरले शरीरभरि घाउहरू थिए । कच्चा सडककिनारमा हप्तौंदेखि सुत्ने–उठ्ने (भुइँपरी) गर्दा उनको पाखुराको कुहिनोको भाग र खुट्टाको घुँडाको भाग रगताम्मे भएर फुलेपछि कपडाले बाँधेको उनकी पत्नी अखिलाले बताइन् ।

सर्लाही शंकरपुरबाट सहजनाथ मन्दिर पुग्न करिब ५५ देखि ६० किलोमिटर लाग्छ । उनले भुइँपरी गर्दै ४५ किलोमिटरको यात्रा पुरा गरिसकेका छन् । घरबाट सहजनाथमा रहेको काटघाट मन्दिरमा पुगी महादेवको दर्शन गर्ने उनको लक्ष्य छ । मंसिर ३० गते सर्लाहीको सलथीबाट यात्रा सुरु गरेका उनी प्रसौनी आइपुग्दा २० दिन लागेको उनका सहयोगीले औंलामा हिसाब गरेर बताए ।

1

विपन्न वर्गका रामसेवक रायका तीन सन्तान घरको काम गर्छन् । भुइँपरीका बेला उनी बोल्दैनन्, बास बस्ने ठाउँ पुगेपछि कम्बल ओढेर विश्राम गरेपछि उनी हाँस्दै कुरा गरे । महादेवको कृपाले अहिलेसम्म सबैकुरा राम्रो भएको भन्दै यो कठिन यात्रामा महादेवलाई खुसी बनाउन भुइँपरी गर्दै महादेवस्थानसम्म पुग्ने इच्छा राखेको रामसेवकले बताए । थोरै मात्र नेपाली भाषा बुझ्ने उनले भोजपुरीमा भने, ‘महादेवको कृपाले सबै राम्रो भयो, छोराहरू जवान भए, बिहानबेलुका छाक टार्न मुस्किल थियो, महादेवले सबै पु¥याइदिए ।’

पुस महिनाको कठ्यांग्रि“दो जाडोमा महादेवको दर्शनका लागि भुइँपरी नै किन भन्नेमा उनी बोल्न चाहेनन् । प्रसौनाको बाटैमा पर्ने एक स्कुलसम्म आइपुग्दा रात परेपछि साँझ उनले स्कुलकै बरन्डामा रात बिताए । प्रसौनाबाट बोधवन हँुदै बेल्वा बजार, हरैया, रामनगरबाट सहजनाथ मन्दिर प्रवेश गर्न अझै हप्ता दिन लाग्ने रायले अड्कल गरे । ‘सर्लाहीबाट यहाँसम्म भुइँपरी गर्दै आउनु कठोर यात्रा हो, अझसम्म भगवान्का यस्ता भक्त देखिएको थिएन,’ स्थानीय शिक्षक श्रीराम शाहले अचम्म मान्दै भने, ‘उनको मनोकामना पुरा होस्’ । स्थानीयले साँझ केही खानेकुरा दिँदा उनले नखाएको शाहले बताए ।

पथलैया निजगढ सडकखण्डअन्तर्गत पर्ने पसाला पुलबाट दक्षिणमा पर्ने सहजनाथ मन्दिरमा वर्षमा तीनपटक ठूलो मेला लाग्ने गर्छ । यस ठाउँमा विशेष गरी शिवरात्रिमा लाखौंको संख्यामा भारतीय दर्शनार्थीहरूको आगमन हुने गर्दछ । राजमार्गदेखि गढीमाई मन्दिर जाने बाटैमा पर्ने बीच जंगलमा रहेको सो मन्दिर शिव दर्शनका रूपमा देश–विदेशसम्मका भक्तहरूको आस्थाको केन्द्रसमेत बनेको मन्दिर हो ।

 

Leave A Reply

Your email address will not be published.