सत्ता र विपक्षीका आ–आफ्नै रणनीति

टेनिस रोका / राजधानी

काठमाडौं, २४ पुस

सरकारले असन्तुष्ट पक्षको माग सम्बोधनका लागि व्यवस्थापिका–संसद्मा संविधान संशोधन विधेयक दर्ता गरेपछि सत्तारूढ दल विधेयक पारित गराउन र प्रतिपक्षी दल फेल गराउने रणनीतितर्फ लागेका छन् ।सत्तारूढ दल नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसले अब दलहरूबीच संवाद र छलफलसँगै संशोधन विधेयकलाई परिमार्जन गर्दै पारित हुने बताएको छ । प्रमुख प्रतिपक्षी दल एमालेले भने विधेयक राष्ट्रिय हितविपरीत मात्रै नभएर संसदीय अभ्यासविपरीत पनि आएको भन्दै कुनै पनि हालतमा पास हुन नसक्ने बताएको छ । एमालेले संसद्मा निरन्तर विरोध हुनेसमेत स्पष्ट पारेको छ । सत्तारूढ दलले भने अब छलफलसँगै संशोधन पारित हुने जिकिर गरेका छन् ।

विधेयक यसरी पास गराउन चाहन्छ सरकारसरकारले प्रमुख प्रतिपक्षी एमालेको सहमतिमै अझै पनि संशोधन विधेयक पारित गराउन चाहेको जनाएको छ । प्रधानमन्त्री सचिवालय भन्छ, ‘कुनै पनि मुद्दामा तीन दल एक हुनैपर्ने आवश्यकता छ, त्यसैले अहिलेलाई विधेयक टेबुल भए पनि अबका दिनमा छलफल गरेर सहमतिमै विधेयक पारित गर्ने पक्षमा प्रधानमन्त्री हुनुहुन्छ ।’

कानुनमन्त्री अजयशंकर नायकले पनि सरकारले सहमतिमै संशोधन पारित गराउन चाहेको बताए । ‘राजनीतिक दलहरू एक ठाउँमा नउभिइ हुन्न,’ मन्त्री नायकले राजधानीसँग भने, ‘अब छलफल र संवादसँगै सबैको सहमतिमा विधेयक पारित हुनुपर्छ ।’ सरकारको पहिलो प्राथमिकता सबैको सहमतिमा परिमार्जनसहित विधेयक पारित गराउने देखिन्छ । यो सम्भव नभए जसरी भए पनि दुई तिहाइ पु¥याउने सरकारको रणनीति हो, जसका लागि सरकारले अहिले विरोधमा रहेका दललाई समर्थन गर्न मनाउनेदेखि मन्त्रिपरिषद् विस्तारसम्मको योजना अगाडि बढाउने देखिएको छ ।
व्यवस्थापिका–संसद्मा अहिले कुल सांसद संख्या ५ सय ९४ रहेको छ । जसअनुसार दुई तिहाइका लागि ३ सय ९६ सांसद संख्या आवश्यक पर्दछ । सत्तारूढ दल नेपाली कांग्रेसको अहिले सांसद संख्या २ सय ७ रहेको छ । सत्तारूढ दुई दलबाहेक सरकारलाई दुई तिहाइका लागि १ सय ८ मत आवश्यक पर्दछ । मधेसी मोर्चाले पनि सरकारलाई समर्थन गरेकाले मोर्चाको ४० मत थपिनेछ ।

