असुरक्षित विमानस्थल

असुरक्षित विमानस्थल

देशको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल तस्करहरूको ‘ट्रान्जिट प्वाइन्ट’ बन्दै गइरहेको देखिन्छ । दुई दिनअघि ३४ किलो सुन सोही विमानस्थलबाट तस्करी भएको भेटिएपछि सो कुराको पुष्टि गर्न सहयोग पुगेको छ । विगतमा पनि यस विमानस्थलबाट पटक–पटक लागूऔषध, सुनलगायतका चीजहरू तस्करी हुँदै आएका हुन् । यद्यपि, सम्बन्धित निकाय, राज्यसंयन्त्र, सुरक्षासंयन्त्र यसप्रति गम्भीरतापूर्वक संवेदनशील हुन सकेन । यसैको परिणाम प्रशस्त सुरक्षाकर्मीको उपस्थिति हुँदाहुँदै भन्सारसमेत छलेर ३४ किलो सुन विमानस्थलबाहिर ल्याउन तस्कर सफल भए । कुनैबेला कुख्यात अन्तर्राष्ट्रिय अपराधी चाल्र्स शोभराजले भनेका थिए, ‘मैले चाहें भने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हात्ती पनि छिराइदिन सक्छु ।’ वास्तवमा यस्तै अवस्था देखिन्छ, हाम्रो एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलको । भर्खरै ३४ किलो सुन तस्करी काण्डमा पक्राउ परेकाहरूको बयानले पनि यही देखाउँछ कि यस विमानस्थलको सुरक्षा अवस्था अत्यन्तै कमजोर छ । उनीहरूले यही विमानस्थलबाट विगतमा सयौं किलो सुन छिराइसकेको बताएका छन् ।

जुनकुनैबेला, जोकोहीले पनि यहाँबाट जेसुकै चीज वस्तु तस्करी गर्न सक्छ । यही कारण हाम्रा निकट छिमेकी मुलुकहरूलाई पनि हाम्रा विमानस्थलहरूको चिन्ता बढेको हुनुपर्छ । एकातिर देशकै ठूलो र महŒवपूर्ण विमानस्थलको अवस्था सुरक्षाका दृष्टिले यस्तो छ भने उता उपत्यकाबाहिरका विमानस्थलहरूचाहिँ सुदृढ सुरक्षा व्यवस्थाको अभावसँगै प्राविधिक र भौतिक समस्याबाट पनि गुज्रिरहेका छन् । मध्यपश्चिमको नेपालगन्जमा रहेको विमानस्थलमा सुरक्षाकर्मीको अभाव त छँदै छ, तालिमप्राप्त सुरक्षाकर्मीको पनि उत्तिकै खाँचो देखिन्छ । विमानस्थलमा खटिने सुरक्षाकर्मीलाई एक साताको अभिमुखीकरणसँगै पीपीएस तालिम, एयरपोर्ट सेक्युरिटी, एयरपोर्ट सेक्युरिटी म्यानेजमेन्ट, फेक डकुमेन्ट आइडेन्टिफिकेसन ट्रेनिङलगायतका तालिम दिइनुपर्छ । तर, यस्ता तालिमप्राप्त सुरक्षाकर्मीको अभाव प्रायः विमानस्थलमा देखिएको छ । यसका साथै उपरोक्त तालिमप्राप्त सुरक्षाकर्मीको छिटोछिटो सरुवा हुनुले पनि विमानस्थल सुरक्षामा चुनौती थपिदिएको छ । त्यसैको परिणाम हो, तस्करीलगायतका अपराध विमानस्थलमा बढ्दै जानु ।

विमानस्थलभित्र रहेको एक्स–रे मेसिनमा सुरक्षाकर्मीको पहुँच र उपस्थिति नभएका कारण डीआईजी नेतृत्वको सुरक्षाकर्मी टोली यस घटनाबाट टाढिन प्रयासरत देखिन्छ । यसरी हेर्दा सो एक्स–रे मेसिनमा सुरक्षाकर्मीको पहुँच किन पु¥याइएन भन्ने प्रश्न पनि टड्कारो हुन आउँछ । सुरक्षा व्यवस्थाको यस्तो कमजोर अवस्थामा तस्कर र अपराधीले सजिलै आफ्ना काम फत्ते गर्नु कुनै अनौठो होइन । त्यसमाथि पक्राउ परेकाहरूकै बयानका आधारमा भन्ने हो भने त्यहाँ कार्यरत सुरक्षाकर्मी र भन्सारका कर्मचारी नै यस्ता आपराधिक क्रियाकलापमा सहभागी हुने गरेका छन् । यो झनै विकराल र डरलाग्दो समस्या हो । धनको लोभमा गम्भीर अपराधमा सुरक्षाकर्मी र सरकारी कर्मचारी नै संलग्न भएका हुन् भने त्यसले राज्यलाई निकै गम्भीरतापूर्वक सोच्न बाध्य पार्छ । यसर्थ, सरकार तथा नागरिक उड्डयन प्राधिकरणलगायत सम्बन्धित सबै निकाय र जिम्मेवार व्यक्ति एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षाका विषयमा गम्भीर हुन जरुरी छ । यसको सुरक्षाका लागि र यस विमानस्थललाई तस्कर र अपराधीको ट्रान्जिट प्वाइन्ट बन्न नदिनका लागि आवश्यक काम कारबाही तुरुन्त अघि बढाउन अतिआवश्यक छ ।

Leave A Reply

Your email address will not be published.