‘संशोधन प्रस्ताव फिर्ता लिएर निर्वाचन घोषणातर्फ लागौं’

राजधानी समाचारदाता
काठमाडौं, २३ पुस

एमाले महासचिव ईश्वर पोखरेलले सरकारले संविधान संशोधनको बेमौसमी प्रस्ताव फिर्ता लिनुपर्ने बताएका छन् ।उनले प्रस्ताव स्थगन गरेर निर्वाचन घोषणाका लागि छलफल अघि बढाउनुपर्नेमा समेत जोड दिएका छन् । सिन्धुली–काठमाडौं सम्पर्क मञ्चद्वारा शनिबार राजधानीमा आयोजित ‘वर्तमान परिस्थितिमा नेकपा एमालेको भूमिका’ विषयक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव पोखरेलले २४ पुसको संसद्् बैठकमा सरकारले जबर्जस्त संविधान प्रस्ताव टेबुल गर्न खोजे एमालेले बैठक अवरुद्ध पार्ने पनि प्रस्ट पारे ।

ishor-pokhrelko-newslai-2-1

‘संविधान गतिशील दस्तावेज हो, तर अनुभव र औचित्यका आधारमा आवश्यक देखिए मात्र संशोधन गरिनुपर्छ,’ उनले भने, ‘राष्ट्रिय हितविपरीत सामाजिक सद्भाव खलबल्याउने, राष्ट्रिय एकता भत्काउने, जनभावना उपेक्षा गर्ने, संविधानमा किटानीसाथ उल्लेख नभएको संशोधन प्रस्तावमा एमाले कुनै पनि हालतमा सहमत हुन सक्दैन ।’

संशोधन प्रस्तावमा उल्लेख भाषा, नागरिकता, सीमांकनलगायत विषय राष्ट्रिय हितमा नभएको जिकिर गर्दै नेता पोखरेलले प्रदेश सरकारको सिफारिसमा मात्र केन्द्रीय संसद््ले सीमा हेरफेर गर्न सक्ने औंल्याए । जनसंख्या र भूगोलका आधारमा मात्र प्रतिनिधित्व व्यवस्था हुने अवस्था सही भएको उल्लेख गर्दै उनले जनसंख्या मात्र आधार बनाए मुलुकमा सिक्किमीकरण देखापर्ने तर्कसमेत गरे ।

‘एमालेले राष्ट्रियताको पक्षमा सातै प्रदेशमा विशेष जनपरिचालन अभियान सञ्चालन गरिरहेको छ, त्यसलाई अझ सशक्त बनाउँदै लान पार्टी क्रियाशील रहेको छ,’ पार्टीको आन्तरिक राजनीति विषयमा बोल्दै उनले थपे, ‘राष्ट्रिय राजनीतिको मियोका रूपमा रहेको एमालेले जनताको मन जिते पनि विगतको गुटगत अभ्यासले कमजोर पारेको छ ।’

राष्ट्रिय राजनीतिमा हाइहाइ भए पनि नवौं महाधिवेशनमा गुटको अभ्यास गरेर आफूहरूले नै परिस्थिति बिगारेको समेत उनले स्वीकारे । ‘अब हामीले नै सच्याउनुपर्छ, पार्टीमा प्रतिस्पर्धा हुने तर त्यो पक्षधरताका आधारमा नभई गुण र दोषका आधारमा  हुनुपर्ने विषय मध्यनजर गरेर पार्टीले पारित गरेको दसबुँदे संकल्पमार्फत गुटगत अभ्यास अन्त्य हुनेछ,’ उनले भने ।

सोही अवसरमा नेपाल निजामती कर्मचारी संगठन अध्यक्षमा निर्वाचित केदारप्रसाद देवकोटा तथा सदस्यमा निर्वाचित केदारकुमार अधिकारी र ईश्वरी प्याकुरेललाई सम्मान गरियो ।यसैगरी, सामुदायिक रेडियो प्रसारक संघको ३ नम्बर प्रदेश संयोजकमा निर्वाचित रेडियो सिन्धुलीगढीका अध्यक्ष कृष्णहरि घिमिरे पनि सम्मानित भए । कार्यक्रममा सिन्धुली–१ का सांसद गणेश पहाडी, सांसद रञ्जना माझी, सिन्धुली जिल्ला कमिटी अध्यक्ष प्रदीप कटुवाल, जनकपुर अञ्चल सम्पर्क कमिटी अध्यक्ष हरिकृष्ण ठकुरी, मञ्च अध्यक्ष अमर थापा मगरलगायतले धारणा राखेका थिए ।

Leave A Reply

Your email address will not be published.