सरकारमै सहभागी रहेको सदनको चौथो दल राप्रपा नेपालसँग ३७ सिट संख्या रहेको छ । दुई राप्रपाबीच एकीकरण अगाडि सरकार गठन भएकाले एकीकरणपछि बनेका राप्रपाका कार्यकारी अध्यक्ष कमल थापाले संशोधनप्रति केही असन्तुष्टि व्यक्त गर्दै आएका छन् । सरकारले मन्त्रिपरिषद् विस्तार गरेर अध्यक्ष थापा र फोरम लोकतान्त्रिकलाई पनि सरकारमा सहभागी गराउने पहल जारी राखेकाले थापासहित फोरम लोकतान्त्रिकको १४ सिट पनि संशोधनको पक्षमा उभिने सम्भावना छ । बाँकी साना दललाई पनि केहीलाई सरकारमा सहभागी गराएर र केहीलाई मनाएर दुई तिहाइ मत पु¥याउँदै संशोधन पारित गराउने रणनीति सत्तारूढ दलको छ ।
प्रतिपक्षी रणनीति :  निरन्तर अवरोध र दुई तिहाइ पु¥याउन नदिने प्रमुख प्रतिपक्षी एमालेसहितका दलहरूले संविधान संशोधन विधेयक कुनै पनि हालतमा पारित हुनै नदिने बताएका छन् । विपक्षी दलको पहिलो रणनीति निरन्तर संसद्मा विरोध जनाएर सरकारलाई विधेयक फिर्ता लिन बाध्य पार्ने रहेको छ । एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले संसद्मा अब संशोधनविरुद्ध निरन्तर विरोध हुने बताए । उनले भने, ‘हामी निरन्तर विरोध गर्छौं, छलफलमा सहभागी पनि हुन्नौं, यो कुनै पनि हालतमा पास हुन्न ।’

सरकारले कुनै पनि अवस्थामा संशोधन विधेयक फिर्ता नलिने अवस्था आए र विधेयकको पक्ष विपक्षमा भोटिङ गर्नुपर्ने अवस्था आए विपक्षीमा भोट गर्ने र सरकारलाई दुई तिहाइ संख्या पु¥याउन नदिएर फेल गराउने एमालेको दोस्रो रणनीति हो ।  उपनेता नेम्वाङले संशोधन कुनै पनि हालतमा पास हुन नदिने बताउँदै भोटिङ हुने अवस्था आए दुई तिहाइ पु¥याउन नदिएर फेल गराइने बताए । ‘यो संशोधन राष्ट्रिय हितविपरीत भएकाले पास गर्न दिन्नौं,’ उनले राजधानीसँग भने, ‘हाम्रो निरन्तर विरोध त हुन्छ नै, अगाडि बढाउँदा पनि दुई तिहाइ पु¥याउन नदिएर फेल गराउँछौं ।’

विपक्षी दलले अहिले पनि २ सय १ सांसद आफूहरूसँग रहेको दाबी गर्दै आएका छन् । २ सय १ सांसदले नै विपक्षीमा मतदान गरेमा विधेयक फेल हुनेछ । उनीहरूले प्रदेश पाँच टुक्र्याएको विरोधमा रहेका नेकपा माओवादी केन्द्रका नेता टोपबहादुर रायमाझी र कांग्रेस नेता चन्द्र भण्डारीले पनि फ्लोर क्रस गरेर विपक्षमा मतदान गर्ने आशा गरेको पाइएको छ ।
साथै, फोरम लोकतान्त्रिक र राप्रपा नेपालले अहिलेसम्म संशोधनको पक्षमा खुलेरै लागि नसकेकाले केही आशा त्यहाँबाट पनि गरेका छन् । प्रमुख प्रतिपक्षी नेकपा एमालेसँग १ सय ८२ सिट संख्या छ । यस्तै, नेकपा माले पाँच, नेपाल मजदुर किसान पार्टी चार, राष्ट्रिय जनमोर्चा तीन, नेपाल परिवार दल दुई, राष्ट्रिय जनमुक्ति पार्टी दुई, नेपाः पार्टी एक, मधेस समता पार्टी एक, राष्ट्रिय बहुजन पार्टी एक गरेर २ सय १ सांसद अहिले संविधान संशोधन विधेयकको विरोधमा छन् ।

Leave A Reply

Your email address will not be published.