संशोधनमाथि छलफल हुन दिन्नौं : एमाले

सुभाष साह / राजधानी
काठमाडौं, २४ पुस

विरोधका बाबजुद संविधान संशोधन विधेयक प्रस्तुत भएको भन्दै प्रमुख प्रतिपक्षी दल एमालेले सो विधेयकमाथि छलफल हुन नदिने जनाएको छ ।एमाले संसदीय दलका प्रमुख सचेतक भानुभक्त ढकालले औचित्यहीन एवं मुलुकको हितविपरीत सरकारले संशोधन विधेयक अगाडि बढाएकाले संसद्मा छलफल गर्न नदिई शान्तिपूर्ण आन्दोलन जारी राख्ने बताए । ‘सरकारको संविधान संशोधन विधेयक औचित्यहीन एवं मुलुकको हितविपरीत रहेकाले हाम्रो सहमति हुँदैन, हाम्रो आन्दोलन जारी नै रहन्छ संसद् चल्न दिँदैनौं,’ ढकालले राजधानीसँग भने, ‘हामी कुर्सी तोडफोड गर्दैनौं, माइक भाँच्दैनौं, तर हामी हाम्रो आन्दोलन शान्तिपूर्ण, अनुशासित, व्यवस्थित एवं मर्यादित तरिकाले जारी नै राख्छौं ।’

संविधान संशोधन विधेयकबाहेक निर्वाचन, महाअभियोगलगायतका विषयमा एमालेले छलफल गर्न संसद् अवरुद्ध नगर्ने उनले बताए । संसद्मा संविधान संशोधन विधेयक अगाडि बढाउने सत्ता पक्षीय दलको रणनीतिअनुसार एमालेले त्यसलाई असफल बनाउन आन्दोलनरत अन्य दलसँग सहकार्य गर्दै संसद्को आन्दोलन जारी नै राख्ने उनले बताए । प्रमुख प्रतिपक्षी एमालेसहित विपक्षी नौ दलले संविधान संशोधनविरुद्ध आन्दोलन गर्दै आएका छन् । १४ मंसिरमा सरकारले संशोधन विधेयक संसद् सचिवालयमा दर्ता गराएपछि विपक्षी नौ दलहरूले १६ मंसिरदेखि नै संसद् र सडकमा आन्दोलन गर्दै आएका छन् । निर्वाचन भाँड्न सरकारले संशोधनमार्फत ध्यान मोड्न खोजेको आरोप प्रतिपक्षी नौ दलले लगाउँदै आएका छन् । संविधानको सफल कार्यान्वयनका लागि ७ माघ २०७४ भित्रै स्थानीय तह, प्रदेश र व्यवस्थापिका–संसद्को निर्वाचन गर्नुपर्ने, राष्ट्र, राष्ट्रियता एवं जनताको आवश्यकताविपरीत आएको संशोधन विधेयक फिर्ता लिनुपर्ने माग गर्दै एमालेसहितका विपक्षी नौ दलले आन्दोलन गर्दै आएका छन् ।

आइतबार सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा बसेको विपक्षी नौ दलको बैठकले संशोधन विधेयक राष्ट्र र जनहितविपरीत रहेको भन्दै फिर्ता लिन सरकारसँग माग गरेको थियो ।

 

Leave A Reply

Your email address will not be published.