बामदेव निवासमा एमालेको आकस्मिक बैठक : संशोधन फिर्ता नभएसम्म अवरोध यथावत

uml
राजधानी समाचारदाता
काठमाडौं, २३ पुस

प्रमुख प्रतिपक्षी दल एमालेले संविधान संशोधन विधेयक फिर्ता नलिएसम्म संसद् अवरोध जारी राख्ने निर्णय गरेको छ । उपाध्यक्ष बामदेव गौतमको भैसीपाटीस्थित निवासमा शनिबार बसेको स्थायी कमिटी बैठकले सर्वोच्च अदालतको आदेश पालना गर्दै सरकारले संविधान संशोधन विधेयक फिर्ता नलिएसम्म संसद् अवरुद्ध जारी राख्ने निर्णय गरेको हो ।

एमाले सचिव भीम आचार्यले संशोधन प्रस्ताव संविधानको भावनाविपरीत, राष्ट्र र राष्ट्रियताविरुद्धमा रहेकाले सरकारले फिर्ता नलिएसम्म संसद् अवरुद्ध नखोल्ने निर्णय गरिएको बताए । सचिव आचार्यका अनुसार बैठकले सरकारले संविधान संशोधनबाहेक निर्वाचनसहित अन्य विधेयक ल्याएमा भने संसद् अवरुद्ध नगर्ने निर्णय बैठकले गरेको छ । ‘हामी राष्ट्र र राष्ट्रियताको पक्षमा रहेका छौं, सरकारले राष्ट्र र राष्ट्रियताविरुद्ध अघि बढाएको संशोधन विधेयक फिर्ता लियो भने संसद् अवरोध स्वतः हटछ,’ आचार्यले राजधानीसँग भने, ‘यदि सरकार अदालतको आदेशलाई समेत बेवास्ता गर्दै जबर्जस्ती अघि बढ्ने प्रयास गर्छ भने संसद् अवरुद्ध जारी रहन्छ ।’ सरकार प्रदेश टुक्र्याउने गरी ल्याएको संशोधन विधेयक फिर्ता लिएर निर्वाचनलगायत विषयमा छलफल गर्न अघि बढे एमाले त्यस्तो विषयको छलफलमा सहभागी हुने उनले प्रस्ट पारे ।

सर्वोच्च अदालतको आदेशपछि संशोधन विधेयक संसद्मा प्रस्तुत गर्ने नैतिक एवं कानुनी आधार सरकारसँग नरहेको निष्कर्ष एमालेले निकालिसकेको छ । सोही निष्कर्षका आधारमा संशोधन विधेयक फिर्ता लिएर सरकार अघि बढ्नुपर्ने विषयलाई एमाले स्थायी समितिले पुनः स्मरण गराएको छ । एमाले सचिव गोकर्ण विष्टले संविधान संशोधन विधेयक सरकारले फिर्ता लिनुपर्ने बताउँदै यस विषयमा आन्दोलनरत ९ दलसँग थप छलफल गर्दै अघि बढ्ने निष्कर्ष बैठकले निकालेको बताए । ‘संविधान संशोधन विधेयकलाई सफल हुन दिदैनौं, यस विषयमा कुनै लचकता वा सहमति सम्भव छैन,’ विष्टले राजधानीसँग भने, ‘संशोधन विधेयकलाई असफल बनाउन हामी आन्दोलनरत नौ दलसँग थप छलफल गर्छौं ।’ एमालेले संविधान संशोधनविरुद्ध थप रणनीति बनाउन आइतबार आन्दोलनरत नौ दलको बैठक बोलाएको छ । सबै दलको सहमतिमा थप कार्यक्रम तय गर्ने निर्णयअनुसार बैठक बोलाइएको हो ।

सरकारले संशोधन विधेयक संसद् सचिवालयमा दर्ता गराएपछि एमालेसहित नौ दलले संसद् अवरोधसँगै सडक आन्दोलनसमेत गर्दै आएका छन् । विपक्षी गठबन्धनले शुक्रबार मात्रै राजधानीमा विशाल जनप्रदर्शन गरेको छ । संसद् र सडकमा आन्दोलनरत विपक्षी दलले संशोधन विधेयक फिर्ता लिनुपर्ने, संविधान कार्यान्वयनका लागि तीनै तहको निर्वाचन मिति घोषणा गर्नुपर्ने अडान राख्दै आएका छन् ।

यसैबीच एमाले वरिष्ठ नेता झलनाथ खनालले संविधान नै खारेज गराउने षड्यन्त्रमा सत्तारूढ दल कांग्रेस र माओवादी लागेको आरोप लगाएका छन् । समाखुसीमा शनिबार जनअपेक्षा बचत तथा ऋण सहकारी संस्थाको पाँचौं साधारण सभामा बोल्दै खनालले विदेशीको इसारामा लागेर सत्तारूढ दल संविधान खारेज गराउने खेलमा लागेको बताएका हुन् । ‘संविधान कार्यान्वयन गर्नुको साटो सत्तारूढ दलका नेता संविधान खारेज गराउने षड्यन्त्रमा लागेका छन्,’ खनालले भने । संविधानको सफल कार्यान्वयनका लागि तोकिएको समयभित्रै तीनै तहको निर्वाचन गर्नुपर्ने बताउँदै उनले संविधानको कार्यान्वयनले नै समृद्ध राष्ट्र निर्माण गर्न सकिने बताए ।

राष्ट्रलाई नै विखण्डन हुने गरी ल्याइएको संशोधन विधेयक फिर्ता नभएसम्म एमालेसहितका दलले संसद् अवरुद्ध गरिरहने उद्घोष पनि उनले गरे । ‘कोही भ्रममा नपरे हुन्छ, अदालतको आदेशको पालना नगरी सरकार अघि बढे आन्दोलनको स्वरूप झनै कडा हुन्छ, फिर्ता नहुँदासम्म संसद् अवरोध जारी रहन्छ,’ खनालले भने ।

Leave A Reply

Your email address will not be published.